१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

गिट्टी कुटेर गुजारा चलाउँछन् वृद्ध-वृद्धादेखि बालबालिकासम्म [फोटोफिचर]

हरिहरसिंह राठौर

धादिङ — भूकम्पपछि सदरमुकाम पसेका विस्थापित परिवारको एकमात्र दिनचर्या थोपाल खोलाको बगरमै बित्छ । सदरमुकाम धादिङबे‌सी वरपर विस्थापित शिविरमा गुजारा गर्ने उत्तरी भेगका विस्थापितहरु दिनभर खोलाको बगरमै फेला पर्छन् ।

गिट्टी कुटेर गुजारा चलाउँछन् वृद्ध-वृद्धादेखि बालबालिकासम्म [फोटोफिचर]

गर्भवती, बालबालिका, सुत्केरी, ८० वर्ष नाघेका वृद्धा, युवा सबैको काम भनेकै दिनभर खोला खनेर गिट्टी र बालवा संकलन र गिट्टी कुटेर बेच्ने हो ।

विस्थापितहरुले एकमात्र आम्दानी साधन यसै खोलालाई बनाएका छन् ।


विस्थापितहरुलाई विभिन्न संघ संस्थाहरुले फर्काउने प्रयास धेरै गरेका पनि हुन् । घर फर्कनलाई कसैले ७ हजार ५ सय नगद दिए भने कसैले एक महिनालाई पुग्ने अन्नपातनै दिएका हुन् तर, विस्थापितहरु फर्केनन् । अधिकांश विस्थापित परिवारहरुले घरका बूढाबूढीहरुलाई बस्तीमै छाडेका छन् । ‘गाउँमा आम्दानीको श्रोत केही छैन, अन्नपातले पनि वर्ष दिन खानै पुग्दैन, गाउँमा कसरी फर्कनु ? गिट्टी कुटेकै रकमले छोराछोरीलाई यतै बोर्डिङमा भर्ना गरेको छु– थोपाल खोलामा पसेर ढुङ्गा निकाल्दै गरेका झार्लाङ्ग–६, पाख्रिनटोलका प्रष्टबहादुर तामाङले बताए ।

सदरमुकामको दामगाडे, पहरेचौतारा, साङ्गकोष, रायोटार, लगायतका विभिन्न स्थानमा हालसम्म ३ सय घरधुरी विस्थापित विभिन्न पेशा गरी सदरमुकामै गुजारा गरेका छन् । कतिपय किशोर किशोरीहरु होटल र पसलहरुमा श्रमिकका रुपमा काम गर्छन् भने अधिकांश विस्थापित परिवारहरु खोलामा गिट्टी कुट्ने, प्रतिबोरा ६० को दरले बेचेर दैनिक ६ देखि ८ सय रुपैयाँ कमाउने गरेका छन् । ‘खोला बगरमा गिट्टी कुटेर आयआर्जन गर्ने विस्थापित परिवारको संख्या डेढ सयको हाराहारीमा छ’ लापा–६ ठूलोगाउँकी कान्छस् तामाङ बताउँछिन् ।


कमाईका लागि आराम गर्ने उमेर र अवस्थाका महिलाहरु पनि चिसो बगरमै वसेर गिट्टी कुटदै गरेका फेला पर्छन् । सुत्केरीहरु बालकलाई दूध चुसाउँदै गिट्टी कुटदै हुन्छन् भने गर्भवती महिला र ७० वर्ष नाघेका महिलाहरु पनि नाति, नातिनालाई ढुङ्गा जम्मा गर्न लगाई गिट्टी कुट्छन् । ‘सबै छोराछोरी गाउँमै छन् । म गुजाराका लागि पनि गिट्टी फुटाल्छु’ लापा– ५ निवासी ८६ वर्षीय फुलमाया तामाङले बताइन् । गिट्टी बेच्न कतै जानु पर्दैन, ट्रक लिएर खोलामै खरिद गर्न व्यापारीहरु आउँछन् ।

कमाई गर्ने कतिपय विस्थापितहरुले मालेवगरको बस्तीमा कोठा भाडामा लिएका छन् । भूकम्पपछि सदरमुकाममा संघ संस्थाहरुले हप्ता १ पटक प्रार्थना गर्ने ८ वटा चर्च पनि निर्माण गरिदिएका छन् । विस्थापित परिवारहरुले बालबालिकाहरुलाई नामै मात्रको विद्यालय भर्ना गरेका छन् । सबै बालबालिकाहरु दिनभर खोलाबगरमै भेटिने गरेको छ ।
‘गत वर्षसम्म कसैले गिट्टी कुटने गरेका थिएनन्, यसपालादेखि विस्थापितहरुले गिट्टी कुट्न थालेपछि खोला १ मिटर तल झरेको छ’स्थानीयवासीले गुनासो गरे । स्थानीयहरुले एक गाडी गिट्टी निकासी गरेबापत २ सय रकम अवैध निकासी कर लिने गरेकोमा प्रहरी हस्तक्षेपपछि रोकिएको छ ।

प्रकाशित : पुस १६, २०७३ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?