कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोशी प्रदेशमा सरकार छाड्न प्रधानमन्त्रीको निर्णय पर्खिँदै माओवादी

देवनारायण साह

मोरङ — कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारमा रहेको माओवादी केन्द्रले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निर्णय र निर्देशन आएपछि मात्रै सरकार छाड्ने जनाएको छ । मओवादी केन्द्र दुई मन्त्रीसहित एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा बसिरहेको छ ।

कोशी प्रदेशमा सरकार छाड्न प्रधानमन्त्रीको निर्णय पर्खिँदै माओवादी

माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको निर्णय र निर्देशन आएपछि मात्रै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको हो । यसअघि कांग्रेस संसदीय दलले माओवादी केन्द्रलाई मुख्यमन्त्री कार्की नेतृत्वको सरकार छाड्न र समर्थन फिर्ता लिन लिखित पत्र पठाएको थियो ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कांग्रेस संसदीय दलको बैठकको निर्णयले सरकार छाड्न र सरकारको समर्थन फिर्ता लिन औपचारिक रुपमा आग्रह गरेको बताए । उनले कांग्रेसले सरकार छाड्न आग्रह गरे पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले निर्देशन निदएसम्म सरकार छाड्न नसकिने दलको बैठकले निर्णय गरेको बताए । उनले सरकारमा बस्ने वा छाड्ने वा गठबन्धन दलको सरकार बनाउने विषयमा निर्णय लिने अधिकार पार्टीको शीर्ष नेतामा नीहित रहेकाले यो विषयमा आफूहरुले प्रदेशबाट निर्णय लिन नसकेको प्रष्टीकरण दिए ।

यसैबीच माओवादी केन्द्रको संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटको विषयमा प्याकेजमा सहमति गर्नुपर्ने निर्णय गरेको छ । ‘एमालेका मुख्यमन्त्री कार्कीसँग सरकारको नीति तथा कार्यक्रम र बजेट कस्तो ल्याउने विषयमा छलफल गरेर प्याकेजमा सहमति गर्नुपर्छ,’ आङ्बोले भने, ‘एमालेको एकलौटी सरकार नभएकाले सत्ता साझेदार माओवादी केन्द्रसँग कस्तो नीति तथा कार्यक्रम र बजेट ल्याउने विषयमा छलफल गरेर सहमति गर्नुपर्छ ।’

माओवादी केन्द्रले मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा नै बसेर आफू अनुकुल सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउने र त्यस्तो नभए प्रदेशसभाबाट नीति तथा कार्यक्रम र बजेट पारित हुन नदिने दोहोरो नीति लिएको छ ।

माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएकाले कारण सात वटा प्रदेशमध्ये कोशीमा मात्रै एमालेले सरकारको नेतृत्व गरिरहेको छ । कोशी प्रदेशमा सत्ता गठबन्धनको सरकार निर्माण भए पनि मन्त्रालय बाँडफाँटमा चित नबुझेपछि माओवादी सरकार बाहिर रहेको छ । मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थन रहेको छ । जसमा माओवादी केन्द्रबाट जीवन आचार्यले पर्यटन, वन तथा वातावरण र दुर्गा चापागाइँले सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । तर कांग्रेसले निरन्तर औपचारिक तथा अनौपचारिक रुपमा माओवादी केन्द्रलाई एमालेको सरकारबाट बाहिरिन र समर्थन फिर्ता लिन आग्रह गर्दै आएको छ ।

यस प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा –एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीको १ जना प्रदेश सांसद छन् । माओवादी र जनता समाजवादी पार्टीले मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा मात्रै कोशी प्रदेशमा सरकार फेरबदल हुने अवस्था निर्माण हुनेछ । तर यो अवस्थामा माओवादीबाट सभामुख भएका बाबुराम गौतम निर्णायक हुने छन् ।

प्रकाशित : जेष्ठ १३, २०८० १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?