अधिकारमुखी जनता र सुस्त कर्मचारीतन्त्र - विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अधिकारमुखी जनता र सुस्त कर्मचारीतन्त्र

विमला कोइराला

स्थानीय तहमा जनप्रतिनिधि स्थापित भएको तीन महिना हुन लाग्दा पनि द्रुत गतिमा जनअपेक्षा सम्बोधन हुन नसकेकाले होला, जनता झिनामसिना कुरामा पनि आक्रोश पोख्न थालेका छन् ।

सायद लामो समयदेखिको उकुसमुकुसको उत्सुकता र अपनत्व हो यो । निर्वाचनको समयमा हतारिएर गरेका सबै वाचा छोटो समयमा सीमित स्रोतसाधनले पूरा गर्नु निश्चय नै सजिलो छैन जनप्रतिनिधिहरूलाई । यो नबुझेका पनि छैनन् जनताले, तर मात्र यत्ति जान्न चाहन्छन्– ती प्रतिबद्धतालाई खाकाबद्ध गरी कति संवेदनशील भएर काम गर्दै छन आफ्ना प्रतिनिधि । 

दीर्घकालीन योजना बनाएर पाँच वर्षभित्र आफूले गरेका प्रतिबद्धता पूरा गर्नु त छँदै छ, अव्यवस्थित सहरीकरणका कारण अपरझट र दैनिक जनताले भोग्नुपरेका समस्या समाधानका लागि नगर प्रमुखहरूले नगरवासीसँग निरन्तर अन्तक्र्रिया र छलफल गर्दा अपनत्व कायम भई पारदर्शर्ी र खुला सरकारको छाप जनमनमा स्थापित हुन्छ । बीपी कोइरालाको भनाइ यहाँ सान्दर्भिक लाग्छ, ‘जीवनको सफलता व्यक्तिले के कति हासिल गर्न सक्यो भन्ने आधारबाट मात्र मापन गर्न कदापि सकिँदैन । आफूले ठीक ठानेको लक्ष्यका निम्ति त्यो व्यक्तिले पूरा प्रयत्न गर्‍यो कि गरेन त्यो मूल हो ।’ आशय यत्ति हो परिवर्तन देखिने गरी इमानदार प्रयत्न गर्नुपर्‍यो । 

धेरैजसो स्थानीय तहका प्रतिनिधिहरूको घोषणापत्रमा उल्लेखित स्मार्ट सिटीको अवधारणालाई मूर्तरूप दिन हिजोको पद्धति, प्रक्रिया र आचरणमा ठूलो परिवर्तन ल्याउन जरुरी छ । यसका लागि नेतृत्वले मात्रै आफू र आफ्नो कार्य पद्धतिमा सुधार र परिवर्तन ल्याएर पुग्दैन, कर्तव्यभन्दा अधिकारमुखी हुँदै गएका नागरिकको व्यवहार परिवर्तन पनि उत्तिकै आवश्यक छ । हामीले नागरिक भएको नाताले आफ्नो ठाउँबाट पूरा गर्नुपर्ने कर्तव्य अलिकति पनि सोचेका हुँदैनौं कि जानीनजानी हामी पनि सहर कुरूप बनाउने र देश बिगार्ने मतियार हौं । हामीलाई कसैले गल्ती गर्दै छ भने भोलि आफूले पनि गल्ती गरिहाल्छु कि भनेर चुप लाग्ने बानी परिसक्यो । हामी कसैलाई घुस्याहा भन्छौं तर घूस हामीले दिएरै खाएको हो, यो किन बिर्सन्छौं हामी ? किन दिने घूस ? आफ्नो स्वार्थ पूरा गर्न सिस्टम बिगार्ने छुट हामीलाई चाहिं कसले दियो ? हामीलाई अधिकारमा सहर सुरक्षित चाहिन्छ तर छिमेकीले नक्साविपरीत घर बनाउँदा चुप बसिदिन्छौं, सफा सहर चाहिन्छ तर छिमेकीले घर बढारेर सडकमा पुर्‍याउँदा नदेखेझैं गरिदिन्छौं । हामीलाई फराकिलो बाटो, खुला स्थान चाहिन्छ तर सार्वजनिक जग्गा, खोला, बाटो मिचेर सिमाना फैलाउँदै फुर्ती गर्नेलाई तिरस्कार गर्न सक्दैनौं । अनि भूमाफियाले सस्तो जग्गा मिलाइदिने लोभमा पाखा, भीर, बगर अतिक्रमण भएको थाहा नपाएझैं गरिदिन्छौं । जंगल पँmडानी गरेर जग्गाधनी बन्नु छ हामीलाई, अवैध रूपले झिकेको खोलाको सस्तो बालुवाले घर बनाउनु छ, सस्तो पाए चुपचाप गुणस्तरहीन सामान पनि किन्नु छ । 

