तुलसी सहकारीविरुद्ध ११ सय ६६ बचतकर्ताको उजुरी

सहकारीका ८ जना सञ्चालकविरुद्ध उजुरी परेकामा ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान जारी, ५ जना अझै फरार
विनोद भण्डारी

विराटनगर — ४७ करोड ३६ लाख ३५ हजार रुपैयाँभन्दा बढी रकम ठगीको किटानीसहित तुलसी बहुउद्देश्य सहकारी संस्था लिमिटेडका सञ्चालकविरुद्ध आइतबारसम्ममा १ हजार १ सय ६६ बचतकर्ताले मोरङ प्रहरीमा उजुरी दर्ता गराएका छन् ।

सर्वसाधारणको १ अर्ब ४८ करोड ५५ लाख रुपैयाँभन्दा बढी बचत रहेको विराटनगर–३ शंकरपुरस्थित उक्त सहकारीका सञ्चालक फरार भएपछि बचतकर्ताले प्रहरीमा उजुरी दिने क्रम जारी छ । मोरङ प्रहरीका एसपी दीपक पोखरेलका अनुसार यो उजुरी मोरङको मात्र हो ।

मुख्य कार्यालय विराटनगर रहेको उक्त सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा शाखा कार्यालय छन् । बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि एक महिनादेखि सबै शाखा बन्द छन् । उक्त सहकारीमा २१ हजार ७ सय १३ सदस्य छन् । सहकारीका अध्यक्ष केदारनाथ शर्मा भने फरार छन् । सचिव सविना न्यौपाने, उपाध्यक्ष अनिता न्यौपाने र प्रबन्धक मन्दीप खवासलाई प्रहरीले नियन्त्रणमा लिई म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । एसपी पोखरेलका अनुसार पछिल्लो पटक उक्त सहकारीको अघिल्लो वर्षको लेखा परीक्षण गर्ने सीए शीतल चन्दलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।

उक्त सहकारी टाट पल्टिएको सूचना बाहिरिएपछि सुरुमा मोरङका मात्र १ सय २१ जनाको १२ करोड ९ लाख ४ हजार ४ सय ८७ रुपैयाँ बराबरको रकम ठगी भएको उल्लेख गर्दै सहकारीविरुद्ध उजुरी परेको थियो । अनुसन्धान अधिकृतहरूका अनुसार हरेक दिन उजुरी दिने क्रम जारी छ । सहकारीका ८ जना सञ्चालकविरुद्ध उजुरी परेको छ । तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एसपी पोखरेलका अनुसार अध्यक्षसहित अन्य पाँच जनाको खोजबिन हुँदै छ । यो विषयमा जिल्ला प्रहरीसहित सीबीआई र प्रदेश प्रहरी ब्युरोले पनि छुट्टाछुट्टै अनुसन्धान गरिरहेको उनले बताए । सहकारीमा विराटनगरका मात्र करिब ६ हजार सर्वसाधारणको ६५ करोड बचत छ । मोरङ, झापा, सिराह र उदयपुरमा गरेर यो सहकारीमा सर्वसाधारणको १ अर्ब ४८ करोड ५५ लाख रुपैयाँ बचत छ । बचत रकममध्ये सञ्चालकले आफ्नो कम्पनीमा ४८ करोड र उद्योग तथा डिपार्टमेन्टल स्टोरमा ७५ करोडभन्दा बढी लगानी गर्दा सहकारी आर्थिक रूपमा धराशायी भएर सर्वसाधारणको बचत संकटमा परेको हो । ‘यो प्रतिष्ठित सहकारी आफ्नै कारणले डुबेको हो, फिर्ता हुनै मुस्किल पर्ने गरी मनमौजी ढंगले लगानी गर्न थालेपछि यो अवस्था आयो,’ एक अनुसन्धान अधिकृतले भने ।

सहकारीले सञ्चालकको लगानी रहेका कम्पनीहरू नटराज एग्रोमा ६ करोड, तुलसी मोटर पम्पमा ३२ करोड, झापाको गौरादहस्थित तुलसी राइस तथा चिउरा मिलमा ३५ करोड, तुलसी अनुसन्धान केन्द्रमा १० करोड लगानी गरेको भए पनि संस्थाको लेखा परीक्षण रिपोर्टमा ४० लाख मात्रै लगानी रहेको देखाइएको छ ।

शिखर अर्गनाइजेसन ग्रुपका अध्यक्ष पनि शर्मा नै हुन् । उक्त ग्रुपले विभिन्न ३२ वटा कम्पनी खोलेको छ । ग्रुपका उपाध्यक्ष शर्माकै छोरा काल्स शर्मा हुन् । यो ग्रुपले तुलसी मोटर पम्प, तुलसी राइस एन्ड च्युरा प्लान्ट, तुलसी कृषि अनुसन्धान केन्द्र, गाईघाट खाँबु, गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर, गाईघाट, दमक र लेटाङ, नटराज एग्रो प्रालि, गोर्खा टी एन्ड कफी इप्रालि, तुलसी शोरुम तथा उपकार ब्रान्डका विभिन्न खाद्य सामग्रीको उत्पादन र बिक्री गर्दछ ।

