कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्राफिक नियम–कानुनबारे

भनिन्छ, कुनै पनि देशको सुशासन थाहा पाउन त्यो देशबारे धेरै अध्ययन गरिरहनु पर्दैन । अन्तर्राष्ट्रिय विमानस्थलबाट गन्तव्यतिर जाँदै गर्दा त्यहाँको शासन व्यवस्था, कानुनी राज्य र जनताको चेतनास्तर कस्तो छ भन्ने थाहा पाउन ट्राफिक व्यवस्थापन, सवारी चालकले पालना गरेको नियम र पैदल यात्रुले सडकमा देखाउने व्यवहारबाट सजिलै अनुमान गर्न सकिन्छ ।

ट्राफिक नियम–कानुनबारे

विकसित मुलुकमा ट्राफिक व्यवस्थापन र ट्राफिक नियम पालना गराउनुलाई सरकारले उच्च प्राथमिकता दिएका हुन्छन् । ती देशमा ट्राफिक व्यवस्थापनलाई सडक जाम हटाउन र दुर्घटनाबाट बचाउनमात्र नभई नयाँ युवा पुस्ताहरू, जो भर्खरै सडकमा सवारी चलाउने अनुमति पाएका हुन्छन्, तिनलाई ‘ट्राफिक नियम पालना गर, नगरे कारबाहीको भागिदार भइन्छ’ भन्ने शिक्षा पनि प्रयोग गरेको देखिन्छ । सरकारले राज्यको अनुशासन व्यवस्था कायम गर्न ट्राफिक नियमलाई कडाइका साथ पालना गराउनुलाई पहिलो खुड्किलोको रूपमा लिएको हुन्छ, जसले गर्दा प्रत्येक नागरिकमा राज्यको नियम पालना नगरे सजाय पाइन्छ भन्ने मानसिकताको विकास युवा अवस्थाबाटै भएको हुन्छ । त्यसैले नागरिकहरू सडक–कानुन उल्लङ्घन गर्न चाहँदैनन् ।

ट्राफिक प्रहरीको मुख्य काम ट्राफिक नियम पालना गराउनु नै हो, नकि चालकलाई ट्राफिक शिक्षा, नियम–कानुन पढाउनु । नियम–कानुनबारे चालकले लाइसेन्स लिनु अगावै ज्ञान हासिल गरिसकेको हुनुपर्छ । विकसित मुलुकमा कसैले ट्राफिक नियम उल्लंघन गरे भने त्यसलाई कानुनको दायरामा ल्याउन हेलिकप्टरसम्म पनि प्रयोग गरेर नियन्त्रणमा लिइन्छ । कडा ट्राफिक नियमले गर्दा त्यहाँका नागरिकहरू आफंै पनि ट्राफिक नियमप्रति निकै सतर्क हुन्छन् ।

हाम्रो देशको ट्राफिक व्यवस्थापन, चालकहरूको चेतना र सडकमा यात्रुले पालना गरेका नियम हेर्दा देशको शासन व्यवस्था र कानुनी राज्यको चित्रण सजिलैसँग गर्न सकिन्छ । ट्राफिक नियम पालना गराउने जस्तो संवेदनशील शिक्षामूलक कार्य व्यवस्थित गर्न नसक्नुमा यातायातमा विभिन्न दलको भ्रातृ संगठन हावी हुनु नै हो । अर्कोतिर नियम–कानुनको अभाव, सरकारको स्पष्ट नीति नहुनु, प्रहरीभित्र आर्थिक प्रलोभन र व्यक्तिगत रूपमा कहिले गृहमन्त्री त कहिले ट्राफिक प्रहरी प्रमुखहरूले आफूखुसी नयाँ–नयाँ कार्यक्रम ल्याई सामाजिक सञ्जालमा क्षणिक हिरो बन्ने परिपाटीले दीर्घकालीन रूपमा ट्राफिक व्यवस्थापन हुन नसकेको देखिन्छ । 
अनुशासन देशको सुशासनको मेरुदण्ड हो भन्ने बिर्सेर नियम–कानुन जति उल्लंघन गर्न सक्यो, त्यसैलाई नै स्वतन्त्रताको उपभोगका रूपमा व्याख्या गर्ने परिपाटीले आज ट्राफिक व्यवस्थापन भद्रगोल स्थितिमा पुगेको छ । त्यसैले सुरुदेखि नै युवा पुस्ता, जो देशका भविष्य हुन्, तिनलाई देशको कानुन नमाने सजाय पाइन्छ भन्ने सन्देश दिन आवश्यक देखिन्छ । तर कुनै पनि निकायबाट यसको परिपालन हुन नसक्नुले अधिकांश युवामा जे गरे पनि हुन्छ भन्ने सोच विकसित भएको देखिन्छ ।