गाउँलाई बिनायोजना सहर बनाउन पाए पुग्छ, विद्युतीय फाराम भर्न अल्छी लाग्छ तर विद्युतीय सेवा चाहिन्छ । आजको विश्व मानव हुन तयार हामीलाई हाम्रो आचरण सुहाउँदो छ त ? या त फुर्सद हँदैन या कुनै लोभमा फस्छौं, या त दुस्मनी लिन चाहँदैनौं या कारबाही गर्ने निकायप्रति विश्वासै हुँदैन तर के भावी सन्ततिलाई पनि यही नियतिमा रुमल्लिरहन दिने त ? गर्न चाहे के हँुदैन ? सिक्नकै लागि हामीसँग चिकित्सा क्षेत्रको समग्र प्रणाली सुधार्न ज्यानको बाजी राख्ने डा. गोविन्द केसीजस्ता वन्दनीय व्यक्तित्व छन् । हामीले त ज्यानको बाजी राख्नु पनि पर्दैन, गलत कुराको विरोध गर्न थोरै मेहनत गरे पुग्छ । आफूले गल्ती नगरे पुग्छ । 

एउटा सदाचारसम्बन्धी तालिम कार्यक्रममा सहभागी भएका बेला एकजना प्रशिक्षकले सरकारी निकायको ढिलासुस्तीको दृष्टान्त पेस गर्दै भन्नुभयो, ‘मजस्तो बुझेको मान्छेलाई त आफ्नो जग्गाको हालसाबिक गर्न सरकारी कार्यालय जाँदा दुई महिना लाग्यो । अरूको के हालत होला †’ चित्त नबुझेर प्रतिप्रश्न गरेकी थिएँ, ‘हजुरजस्तो शिक्षित व्यक्तिले एउटा सेवाप्रदायक संस्थाबाट दुई महिना काम हुन नसकेपछि लिखित जवाफ माग्न किन सक्नुभएन ? कारबाही गर्ने निकाय पनि थिए त ।’ जवाफ थियो, ‘के झन्झट गरिरहने । समय पनि थिएन, पछि एकजना चिनेको साथीलाई भनेर गराएँ ।’

आखिर किन हुन्छ यस्तो ? आफ्नो काम जसरी पनि सिध्याएपछि जेसुकै होस् भनेर छाड्न किन बाध्य हुन्छौं हामी । निश्चय नै, न सबै कर्मचारी खराब छौं, न सबै नेता, न सबै नागरिक नै तर पनि समग्रमा खराबको पगरी गुथ्न बाध्य छौं किनकि खराबले आफू सही छु भनेर समाजलाई ढाँटिरहँदा चुपचाप हेरिरहन्छौं । सेवाप्रदायक र सेवाग्राहीबीचको यो असहजताको अमिलोपन तोड्न दुवै पक्षको पहल आवश्यक छैन र ? किन सरकारी निकायमा काम गर्न जाँदा भयानक अवस्थाको कल्पना हुन्छ हामीलाई । हामी पनि सकारात्मक सोच र शुद्ध आचरणका छैनौं कि ? सुधार्ने पहल नै गरेनौं कि, एकपटक मनन गरौं त ! 