प्रहरीका अनुसार अघिल्लो वर्ष लेखा परीक्षक चन्दले यो सहकारीको विराटनगर शाखाको २०७८ असारको लेखा परीक्षण विवरणमा बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात ३३ करोड २४ लाख ६७ हजार १ सय ४४ रुपैयाँ तथा नगद र नगद सामान ३ करोड ७४ लाख १० हजार ८६ रुपैयाँ रहेको उल्लेख छ ।

संस्थाको कुल सम्पत्ति तथा दायित्व १ अर्ब ४६ करोड ५ लाख १९ हजार ५ सय ७० रुपैयाँ रहेको र नाफा मात्रै संस्थाको ७३ लाख १० हजार ९ सय ६९ रहेको देखाइएको छ । लगानी भने विभिन्न चार संस्थामा ४० लाख ११ हजार रुपैयाँ मात्रै रहेको उल्लेख छ । कर्जा तथा सापटी रकम ३१ करोड २३ लाख ६० हजार १ सय ८० रुपैयाँ रहेको उक्त लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । संस्थाको स्थिर सम्पत्ति भने ४ करोड १३ लाख ६३ हजार १ सय ५७ रुपैयाँ देखाइएको छ ।

प्रकाशित : चैत्र ६, २०७९ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्

कोशी नामकरणविरुद्धको आन्दोलनमा झडप

सशस्त्र प्रहरी बलद्वारा चार राउन्ड हवाई फायरसागै अश्रुग्यास
प्रदर्शनकारीको ढुंगा लागेर चार सुरक्षाकर्मी घाइते
देवनारायण साह

मोरङ — प्रदेशसभाले कोशी प्रदेश नामकरण गरेको विरोधमा आदिवासी जनजाति समुदायले गरेको प्रदर्शन अनियन्त्रित भएपछि आइतबार दिनभर विराटनगर तनावग्रस्त रह्यो ।

उक्त समुदायले प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति गठन गरी गर्दै आएको आन्दोलन उग्र बनेपछि सशस्त्र प्रहरी बलले चार राउन्ड हवाई फायर र २४ सेल अश्रुग्यास प्रहार गरेको थियो ।

विराटनगरस्थित जनआन्दोलन चोकबाट सुरु भएको प्रदर्शन रोडशेष चोकमा स्थानीय प्रशासनले यसअघि नै घोषणा गरेको निषेधित क्षेत्र तोडेर सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयतर्फ बढ्ने क्रममा प्रहरीले अश्रुग्याससँगै हवाई फायर गरेर रोकेका थिए । आन्दोलनकारीको ढुंगा लागेर सशस्त्र प्रहरी र नेपाल प्रहरीका चार जना सुरक्षाकर्मी घाइते भएका छन् ।

सशस्त्र प्रहरीका सहायक निरीक्षकको टाउकोमा चोट लागेको र अन्य सामान्य घाइते भएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

घाइते सशस्त्र प्रहरी सहायक निरीक्षकको अवस्था सामान्य रहेको मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए । प्रहरीले नियन्त्रणमा लिएका चार आन्दोलनकारीलाई आइतबार साँझ रिहा गरिएको छ ।

आन्दोलनकारीले मुख्यमन्त्री हिक्मत कार्कीको पुतला दहनका साथै कोशी प्रदेशको पक्षमा मतदान गरेका प्रदेश सांसदको विरोध गरेका थिए । आन्दोलनका कारण दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म रोडशेष चोकस्थित कोशी राजमार्ग अवरुद्ध भएको थियो । प्रदर्शनकारीले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । ९३ सदस्यीय प्रदेशसभाबाट फागुन १७ मा ८२ प्रदेश सांसदको समर्थनमा कोशी प्रदेश नामकरण भएको हो । यस प्रदेशका आदिवासी जनजाति समुदायले पहिचानका आधारमा नामकरणको माग गर्दै प्रदेश संरचना निर्माण भएदेखि नै आन्दोलन गर्दै आएका छन् । उनीहरूले अब निर्णायक आन्दोलनमा उत्रिने घोषणा गरेका हुन् । जिल्ला प्रशासन कार्यालय मोरङले उनीहरूको आन्दोलन नियन्त्रण गर्न प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं मुख्यमन्त्री निवास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेका थिए ।

प्रकाशित : चैत्र ६, २०७९ ०८:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×