२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

महासचिव गुटेरेस आउने भएपछि लुम्बिनी सिंगारिँदै [तस्बिरहरु]

मनोज पौडेल

लुम्बिनी — संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी आउने भएपछि सडक कालोपत्र गर्दै हतारहतार तयारी थालिएको छ । मंगलबार बिहान डेढ घण्टाका लागि आउने उनका लागि ४ नम्बर गेटदेखि शान्तिदीपसम्म ६ सय ५० मिटर बाटो कालोपत्र गरिँदैछ ।

दुई/तीन दिनदेखि रातदिन २४ सैं घण्टा काम गरेर बाटो कालोपत्रे गरिँदैछ । बाटोका खल्टाखुल्टी पुरिएको छ । अन्य बाटो पनि पानी हालेर धुलो नउड्ने बनाइएको छ । ४ वटा हेलिप्याडको सरसफाइ गरेर रंगरोगन गरिएको छ ।

लुम्बिनी विकास कोषले भ्रमणको सबै तयारी पूरा गरेको उपाध्यक्ष ल्हारक्याल लामाले बताए । लुम्बिनीबाट महासचिव गुटेरेसले गर्ने सम्बोधनको विश्वव्यापी महत्व पाउने हुँदा त्यो नेपालको लागि राम्रो अवसर भएकाले राम्रो तयारी गरिरहेको उनले बताए । त्यस्तै ५ नम्बर गेटमा निर्मार्णाधीन द्वारको काम पनि सम्पन्न गरेर संचालनको तयारी गरिएको छ ।

बेबी बुद्धदेखि मायादेवी मन्दिर पुग्ने बाटो र मन्दिर परिसरमा पनि सरसफाइ गरी चिरिच्याट्ट बनाइएको छ । महासचिव गुटेरेसलाई लुम्बिनी विकास गुरुयोजना, उत्खनन्, अन्वेषण, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक महत्वबारे वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले जानकारी दिनेछन् । गुटेरेस लुम्बिनी भ्रमण गर्ने संयुक्त राष्ट्रसंघका छैटौं महासचिव हुन् ।

प्रकाशित : कार्तिक १२, २०८० १६:२४
प्रतिक्रिया
पठाउनुहोस्