कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

चपौलीमा बन्दैछ 'कला घर संग्रहालय' [तस्बिरहरु]

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको कमलामाई नगरपालिका-३ को चपौलीमा रहेको सिन्धुली कला घरले संग्रहालयको रुप लिँदैछ । संग्रहालयका लागि मौलिक बाजागाजासहितका संरचना तयार भइसकेका छन् । ५ वर्षअघि सिन्धुलीमाडीमा भएको महोत्सवमा कला देखाएर २९ वर्षीय सुमन थापामगरले सबैको प्रशंसा बटुलेका थिए । त्यहीबाट पाएको हौसलामा उनले पञ्चेबाजा संकलन गरेर 'कला यात्रा' सुरु गरे । अहिले उनले थालेको अभियान कला घरमा परिणत भएको छ भने कला घर लोक सांस्कृतिक संग्रहालय बन्दैछ ।

चपौलीको अग्लो डाँडामा फहराइरहेको राष्ट्रिय झण्डाले गौरवगाथा नेपालीको गौरव गाथा झल्काउँछ । त्यहीबाट गौरीशंकर हिमालको दृश्यपान गर्न सकिन्छ । लोपोन्मुख घरेलु सामाग्री, आँखी झ्याल भएको खरको छाना सहितको कला घरमा पशुपतिनाथदेखि जानकारी मन्दिरसम्मको प्रतिमा, वौद्धस्तुपादेखि लिएर जुनारको बोटसम्म सजाइएका छन् । विभिन्न जातजातिको मौलिकता झल्कने पोशाक, बाजागाजा लगायत खोजमुलक सामाग्रीहरु राखिएका छन् । बीपी राजमार्गको सोलाभन्ज्याङ भएर सिन्धुलीगढी हुँदै कलाघरमा पुग्न सकिन्छ । सुमनले सुरुवातमा देउसी भैलो खेलेर कला घर निर्माणको प्रयास थालेका थिए । अहिले पनि उनले संग्रहालयलाई व्यवस्थित गर्न स्थानीय, प्रदेश र संघीय सरकारलाई गुहार मागिरहेका छन् । कलाघरमा अहिले निर्माण भएका सबै सामाग्रीहरु सुमन आफैँले निर्माण गरेका हुन् । त्यसो त कला घर बनाउन स्थानीयबासीको साथ समेत प्रशंसानीय छ । सुमनले गुहार गर्दा गाउँले श्रमदानका लागि आइपुग्छन् । अहिले कलाघर राष्ट्रिय संग्रहालयको गुरुयोजना तयार गर्ने काम भइरहेको थापामगरले बताए । संग्रहालयलाई व्यवस्थित गर्न दुई करोडभन्दा बढी खर्च लाग्ने उनको अनुमान छ ।


प्रकाशित : माघ २८, २०८० १७:५१
प्रतिक्रिया
पठाउनुहोस्