कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोखिमपूर्ण पृथ्वी राजमार्ग

सीता ढुंगाना

‘भाइलाई च्यापेर पौडिएर किनारामा आएँ, म नि बाँचेँ, भाइलाई नि बचाएँ, तर म सानी हुनाले आमालाई तान्न सकिनँ,’ १४ वर्षीया निधिता चौधरीले सुनाइन् । उनी कात्तिक १२ गते राजविराजबाट आउँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत गजुरीको बाङ्गेमोडबाट त्रिशूली नदीमा खसेको बसमा सवार थिइन् ।

जोखिमपूर्ण पृथ्वी राजमार्ग

त्यस दुर्घटनामा परी ३३ जनाले ज्यान गुमाएका थिए । १६ जनालाई उद्धार गरिएको थियो १ बालक अझै हराइरहेका छन् । त्यतिबेला एकै परिवारका ८ जनासम्म परे ।

एक महिनापछि मङ्सिर १३ गते ८ जनाको ज्यान जानेगरी फेरि पनि पृथ्वी राजमार्गमै पर्ने चितवनको फिस्लिङमा बस खसेर त्रिशूलीमा पुग्यो । पृथ्वी राजमार्गमा यस्ता दुर्घटना थुप्रै भएका छन् । ट्राफिक कार्यालय गजुरीका अनुसार ०७० साउनयता मात्र पृथ्वी राजमार्गमा ६ सय ४२ वटा सडक दुर्घटना भए र ४ सय १८ जनाको ज्यान गयो, जसमा पूर्व मन्त्रीदेखि लिएर डाक्टर, इन्जिनियर, व्यापारी, विद्यार्थी, किसान आदि जो–जो परे, कुनै न कुनै हिसाबले देशको आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरू थिए । यस्ता घटनाबाट आमाबुबाले छोराछोरी गुमाए, बालबालिकाले आफ्ना संरक्षक गुमाए । यस राजमार्गमा दुर्घटना भएर वार्षिक औसत १ सय ८ जना घाइते हुने गरेको देखिएको छ । एउटा परिवारले एकजना सदस्य गुमाउँदा सामान्य अवस्थामा फर्कन निकै समय लाग्छ । 

पृथ्वी राजमार्ग राजधानी भित्रिने–बाहिरिने मुख्य सडक हो । यो राजमार्गमा दैनिक १० देखि १२ हजारसम्म सवारी गुड्ने गर्छन् । मानिस कैयौं सपना बुन्दै बसको यात्रा गरिरहेका हुन्छन् । थाहा हुन्न, कति बेलाको कुन मोडबाट आफू चढेको बस त्रिशूली नदीमा खस्ने हो वा कुन गाडीमा ठक्कर खाएर दुर्घटनामा पर्ने हो । प्राय: गाडी त्रिशूलीमा खस्दा होस् वा सडकमा आपसमा ठोक्किँदा होस्, दुर्घटना हुनुमा चालकको लापरबाही, अधिक गति, क्षमताभन्दा बढी भारजस्ता कारण देखाइन्छ । एक हदसम्म यी र यस्ता कारण पुष्टियोग्य छन् । तर योभन्दा अन्य कारणप्रति हामी कसैको ध्यान जानसकेको छैन । 


पृथ्वी राजमार्ग निर्माण २०२४ सालमा राजा महेन्द्रको पालामा भएको हो, जुन बेला देशभरि करिब २ हजारको हाराहारीमा मात्र सवारी साधन थिए । पृथ्वी राजमार्गमा मुस्किलले दिनमा १ हजार गाडी गुड्थे होला । त्यसबेलाको आवश्यकतामा औसत २० फिट चौडाको बाटो पर्याप्त हो । धेरै वर्ष पछिसम्म यस राजमार्गले सडकमा हुने सवारी चापलाई राम्ररी थेग्दै आएको पनि हो । तर १ हजार सवारी साधनबाट बढेर दैनिक १० हजार सवारी आवत–जावत गर्ने भइसक्दा पनि सडकको चौडा उही, सडकका भित्ता–पहरा र घुम्ती उही छ । उल्टै सडकको छेउ भासिने र भित्तो खस्ने कारण पृथ्वी राजमार्ग ठाउँ–ठाउँमा साँघुरिएको छ । 

पृथ्वी राजमार्ग निर्माणका बेला अहिलेको जस्तो अत्याधुनिक औजार थिएनन् । प्राय: ज्यामी र श्रमदानबाट राजा महेन्द्र आफै उपस्थित हुँदै सडक निर्माण गराइएको थियो । त्यतिबेलाको स्रोतसाधनको उपलब्धता र आवश्यकता साथै केही समयपछि सम्मको हुनसक्ने सडक चापलाई ध्यानमा राखेर पृथ्वी राजमार्ग निर्माण भएको हुनुपर्छ । प्रशस्त गाडी नभएको अवस्थामा यो राजमार्ग पनि पुग्दो नै थियो ।

२०२४ सालदेखि केही वर्षसम्म यस राजमार्गमा सवारीको त्यस्तो धेरै चाप भएन । दुर्घटनाको जोखिम पनि कम हुन्थ्यो । तर पछिल्लो समय सवारी साधन थपिँदै गए । जति सवारी थपिँदै गए पनि यही राजमार्गले थेग्नुपर्ने स्थितिले जोखिम बढ्यो, दुर्घटना बढ्दै गयो । केही वर्षयता बीपी राजमार्ग हुँदै पूर्वका केही जिल्ला जान सकिने अवस्था बने पनि ठूला बस, ट्रक तथा कन्टेनरका लागि पृथ्वी राजमार्गबाटै आवत–जावत गर्नुपर्ने बाध्यात्मक स्थिति छ । पृथ्वी राजमार्गमा दुर्घटना न्यूनीकरण गर्न राज्य गम्भीरतासाथ लाग्न ढिला भइरहेको छ ।
[email protected]

प्रकाशित : मंसिर १९, २०७४ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?