भिक्षुमय लुम्बिनी [फोटो फिचर]- फोटोफिचर - कान्तिपुर समाचार

भिक्षुमय लुम्बिनी [फोटो फिचर]

मनोज पौडेल

कपिलवस्तु — पवित्रभूमि लुम्बिनी पुरै भिक्षुमय बनेकोछ । भर्खर भिक्षु जीवनमा प्रवेश गरेकादेखि युवा, वयस्क र पाका उमेरका भिक्षु बिहानबाट साँझसम्म पुजामा बसेका छन् ।

१० दिन लामो विश्व शान्ति (मोन्लाम) महा पुजामा ५ हजार बढी भिक्षु सहभागी छन् । पहेंलो बस्त्रधारी उनीहरु एक स्वरमा सुत्र पाठ गरिरहेका छन् । 

यस वर्ष २५ औं शान्ति पुजा भएकाले विशेष रुपमा गरिएको छ । साक्यपा सम्प्रदायका सबैभन्दा ठूला गुरु साक्या ठेन्जेन रिम्पोछेले पुजा गराइरहेका छन् । उनी शाक्य सम्प्रदायको ४१ औं गद्दिधारी रिम्पोछे हुन् । सबै प्राणीको दु:ख निवारणको कामना गर्दै विश्व शान्तिकालागि पुजा भइरहेको आयोजक साक्या मुलुम फाउण्डेसनका अध्यक्ष ङागा लामाले बताए । ‘नेपालका सबै मानिसको चित्त शान्त होस्,’ उनले भने, 'विश्वमा शान्ति फैलिरहोस् भन्ने कामनाका लागि मन्त्रोच्चारण हुन्छ ।'

आइतबारदेखि सुरु भएको पुजा मंगलबारसम्म चल्नेछ । ठेन्जेन रिम्पोछे नेतृत्वमा अन्य ७ रिम्पोछेले पुजा गराइरहेका छन् । पुजामा सम्बन्ध भद्र र मन्जुश्रीको प्रार्थना गरिएको छ । 

सम्बन्धभद्रको उच्चारण १ लाख पटक हुने मोन्लम पुजा आयोजक समिति सदस्य टाक्या विष्टले बताए । पुजामा समन्तभद्र चरी, मञ्जुश्री नाम संगिति र सोह् महाप्रार्थना लाखौं पटक हुनेछ ।
नेपाल, भारत, भुटान, सिंगापुर, चीन र अमेरिका लगायत १० बढी मुलुकबाट पुजामा भिक्षु, भिक्षुणी लामा सहभागी छन् । मायादेबी मन्दिरसंगै सटेर पुर्व तर्फ भईरहेको पुजा विहान ९ बजे देखि साझ ५ बजेसम्म हुन्छ । दिउसो १२ देखि २ बजे खाना र आराम गर्ने समय दिईएकोछ । 

हिमाली बौद्ध समुदाय (लामा धर्म) का चार सम्प्रदाय मध्ये तीन ङिङ्गुपा, गेलुक्पा र काग्युप्पाले भारतमा शान्ति पुजा गर्दै आएका छन् । शाक्यपाले मात्रै लुम्बिनीमा पुजा गर्दै आएका छन् । बुद्धधर्मका धाममध्ये एक धाम मानिने जन्मस्थल लुम्बिनीमा गर्दा सबैभन्दा पुन्य प्राप्ति हुने भएकाले यहाँ गरिएको रिम्पोछे गुरु बताउँछन् । 

पुजा अवधी भर कार्यक्रम स्थलको साख्या बिहारमा ३ लाख दीप प्रज्वलन गरिनेछ । पुजामा सहभागी हुन एक हजार बढी गृहस्थ जीवन यापन गरेका उपासक उपासिका पनि आएका छन् । 

साच्चै पुजाले बुद्धकालको झल्को दिइरहेको छ लुम्बिनीस्थित राजकीय थाई बिहार प्रमुख भिक्षु सुपोत किन्नवत्तीले भने यस्ले लुम्बिनी प्रतिको आकर्षण अझ बढेको छ । 'यस्ता शान्ति, करुणा र मुदिता प्रेमी कार्यक्रम भइरहँदा लुम्बिनी प्रति विश्वको आस्था अझ बढ्छ,' उनले भने । लुम्बिनीमा हुने धार्मिक पूजामध्ये मोन्लाम नै सबैभन्दा ठूलो हो 

प्रकाशित : पुस १६, २०७३ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्

मलेसियामा अबदेखि विदेशी कामदारले ‘लेबी’ तिर्न नपर्ने, पाँच लाखभन्दा बढी नेपाली लाभान्वित हुने

लेबी तिर्न रोजगारदातालाई गृहमन्त्रीको निर्देशन,
कान्तिपुर संवाददाता

क्वालालम्पुर — मलेसियामा कार्यरत विदेशी कामदारले आगामी वर्ष सन् २०१७ देखि (भोली जनवरी १) देखि लागू हुने गरी यसअघि तिर्दै आएको लेबी रकम तिर्नु नपर्ने भएको छ । मलेसियाले कामदारको लेभी रोजगारदाताले तिर्नुपर्ने भन्दै निर्देशन समेत दिएको छ ।

