कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वप्निल गन्तव्य

घनश्याम खड्का

म्याग्दी — अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) हिमालको सबैभन्दा नजिकको बस्ती हो, म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ । नारच्याङ गाउँको सिरानमा रहेका अन्नपूर्ण, वराहशिखर, तिलिचो पिक र नीलगिरि साउथ हिमालबाट मिस्त्रीखोला बग्दै आएको छ । यहीखोलाको किनारा पछ्याउँदै पुस्तौंपुस्ता नारच्याङवासीले भेडागोठ हिमालमुनिसम्म गोठ पुर्‍याए/फर्के । उनीहरूले कहिल्यै भेडा धपाउँदै उभौली–उधौली गरेको गोठालो मार्गको ऐतिहासिक महत्त्वबारे ज्ञान नै पाएनन् ।

मिति समय बताउने एक माध्यम हो । मितिको पौराणिक कालदेखि प्रयोग हुँदै आएको छ । र नारच्याङवासीका लागि सन् २००५ (०६१ फागुन/चैत) भविष्य बताउने मिति बनेर आयो । र एउटा विश्वास, आशा र भरोसाको सपना बोकेर आएका थिए, मौरिस हर्जोग । हर्जोगको नेतृत्वमा सन् १९५० जुन ३ तारेखका दिन अर्का पर्वतारोही लुइस लचेनलसमेत दुई जनाले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । संसारमा ८ हजार मिटर अग्लो अन्नपूर्ण हिमाल पहिलो पटक आरोहण गरेका फ्रान्सेली कीर्तिमानी पर्वतारोही मौरिस हर्जोग मृत्युअघि अन्तिम पटक सन २००५ अप्रिल/मे)मा हेलिकोप्टरबाट अन्नपूर्ण हिमाल पुगे । ५५ वर्षअघि आफूले हिँडेको बाटोलाई हेलिकोप्टरबाटै पछ्याउँदै त्यही हिमालको सबैभन्दा नजिकको बस्ती खोज्दै नारच्याङमा ओर्ले ।

हर्जोगले नारच्याङ ओर्लेपछि स्थानीयलाई भेला गरे । ५५ वर्षअघि दुई सयभन्दा बढी भरिया र सहयोगीसहित नारच्याङको माथिल्लो बुक्यानको बाटो हुँदै अन्नपूर्ण हिमाल चढ्न गएको कथा सुनाए । र पर्वतारोहणको ऐतिहासिक पदमार्गको विकासमा नेपाल सरकारले चासो नराखेको दुःखेसो पोखे ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने लुकेको यस पदमार्गलाई अन्नपूर्ण हिमालको पहिलो आरोही फान्सेली नागरिक मौरिस हर्जोगको नाममा नामकरण गरिएको छ । उनै पर्वतारोही मौरिसले हिँडेको बाटोलाई सुधार तथा मर्मतपछि छोटो र सजिलो बनाई अन्नपूर्ण गाउँपालिकाले पदमार्ग पहिचान, सुधार र प्रर्वद्धन गरी प्रचलनमा ल्याएको हो । अन्नपूर्ण हिमशृंखलाका अन्नपूर्ण प्रथमसहित नीलगिरि साउथ, तिलिचो पिक, बराह शिखरसमेत १४ वटा हिमाल पर्छन् ।

अन्नपूर्ण प्रथम हिमालको उत्तरी बेस क्याम्प पुग्ने परम्परागत कठिन, जोखिमपूर्ण र १४ दिन लामो पदमार्गको विकल्पमा सहज, सुविधा युक्त ६ दिनको पदयात्रा अहिले मोटरबाटोले अझ छोटिएर दुई दिनमा छोटिएको छ । बलियो र समय तालिकाअनुसार हिँड्न सक्ने ब्याकप्याक ट्रेक गर्नेले बेनी–जोमसोम सडकको तातोपानीबाट एक दिनमा अन्नपूर्ण नर्थ बेस क्याम्प पुग्न सक्छ । अन्नपूर्ण नर्थ बेस क्याम्प नीलगिरि साउथ, तिलिचो पिक र नाम नखुलेको अर्को हिमालको समेत संयुक्त बेस क्याम्प हो ।

पोखराबाट ७६ किलोमिटर गाडीमा बेनी र बेनी–जोमसोम सडकको २४ किलोमिटरमाथि नारच्याङवेंशी (१३३० मिटर) पुगिन्छ । नारच्याङबाट हुमखोला दोभान (२८८३ मिटर) सम्म दुई घण्टामा गाडीमा जान सकिन्छ । हुमखोलासम्म त्यहाँ निर्माणाधीन नीलगिरि पहिलो र दोस्रो जलविद्युत् आयोजनाले कच्ची ट्रयाक खोलेका हुन् । हाइड्रोले पदमार्गमा ट्रयाक खोलेका कारण नारच्याङ–हुमखोला २२ किलोमिटरमा पदमार्ग नासिएको छ । तातोपानी वा नारच्याङमा बास बसेर बिहान गाडीमा जाँदा छोटेपा भन्ने स्थानमा सानो टी हाउस छ । यहीँ खाना खाई गाडीमा १५ मिनेटमाथि हुमखोलासम्म पुग्न सकिन्छ ।

हुमखोलाबाट अहिलेको पदयात्रा सुरु हुन्छ । ४ घण्टा हिँडेपछि भुस्केटमेला (३६५९मिटर) पुग्न सकिन्छ । भुस्केटमेला पुग्न नसक्ने यात्रुले बीच–बीचमा बनेका आश्रय घरमा पनि बास बस्न सक्छन । पदमार्ग हराउने र असजिलो छैन । तर केही स्थानमा झोलुंगे जीर्ण छन, बाढीले पदमार्ग बिगारेको छ । हरेक एक घण्टाको बीचमा आश्रय घर थप्नुपर्ने देखिन्छ । भुस्केटमेलाबाट अर्को दिन ४–५ घण्टामा बेस क्याम्प सजिलै पुग्न सकिन्छ ।


प्रकाशित : जेष्ठ ११, २०८० १३:३७
प्रतिक्रिया
पठाउनुहोस्