अस्पतालजन्य फोहोर व्यवस्थापन

डा. मुकेशकुमार साह

काठमाडौं — देशका विभिन्न सहर विकसित, सफा र सुन्दर बन्दै गएका छन् । नगरहरूमा बढ्दो जनसंख्या, जनचेतनामा विकास, उपचारका आधुनिक प्रविधिको खोजीका कारणले ती क्षेत्रमा स्वास्थ्य संस्थाहरूको संख्या बढ्दो छ । निजी लगानीमा सञ्चालित स्वास्थ्य संस्था धेरै बढेका छन् ।

बढ्दो जनसंख्याको माग बमोजिम नै सहरहरूमा अस्पताल र क्लिनिकको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । सहरभित्र फार्मेसी तथा डेन्टल क्लिनिक एवं सानातिना प्रयोगशालासमेत बढिरहेका छन् । 

अस्पतालको हरेक बेडबाट दैनिक ८५० ग्राम फोहोर निस्कने एक तथ्याङ्कले देखाएको छ । यसरी निस्कने फोहोरमा संक्रमित फोहोरको मात्रा पनि उल्लेखनीय हुने भएकाले फोहोरको वर्गीकरण गर्नुपर्छ । वर्गीकृत फोहोरलाई संक्रमणरहित बनाई विसर्जन गर्न आधुनिक तरिकाबाट मात्र सम्भव देखिन्छ । पुराना प्रविधिहरू वातावरण प्रतिकूल र मानवीय जीवन जोखिममा पार्ने खालका भएकोले नयाँ प्रविधिमार्फत फोहोर व्यवस्थापन जरुरी देखिएको हो । 

सहर भित्रका अस्पताल, क्लिनिक, फार्मेसी तथा डेन्टल क्लिनिक एवं सानातिना प्रयोगशाला समेतबाट रोग सार्न सक्ने संक्रमितदेखि सामान्य गल्न सक्ने फोहोर दैनिक निक्लिन्छन् । अस्पतालजन्य फोहोरको विसर्जन निकै चुनौतीपूर्ण छ । यस्ता फोहोरलाई आधुनिक प्रविधिबाटै व्यवस्थापन गर्न जरुरी छ । विगतमा गरिने फोहोर व्यवस्थापन प्रक्रिया प्रभावकारी थिएन, संक्रमण फैलिने जोखिम पनि उत्तिकै थियो । वर्गीकरण नगरी घर–घर वा बजारबाट फोहोर संकलन गरी डम्पिङ साइटमा विस्थापन गर्ने निकै प्रचलित फोहोर व्यवस्थापनको उपाय हो । खुल्ला स्थानमा गरिने यस्तो तरिका निकै जोखिमपूर्ण हुन्छ । अर्को तरिका जल्ने योग्य फोहोरहरूलाई एकत्रित गरी जलाउने हो, जुन विधि केही अस्पतालमा प्रयोगमा ल्याइएको छ । संक्रमित फोहोरलाई निर्मलीकरण गरी पुन: प्रयोगमा ल्याउने त्यसपछि विसर्जन गर्ने विधि सीमित अस्पतालमा छ भने गल्न सक्ने फोहोरहरूलाई एकत्रित गरी गाड्ने तरिका केही अस्पतालजन्य फोहोर विसर्जनमा प्रयोग गरेको समेत पाइएको छ ।

अस्पतालबाट निस्कने फोहोरहरू व्यवस्थापन गर्ने तरिका धेरै भए पनि वर्गीकरकण गर्दै वर्गीकृत फोहोरहरूको फरक–फरक तरिकाबाट व्यवस्थापन गर्नु जरुरी छ । यी मध्ये आधुनिक प्रविधिमा अटोक्लेभको ठूला प्लान्ट जडान र एकीकृत रूपमा फोहोरको व्यवस्थापन नै उचित देखिन्छ । संक्रमणजन्य फोहोरको व्यवस्थापन तथा विसर्जनका लागि बायलोजिकल प्रोसेडियोर वातावरणीय दृष्टिले समेत उपयुक्त भए पनि धेरै फोहोर व्यवस्थापनमा प्रभावकारी हुन सक्दैन । पछिल्ला दिनहरूमा विश्वभर अटोक्लेभको प्रयोगबाटै अस्पतालजन्य फोहोरको व्यवस्थापन गर्ने गरिन्छ । 

