कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वसन्तपुरमा ठड्याइयो चीर

सुकार्यलाल श्रेष्ठ

काठमाडौँ — फागू पूर्णिमा सुरुवात भएको संकेतस्वरूप बिहीबार वसन्तपुरमा विधिवत रूपमा चीर ठड्याइएको छ । बिहानको शुभसाइतमा रंगीचंगी कपडाको टुक्रा झुन्ड्याएर चीर ठड्याइएको हो । हनुमानढोका दरबारको दक्षिणतर्फ छत्र आकारमा रंगीचंगी कपडाका टुक्रा झुन्डाएर सिंगारिएको चीर ठड्याइएको हो । मानन्धर समुदायद्वारा फाल्गुन शुक्ल अष्टमीका दिन चीर गाड्ने चलन छ ।

शुभसाइतमा चीर गाड्दा हनुमानढोकामा गुरुजूको पल्टनले हर्ष बढाइँ गरी सलामीसमेत दिएका थिए । प्रत्येक वर्ष फाल्गुण शुक्ल अष्टमीका दिन रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै मुलुकभर होलीको माहोल सुरु हुन्छ ।

वसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रूपमा लिइन्छ । आपसमा मैत्री एवं सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै, नाच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।

पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्‍याई दाह गरेपछि होली पर्व समाप्त हुन्छ । यसको भोलिपल्टबाटै वसन्त ऋतु आरम्भ हुन्छ । यस वर्ष पहाडमा चैत ११ गते र तराईमा १२ गते होली मनाइँदैछ ।

प्रकाशित : चैत्र ४, २०८० १२:४२
प्रतिक्रिया
पठाउनुहोस्