नेपालगञ्जमा भेट्ने वाचासहित सकियो नेपाली खेलकुदको महाकुम्भ- फोटोफिचर - कान्तिपुर समाचार

नेपालगञ्जमा भेट्ने वाचासहित सकियो नेपाली खेलकुदको महाकुम्भ

तस्बिर : कौशल अधिकारी

विराटनगर — आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगन्जमा हुने घोषणा गर्दै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन भएको छ ।

प्रतियोगिताको आज सुनसरीको धरानस्थित एन्फा टेक्निकल खेल मैदानमा समापन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न कठिनाइ र भौतिक पूर्वाधार अभाव भए पनि राष्ट्रको गौरव राख्नेगरी खेलाडीले विभिन्न कीर्तिमान राख्न सफल भएकामा खुसी व्यक्त गरे ।

राष्ट्रको चिनारी र गौरव गर्ने विषय नै खेल क्षेत्र भएकाले राज्यले पनि खेलकुदलाई अझ विकसित तुल्याउनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिन जरुरी भएको उनको भनाइ थियो ।

सो अवसरमा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले छोटो तयारी र भौतिक पूर्वाधारको अभाव हुँदाहुँदै पनि देशभरका खेलाडीले बडो उत्साह र गौरवका साथ प्रतियोगितामा सहभागी भएर खेललाई सम्पन्न गराएको तथा केही खेलाडीले नयाँ कीर्तिमानसमेत हासिल गर्न सफल भएकामा त्यसलाई ठूलो सफलताका रुपमा लिइएको बताए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले अब मध्यपश्चिमाञ्चलमा आठौं राष्ट्रिय खेल हुने निश्चित भएकाले त्यसका लागि लागि आजैदेखि तयारीका कामको थालनी हुने जानकारी दिए ।


नेपाली सेना शीर्ष स्थानमा

प्रतियोगितामा विभागीय टोलीको वर्चस्व रहेको छ । अन्तिम खेल तालिकानुसार कुल दुई सय ९४ स्वर्ण दुई सय ९४ रजत र ४७१ कास्य गरी एक हजार ३५ पदकमध्ये सम्पन्न खेलमा वर्चस्व कायम राख्दै नेपाली सेनाले एक सय आठ स्वर्ण, ६१ रजत र ४३ कास्य गरी २१२ पदकमाथि कब्जा जमाई खेलको पदक तालिकामा शीर्ष स्थानमा राखेको छ ।

यसैगरी सशस्त्र प्रहरीले ४७ स्वर्ण, ४३ रजत र ५६ कास्यसहित १४६ पदक प्राप्त गर्दै खेलको पदक तालिकामा दोस्रो तथा नेपाल प्रहरीले ४० स्वर्ण, ३७ रजत र ४० कास्य पदक सहित एक १७ पदक प्राप्त गर्दै खेल पदकमा तेस्रो स्थान प्राप्त गरेका छन् ।

त्यसैगरी खेलको पदक तालिकामा मध्यमाञ्चल टोलीले ३१ स्वर्ण, ४९ रजत र ५७ कास्यसहित एक सय ३७ पदक जितेको छ । मध्यपश्चिमाञ्चलले आठ स्वर्ण, ४२ रजत र १४ कास्यसहित ६४ पदक तथा पश्चिमाञ्चलले सात स्वर्ण, २१ रजत र ३४ कास्यसहित ६४ पदक हात पारेका छन् । पूर्वाञ्चलले छ स्वर्ण, १६ कास्य र ४७ रजतसहित ६९ पदक र सुदूरपश्चिमाञ्चलले चार स्वर्ण, ११ रजत र ५९ कास्यसहित ७४ पदक प्राप्त गरेका छन् ।

प्रकाशित : पुस १५, २०७३ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्

आठौ खेलकुदको स्वागतमा नेपालगन्जमा दीप प्रज्ज्वलन

जनक नेपाल

नेपालगन्ज — आठौं राष्ट्रिय खेलकुद २०७५ मध्यपश्चिममा गर्ने राष्ट्रिय खेलकुद परिषद्को घोषणाको नेपालगन्जमा स्वागत गरिएको छ ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको शुक्रवार धरानमा भएको समापन समारोहमा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाली र राखेप सदस्य–सचिव केशव बिष्टले संयुक्त रुपमा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीलाई झण्डा हस्तान्तरण गरेसँगै खेल क्षेत्रमा खुशीयाली छाएको हो । आठौ खेलकुद्को स्वागत गर्दै विभिन्न खेल संघहरु र खेलाडीहरुले नेपालगन्जमा शुक्रबार साँझ दीप प्रज्वलन गरे ।

बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरी, जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, एथलेटिक्स संघका अध्यक्ष विक्रमजंग थापा, क्रिकेट संघ अध्यक्ष दुर्गा थापा, सुटिङ संघका अध्यक्ष रोहित टण्डन, बदरुदीन अन्सारी, भारोत्तोलन संघका अब्दुल वाहिद मन्सुरीलगायतले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त निर्णयको स्वागत गरेका हुन् । क्षेत्रीय खेलकुद विकास समितिको पहलको प्रसंशा गर्दै उनीहरुले उक्त प्रतियोगितालाई भव्य सफल पार्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

खेल र खेलाडीको सहरका रुपमा चिनिएको नेपालगन्जमा यसअघि २०५५ सालमा चौथो बृहद् राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो । तत्कालीन राखेप सदस्य रतन टण्डनले सम्पूर्ण खेलाडी तथा अफिसियलको आवास र भोजनको सम्पूर्ण व्यवस्था आफैंले गर्ने गरी व्यवस्थापनको जिम्मा लिएका थिए । झण्डै १३ वर्ष रोकिएको राष्ट्रिय खेलकुदलाई नेपालगन्जले ब्युझाएको थियो ।

‘मध्यपश्चिमले आँट गरेको छ । सबैको सहयोग र साझेदारीमा भव्य ढंगले सफल पार्ने जिम्मेवारी पाएका छौ,' क्षेत्रीय अध्यक्ष ओलीले भने । पछिल्लो समय नेपालगन्जमा राष्ट्रियस्तरका ठूला खेल स्पर्धा भइरहेका छन् । प्रधानमन्त्री कप भलिबल, नेपालगन्ज म्याराथन र नेपालगन्ज गोल्डकप स्थापित हुने चरणमा छन् ।

२०३८ सालमा बृहत राष्ट्रिय खेलकुद प्रारम्भ भएको हो । काठमाडौंबाट सुरु प्रतियोगिता २०४० सालमा दोस्रो पश्चिमाञ्चलको पोखरा तथा २०४२ सालमा तेस्रो राष्ट्रिय खेलकुद वीरगञ्जमा भएको थियो । २०६५ चैतमा पाँचौ प्रतियोगिता काठमाडौंमा र छैटौं संस्करण ०६८ सालमा सुदुरपश्चिमको धनगढी र महेन्द्रनगरमा आयोजना गरिएको थियो ।

प्रकाशित : पुस १५, २०७३ १८:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×