कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

क्याप्टेन किनलक मार्गमा सेनाको पदयात्रा [तस्बिरहरु]

राजकुमार कार्की

सिन्धुली — इतिहास जगेर्ना गर्ने उद्देश्यले शनिबार चियाबारी–सिन्धुलीगढी क्याप्टेन किनलक मार्गमा दोस्रो पटक पदयात्रा गरिएको छ । सेनाको श्री नं ९ बाहिनीले आयोजना गरेको क्याप्टेन किनलक मार्ग कमलामाइ नगरपालिका २ को चियाबारीदेखि सिन्धुलीगढीसम्म पदयात्रा गरेको हो । चियाबारीदेखि कमलामाइ ३ को सिन्धुलीगढीसम्मको ८ किलोमिटरलाई सेनाले क्याप्टेन किनलक मार्ग नामकरण गरी गत वर्षदेखि पदयात्रा थालनी गरेको छ ।

विसं १८२४ को असोज १५ गते क्याप्टेन किनलकको नेतृत्वमा आएको दुई हजार चार सय ब्रिटिस कम्पनी सेनालाई स्थानीयसहित करिब एक हजार दुई सय संख्यामा रहेका गोर्खाली फौजले सिन्धुलीगढीमा भएको लडाइँमा पराजित गरेर भगाएको थियो । नेपाल एकीकरणको समयमा काठमाडौंका तत्कालीन राजा जयप्रकाश मल्ललाई सहयोग गर्न आएको ब्रिटिस सेनालाई वंशु गुरुङ नेतृत्वको गोर्खाली सेनाले सिन्धुलीगढीबाट पराजित गरेर धपाएको हो ।

बीपी राजमार्ग निर्माण नहुँदा सिन्धुलीको महाभारत उत्तरतर्फ र रामेछाप, ओखलढुंगा, दोलखालगायतका जिल्लाका मानिसहरुको आवतजावत गर्ने बाटोलाई नै अहिले क्याप्टेन किनलोक मार्ग नामाकरण गरिएको छ ।

सदरमुकाम सिन्धुलीमाडीबाट चियाबारी पुगेपछि ग्वाङखोलाको किनारैकिनार फेदीसम्म जाने र त्यहाँबाट ठाडो उकालो भएर हात्तीढुंगा, सिरवानी, ढुंग्रेभन्ज्याङ, साउनेपानी हुँदै प्रवेशद्धारबाट गढीक्षेत्रमा भित्रने पुरानो बाटो किनलक मार्गमा सेनाका अलावा, प्रहरी, प्रशासन, व्यवसायी, संघसंस्थाका प्रतिनिधिले पदयात्रा गरेका थिए । पदयात्राले सेना र नागरिकको सम्बन्ध फराकिलो भई इतिहासको जानकारी, खोज तथा जगेर्ना गर्न मद्दत मिल्ने ९ नं बाहिनीका प्रमुख सहायक रथी प्रकाशबहादुर चन्दले बताए । यो पटक बहिरा विद्यालय र एनसीसी तालिममा रहेका विद्यार्थीहरुलाई समेत पदयात्रामा सहभागी गराइएको थियो ।

प्रकाशित : जेष्ठ २६, २०८१ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्