शनिबार गृहमन्त्री अहमद जहिद हमिदीले विदेशी कामदारको लेबी शुल्क अबदेखि रोजगारदाता कम्पनीले नै तिर्नुपर्ने भन्दै कामदारको तलबबाट उक्त शुल्क कटौती नगर्न रोजगारदातालाई निर्देशन दिएका छन् । अब यो नयाँ नीति पारित भई पूर्णरुपमा लागू भएमा मलेसियामा कानुनी रुपमा रहेका ५ लाखभन्दा बढी नेपाली कामदारहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।
 
मलेसियाका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार उनले ‘रोजगारदाता–अनिवार्य प्रतिबद्धता’ अन्तर्गत उक्त निर्देशन दिएका हुन् । उपप्रधानमन्त्री समेत रहेका हमिदीले विदेशी कामदार आफ्ना मुलुक नफर्केसम्म रोजगारदाता नै उनीहरुका लागि पूर्णरुपमा जिम्मेवार हुनुपर्ने बताएका छन् ।

मलेसियाली राष्ट्रिय समाचार संस्था ‘बर्नामा’ का अनुसार परिवर्तित नयाँ नीतिले आफ्ना कामदारको हेरचाहप्रति रोजगारदाता पूर्णरुपमा जिम्मेवार हुने र कामदार भाग्ने, गैरकानुनी भई बेग्लै कम्पनीमा काम गर्ने जस्ता समस्या समेत हट्ने बताए ।

गृहमन्त्री हमिदीले विदेशी कामदार बस्ने आवासगृहको सुविधा समेत ‘न्यूनतम पारिश्रमिक’ सम्बन्धी मापदण्डअनुरुप रोजगारदाताले नै ब्यहोर्नुपर्नेमा जोड दिँदै सरकारले छिट्टै विदेशी कामदारको रेखदेख तथा अवस्थाको मूल्यांकन गर्न ‘जिम्मेवारी र अवलोकन’ सम्बन्धी नयाँ मापदण्ड ल्याउने बताएका छन् ।

मलेसियाले कामदारको ‘सेक्युरिटी डिपोजिट’मा पनि पुनरावलोकन गर्ने जनाइएको छ । ‘अहिले लागू गरिएको दर निकै कम र विदेशी कामदारको करार सकिएपछि रोजगारदाताले उनीहरुलाई फिर्ता पठाउन पनि त्यति प्रभावकारी छैन ।’ गहृमन्त्री हमिदीको भनाइ उद्धृत गर्दै समाचार संस्था बर्नामाले आफ्नो अनलाइनमा उल्लेख गरेको छ ।

मलेसियाले गत सन् २०१२ मे १ (श्रमिक दिवस) देखि लागू हुने गरी कामदारको न्यूनतम मासिक पारिश्रमिक पहिलोपटक घोषणा गरेको थियो । उसले गत २०१२ सेप्टेम्बर ६ मा उक्त नीति कार्यान्वयनका ल्याउन यससम्बन्धी निर्देशिका समेत जारी गरेको थियो भने २०१६ जुलाई १ देखि एक सय रिंगिट बृद्धि गर्दै ‘नयाँ न्यूनतम मासिक पारिश्रमिक’ लागू गरेको थियो ।

लेबी नीतिमा पटक–पटक परिवर्तन
मलेसिया सरकारलाई सन् २००९ अघि सम्म विदेशी कामदार स्वयंले लेबी रकम तिर्नुपर्दथ्यो । त्यसपछि सोही वर्ष अप्रिलदेखि उक्त नीतिमा फेरबदल गर्दै रोजगारदाताले नै तिर्नुपर्ने नीति ल्यायो । पछि सन् २०१२ मे १ देखि न्यूनतम पारिश्रमिक नीति लागू भएसँगै उसले पुन: कामदारले नै लेबी रकम बुझाउनुपर्ने भन्दै उक्त पूरानो नीति उल्ट्याईएको थियो । यसरी पटक पटक लेबी नीति परिवर्तन भए र पछिल्लोपटक लेभी रकम पुन: रोजगारदाताले नै तिर्नुपर्ने जनाइएको हो ।

लेबीको बहानामा ठगीन्थे कामदार
‘लेबी’ शुल्क सरकारलाई तिर्नुपर्ने भन्ने बहाना बनाउँदै कतिपय रोजगारदाताले कामदारसँग सरकारले तोकेको भन्दा बढी रकम पारिश्रमिकबाट कटौती गरी ठगी गर्ने गरेको गुनासा कामदारहरुको छ । सरकारले लागू गरेको फ्रि भिसा फ्रि टिकट नीति र मलेसियाको मुद्रामा आएको गिरावटका कारण पछिल्ला वर्ष मलेसिया आउने नेपाली हवात्तै घटेका छन् । मलेसियामा बहुसंख्यक नेपाली सेवा, उत्पादन र सुरक्षाक्षेत्रमा कार्यरत छन् । तीमध्ये सेवा र सुरक्षा क्षेत्रमा आकर्षक क्षेत्र मानिन्छन् ।

प्रकाशित : पुस १६, २०७३ १५:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×