हुन त फोहोर व्यवस्थापन आफैमा निकै चुनौतीपूर्ण छ । फोहोर व्यवस्थापनको आधुनिक पद्धति भित्र्याउन सहज पनि छैन र त्यसको सञ्चालन पनि कठिनाइपूर्ण हुने देखिन्छ । हालसम्म नगरहरूमा मात्र फोहोर व्यवस्थापनको सञ्जाल तयार गरिएको पाइन्छ । कतै नगरपालिका आफै त कतै प्राइभेट पार्टनरसिपको अवधारणामा स्थापित संयन्त्र त कतै ठेक्कामा लिएका कम्पनीहरूमार्फत । ग्रामीण इलाकामा भने यस्तो प्रविधिको विकास भइसकेको छैन । फोहोर व्यवस्थापन पद्धति वातावरणमैत्री नरहेको धेरै नगरवासीको गुनासो छ । संक्रमित फोहोरलाई संक्रमणरहित नबनाई खुल्ला रूपमा गरिने फोहोर व्यवस्थापनले वातावरणमा प्रतिकूल असर पारिरहेको हुन्छ ।

प्रचलनमा रहेको फोहोर व्यवस्थापन विधि प्रभावकारी नभएको र वातावरण प्रदूषणसमेत भएको विषयलाई आत्मसात गरी बिरामी तथा अस्पतालमा रहेका रोगजन्य फोहोरको उचित वर्गीकरण तथा त्यस फोहोरको उचित विसर्जन गर्नु अस्पताल, सम्बन्धित नगरपालिका, स्थानीय बासिन्दा सबैले आ–आफ्नो जिम्मेवारी सम्झनु जरुरी छ । प्राइभेट पब्लिक पार्टनरसिपको अवधारणामा हरेक सहर नजिकै आधुनिक प्रविधि सहितको फोहोर व्यवस्थापन तथा अस्पतालजन्य संक्रमित फोहोर व्यवस्थापनका लागि अटोक्लेभ सहितको निर्मलीकरण र विसर्जन गर्ने प्लान्ट स्थापना गर्नु अत्यन्त आवश्यक छ । यस अवधारणाबाट अगाडि बढे कम लगानीमा फोहोर व्यवस्थापन हुनसक्छ । 
डा. साह निम्स नेसनल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हुन् ।

प्रकाशित : कार्तिक १८, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सरकार ! दुर्गममा सिटामोल कहिले पुग्छ ?

डा. मुकेशकुमार साह

नेपालको कुनै यस्तो ठाउँ छैन, जहाँ चुरोट र रक्सी पाउँदैन । पूर्व होस् वा पश्चिम, उत्तर होस् या दक्षिण गाडी नै नपुग्ने विकट ठाउँ किन नहोस्, गाउँको भट्टीमा पनि सहजै महँंगो र विभिन्न ब्रान्डका रक्सी र चुरोट उपलब्ध हुन्छ ।

तर विडम्बना ! स्वास्थ्य उपचारमा भन्दा रोग जन्माउन यी वस्तु कामयाब हुने गरेको छ । नेपालको दूरदराजको गाउँमा चुरोट र रक्सी जति सहजै उपलब्ध हुन्छ, ठिक त्यसको विपरीत एउटा सिटामोलको चक्की पाउन निकै कठिनाइ भोग्नुपर्छ । सरकारले नि:शुल्क दिने भनेको शरीरको ज्वरो र दुखाइ कम गर्ने सबैभन्दा सस्तो र सुरक्षित दबाइको खोजीमा कठिनाइ भोग्दाको पीडाले ग्रामीण इलाकाका जनतालाई जुन टाउको दुख्छ, त्यो सिटामोल खोज्न सुरु गर्ने बेलाभन्दा बढी पीडादायी हुन्छ । सिटामोलको उपलब्धता त समग्र स्वास्थ्यसेवा वितरण प्रणालीको प्रतिविम्ब हो । यसबाट हामी सहजै अनुमान लगाउन सक्छौं कि जीवनको अत्यावश्यक स्वास्थ्यसेवाको वितरण हाम्रो देशमा कस्तो छ । जनताले त अत्यावश्यक मानिएको आधारभूत स्वास्थ्यसेवा पनि पाएका छैनन् । सामान्य उपचार गराउनुपरे पनि घन्टौं हिँड्नुपर्ने, लामो दूरीसम्म बिरामीलाई बोकेर लानुपर्ने, अनावश्यक रूपमा लाखौंको खर्च गरेर एयर एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने, यो कस्तो विडम्बना हो ? 