अर्कोतिर हाम्रा बालबालिका र विद्यार्थीले हरेक दिन स्कुल र कलेज जाँदा सडकमा हरेक तहबाट नियम–कानुन उल्लंघन भइराखेको तर कसैले सजाय नपाइराखेको देखेका छन् । नर्सरीका बालबालिकाले पनि स्कुलका सुरुका दिनबाटै नियम उल्लंघन गर्दै क्षमताभन्दा बढी विद्यार्थी राखेर आफ्नै भ्यान र बसले लगिराखेका देखेका छन् । स्कुल बसबाट स्कुल जाँदै गर्दा अर्को चालकले गलत लेनबाट गाडी ल्याएर घन्टौं जामले स्कुल ढिलो पुगेको वा घर फर्कन ढिलो भएको, जथाभावी ‘ओभरटेक’ गरेका, बीच सडकमा दुई चालक भलाकुसारी गरिराखेका, अस्पतालको गेटमा भाडाको गाडीको बसस्टपले गर्दा एम्बुलेन्स छिर्न नसकेका, कहिलेकाहीं आफ्नै स्कुल बसले नियम उल्लंघन गरेको पनि उनीहरूले नियमित देख्ने गर्छन् ।

त्यस्तै ‘नो–पार्किङ’मा पार्किङ गरेको, ‘नो–हर्न’ भनेको ठाउँमा हर्न बजिराखेको, गाडीको झ्यालबाट फोहोर फालेको, सडकमा कुकुर, गोरु मरेर सडक जामका साथै दुर्गन्ध भएका, फोहोर व्यवस्थापन गर्न नसकेर ट्राफिक जाममा साथै पैदलयात्रु नाक थुनेर हिँडेका, ट्राफिक प्रहरीले नियम पालना गराउँदा चालक रिसाएका, नियम मान्दैनांै भन्दै प्रहरी पिटिएका, नियम मिचेकासँग पैसा लिइराखेका, फुटपाथमा मोटरसाइकल गुडेका र गाडी पार्किङ भइरहेका, आफ्नै विद्यार्थी साथी सडकको खाल्डोमा परी बगेका र सिन्डिकेट प्रथाले गर्दा थोत्रा गाडी चढ्न बाध्य भएका, साथीहरू घर बिदाबाट फर्कने क्रममा दुर्घटनामा परी मृत्यु भएका आदि विद्यार्थीका लागि दिनचर्या जस्तो भइरहेको छ । यसले गर्दा उनीहरूको कलिलो दिमागमा कस्तो प्रभाव परिरहेको होला, सजिलै अनुमान गर्न सकिन्छ । शिक्षा वा ज्ञान पढेर, देखेर, सुनेर र गरेर प्राप्त गरिन्छ । देशको यस्तो परिवेशमा स्कुलबाट दिने शिक्षामात्रै राष्ट्रको लागि कति प्रभावकारी होला, यो सोचनीय विषय हो ।

हाम्रा साना केटाकेटी स्कुलको किताबमा ‘असल नागरिक कसरी बन्ने’ भनेर पढ्छन्, तर व्यवहारमा अर्कै देखिराखेका हुन्छन् । धुवाँले दम, क्यान्सर र एलर्जिक हुन्छ, जेब्राक्रसिङबाट बाटो काट्नुपर्छ भन्ने शिक्षा स्कुलबाट पाइन्छ । तर धुवाँको मुस्लो छोडेर गाडी दौडिराखेको, जेब्राक्रसिङका पैदल यात्रु दुर्घटना भई मृत भइराखेका देख्छन् । त्यसैले प्रश्न उठ्छ, कुनचाहिंँ शिक्षा ठिक– स्कुलमा दिने गरिएको वा सडकमा हामीले देखी वा भोगिराखेको ? आशा राखौं, अर्बौं खर्च गरेर बनेको बहुचर्चित संविधानसभा र त्यसबाट बनेको गणतान्त्रिक संविधानबाट निकट भविष्यमा बन्ने पहिलो सरकारले यी कुरामा ध्यान दिने नै छ ।

 

प्रकाशित : मंसिर ५, २०७४ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?