खुला विश्वविद्यालय बन्द हुन सक्छ
१. नेपाल खुला विश्वविद्यालय स्थापना भएको नौ वर्ष भएको छ तर यसको हालत दिनानुदिन चौपट बन्दै गइरहेको छ । नेतृत्व चयन गर्दा विचार पुर्याउन नसकेपछि र जसरी भए पनि भागबन्डा गरेर राजनीतिक स्वार्थ पूरा गर्न उद्यत् भएपछि कसरी हुन्छ प्रगति ?
२. सुरुमा एउटा नेतृत्वले चार वर्ष नेपाल खुला विश्वविद्यालयलाई निश्चित मार्गतिर धकेल्ने प्रयत्न गर्यो तर विडम्बना सुरुमा बलियो हुनुपर्ने विश्वविद्यालयलाई दलीय राजनीतिले नै आफ्नो प्रभावमा पार्न छाडेन ।
३. पहिलो उपकुलपति र रजिस्ट्रारबीचको तिक्तताले विश्वविद्यालयले गति लिन नसकेको तथ्य सर्वविदितै छ । सुरुका दिनमा डिन, कर्मचारी र शिक्षक भर्नामा समेत नाटकीय ढंगले दलीय प्रभावभित्रै विश्वविद्यालय पर्न गयो र अहिलेसम्म यो लथालिंग अवस्थामा छ ।
४. पहिलो नेतृत्वको कार्यकाल सकिएपछि विश्वविद्यालयले नेतृत्व पाउन निकै सकस रह्यो र विभिन्न दलीय जालझेल गरी करिब डेढ वर्षपछि विश्वविद्यालयले नयाँ नेतृत्व त पायो, तर हालत उस्तै, किन त ? के नेतृत्वमा बसेकाले चार वर्ष तलब खाएर, गाडी चढेर र विदेश भ्रमण गरेर सरकारी बजेट सिध्याउने मात्रै हो ?
५. आन्तरिक रूपमा फेरि पनि उपकुलपति एउटा दलको र रजिस्ट्रार अर्को दलको परेकाले काममा सहजताभन्दा व्यवधान नै बढी छ । यतिसम्म कि कुनै संकायका विद्यार्थीको सेमेस्टरको नतिजा प्रकाशन गर्न करिब एक वर्ष नै लाग्ने स्थितिसमेत देखा पर्न थालेको छ ।
६. आज नौ वर्षको अन्तरालमा खुला विश्वविद्यालयले नेपालका डाँडाकाँडा र दूरदराजमा विद्यालय तह पूरा गर्ने अधिकांश मान्छेलाई उच्च शिक्षामा भित्र्याइसक्नुपर्ने थियो । धेरै मान्छेलाई उच्च शिक्षा दिएर राष्ट्रिय रूपमा यसको साख जोगाइसक्नुपर्ने थियो ।
७. एउटा कार्यक्रममा ५० जनाभन्दा बढी विद्यार्थी भर्ना नगर्ने नीति बनाएर नेपाल खुला विश्वविद्यालयले आफैंलाई खुम्चाएको छ । अहिलेसम्म स्थायी रूपमा न कुनै प्रादेशिक सम्पर्क केन्द्र छ न केन्द्रीय कार्यालयको आफ्नै भवन । सानो ठिमीमा जग्गा सरकारले दिएको छ, निर्माणका लागि छुट्याइएको करोडौं रकम अलपत्र छ तर नेपाल खुला विश्वविद्यालय भाडाको साँघुरो कोठामा नै रमाइरहेको छ ।
८. मुस्किलले दुई हजार विद्यार्थी पढाउने यस विश्वविद्यालयलाई विश्वविद्यालय अनुदान आयोगले वार्षिक करिब १० करोड लगानी गर्छ । यस विश्वविद्यालयले विद्यार्थी शुल्कबाट आफ्नै आय पनि गर्छ । तर न नयाँ प्रविधिको प्रवेश न नयाँ सोच, अनि कसरी सप्रन्छ विश्वविद्यालय ?
९. शुल्कका दृष्टिकोणले पनि यो विश्वविद्यालय विद्यार्थीमैत्री छैन । जसका लागि फाइदा होस् भनेर विश्वविद्यालय स्थापना गरियो, तिनै समूहको प्रवेशलाई शुल्कले छेकवार गरिदिएपछि सीमान्तकृत, गरिब र पछाडि पारिएका समूह उच्च शिक्षाका लागि कहाँ जाने ?
१०. शिक्षामन्त्री कुलपति भएको यो नेपालकै एउटा मात्रै विश्वविद्यालय हो । यसको अर्थ शिक्षा मन्त्रालय र नेपाल खुला विश्वविद्यालयको समन्वयमा थुप्रै काम हुन सक्छन् । तर भएन किन ? कुलपतिको हैसियतले शिक्षामन्त्रीले चासो नलिने हो र हस्तक्षेप नगर्ने हो भने खुला विश्वविद्यालय सदाका लागि बन्द हुन सक्छ ।
– मनप्रसाद वाग्ले, मीनभवन, काठमाडौं