आफ्नै देशमा सम्भव हुने उपचारका लागि विशिष्टहरू सरकारी ढुकुटीबाट लाखांै अनुदान लिएर विदेश जाने अनि हामी गरिब जनता आधारभूत स्वास्थ्यसेवाको लागि तडपिनुपर्ने ? सरकारकै रवैयाको प्रतिफल हो, यो । नभए कम्तीमा आधारभूत स्वास्थ्यसेवा दिन सकिन्छ र सरकारको प्रयास यसमा नै हुनुपर्ने हो । जनतालाई सहज र सुलभ स्वास्थ्यसेवा चाहिएको छ अहिले, ठूला परियोजना होइन । नत जनतालाई राज्य अनुसारको एउटा मेडिकल कलेज चाहिएको छ, न अहिले आरक्षणले खिल्ली उडाएको गुणस्तरीय स्वास्थ्य शिक्षा चाहिएको छ । आरक्षणमा गुणस्तर कायम हुनसक्दैन र गुणस्तरको लागि कुनै प्रकारको आरक्षण हुनुहुन्न । तर कम्तीमा आधारभूत स्वास्थ्यसेवा प्रदान गर्न सरकार सफल हुनुपर्छ । आम जनतासम्म आधारभूत स्वास्थ्यसेवा पुर्‍याउन नसक्ने सरकारले ठूला परियोजनाको कुरो गर्नु उचित होइन । जनतालाई ठूलो परियोजनाभन्दा पनि सहज र सुलभ स्वास्थ्यसेवा प्राप्त गर्ने आशा छ ।
यो अवस्थामा स्वास्थ्यमन्त्री गगन थापाले सरकारी आँकडाको आधारमा हैन, वस्तुगत अनुभवको आधारमा कार्य गर्नु हुनेछ र ठूलो परियोजनाको लागिभन्दा पनि आधारभूत स्वास्थ्यसेवाको वितरण प्रणालीको लागि अग्रसर हुनुहुनेछ । ठूला परियोजनाको कार्यान्वयन र उपलब्धिले समग्र स्वास्थ्यसेवालाई प्रभावकारी बनाउन कम्तीमा दुई–तीन दशक लाग्छ । यो आम जनताको प्रमुखतामा पर्दैन र हाम्रोजस्तो देशमा यस्तो अभ्यास प्रभावकारी रूपमा अगाडि आउन लामो समय लाग्छ । किनकि देशको स्थिरताको विषय पनि आफैंमा चुनौतीपूर्ण छ । तर पनि सिलसिला जारी नै राख्नुपर्छ । विश्व स्वास्थ्य संगठनको वल्र्ड हेल्थ थिममा उल्लेख भएको विभिन्न ६ आधारमध्ये हालका लागि एक आधार ‘सहज र सुलभ स्वास्थ्यसेवा’को उपलब्धता मात्र पनि गराइदिए पुग्छ, जनतालाई । जनता अहिले यसैको पर्खाइमा छन् । गुणस्तर, पारदर्शिता, सन्तुष्टि जस्ता अन्य विषयहरूमा पछि बहस गर्दै गरौंला ।

जनताको सुस्वास्थ्य जीवनको रक्षाको जिम्मेवारी पाएको सरकारले विगतमा जति नै प्रयास गरे पनि भौगोलिक विकटताका कारण सुविधा अभाव भएको दूरदराज गाउँमा बसेका जनताले आधारभूत स्वास्थ्यसेवा पनि पाउनसकेका छैनन् । हुन त जनता पनि चुरोट र रक्सीको सहज उपलब्धतामा जसरी आफैं सक्रिय भएको पाइन्छ, स्वास्थ्यसेवाको विकासमा त्यति चासो दिइएको पाइँदैन । तर स्वास्थ्यसेवा जस्तो संवेदनशील विषय तालिमप्राप्त व्यक्तिहरू वा स्वास्थ्यकर्मी वा चिकित्सकबाट मात्र सम्भव भएकोले आम जनताभन्दा पनि सरकारले नै स्वास्थ्य क्षेत्रको विकासमा सक्रिय हुनुपर्छ ।

सरकार समक्ष मेरो प्रश्न, पर्याप्त रूपमा चुरोट र रक्सी पाउने ठाउँमा सिटामोल लागायत अन्य औषधी कहिले पुग्छ ? आधारभूत स्वास्थ्यसेवा कहिले पाइन्छ ? आधारभूत उपचारका लागि आवश्यक भौतिक पूर्वाधार कहिले तयार हुन्छ ? आवश्यक उपकरण कहिले पुग्छ ? रोग परीक्षणको उचित प्रयोगशालाको व्यवस्था कहिले हुन्छ ? स्वास्थ्यकर्मी वा चिकित्सक नबस्ने वातावरणको अन्त्य कहिले हुन्छ ? गैरजिम्मेवार स्वास्थ्यकर्मी वा चिकित्सकलाई कहिले कारबाही हुन्छ ? स्वास्थ्य क्षेत्रमा न्यायको मूल्य—मान्यता कहिले स्थापित हुन्छ ? र आम जनताले सहज र सुलभ स्वास्थ्यसेवा कसरी र कहिले पाउँछन् ? 
साह निम्स नेसनल अस्पताल, दमकमा कार्यरत छन् । 

प्रकाशित : माघ ५, २०७३ ०८:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×