सरकार सबै स्थानमा हरबखत पुग्न सक्दैन तर आवश्यकता पर्दा हरेक क्षण साथ रहन्छ । जति सानो र सशक्त सरकार भयो, जनतालाई त्यति नै करको भार कम पर्छ । हरेक कर्तव्यनिष्ठ नागरिक सरकारको सहयोगी अंग हो । सरकारलाई सरापेर मात्र होइन, अब प्रत्यक्ष सहभागी बनेर वातावरण सुधार्ने पहल स्थानीय तहबाट हुनुपर्छ । एउटा साधारण नागरिकको पहुँच केन्द्रसम्म सहजै पुग्न सक्दैन । त्यसैले राज्यको बदलिएको संरचनाले स्थानीय तहलाई अधिकारसम्पन्न बनाएको हो अथवा भनौं राज्य नै नागरिकसम्म पुग्ने संवैधानिक व्यवस्था भएको हो । अधिकांश छरिएर रहेका विषयगत कार्यालयका अधिकारहरू स्थानीय तहमा आएपछि सरकारले निजामती कर्मचारीको व्यवस्थापन पनि स्थानीय, प्रदेश र संघमा गर्नुपर्ने भएको छ । निर्वाचित जनप्रतिनिधिले पनि सक्षम र सहयोगी कर्मचारीका माध्यमबाटै सेवाप्रवाहलाई प्रभावकारी बनाउने हो । तर विडम्बना, स्वयम् जनप्रतिनिधिहरूलाई जानकारी दिइएको छैन कुन तहका, कति र कस्ता विशेषज्ञ कर्मचारी उनीहरूको स्थानीय तहमा आउँदै छन् । सुगमका स्थानीय तहमा पहुँच भएका कर्मचारीहरू थुप्रिने र दुर्गममा अभाव हुने पुरानै रोग दोहोरिँदै छ भने समन्वय र संगठन सर्वेक्षण नगरी पठाउँदा स्थानीय तहलाई जनशक्ति योजना बनाएर लागू गर्न समस्या परेको छ । यसरी कर्मचारी समायोजन गर्दा निजामती कर्मचारी र हाल स्थानीय तहमा कार्यरत कर्मचारीबीच मनोवैज्ञानिक खाडल पर्न नदिनेतर्फ पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । 

राज्यलाई अप्ठ्यारो परेका बेला राष्ट्रसेवक कर्मचारीले युद्धमैदानमा त उभिनुपर्छ भने यो त जनतालाई नजिकबाट सेवा गर्ने सुनौलो अवसर हो । काम गर्दै जाँदा राज्य समृद्ध बनाउनसके प्रतिफल चुहिने त हाम्रै पोल्टामा हो । यसै पनि सुविधाभोगी, ढिलासुस्ती, कामचोरको आरोप लागेको कर्मचारीतन्त्रलाई अब द्वन्द्व सिर्जना नहुने गरी स्पष्ट नीति बनाएर काम गर्ने वातावरण राज्यले दिनुपर्छ र कर्मचारीले सहज रूपले गर्नुपर्छ जसले आरोप मिथ्या साबित गर्न सकियोस् । यसका माध्यमबाट जनप्रतिनिधिहरूले जनतासँग गरेका वाचा सहजै पूरा गर्न सकून् । 
-कोइराला काठमाडौं महानगरपालिका, नगर कार्यपालिका कार्यालयकी उपनिर्देशक हुन् । 

प्रकाशित : भाद्र ४, २०७४ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्

पढाइ ठप्प

कान्तिपुर संवाददाता

विराटनगर — बाढी पसेर विद्यालय क्षतिग्रस्त भएपछि विद्यार्थीको पढाइ प्रभावित भएको छ । गत साताको भारी वर्षापछि विभिन्न नदी, खोला र नहरको विद्यालय पसेको हो । कतिपय विद्यालयमा बाढीबाट विस्थापितले आश्रय लिइरहेकाले पठनपाठन हुन सकेको छैन ।


पूर्वाञ्चलका दर्जनौं सामुदायिक विद्यालयमा क्षति पुगेको जानकारी आएको शिक्षा निर्देशनालयले जनाएको छ । निर्देशनालयले क्षतिको विस्तृत विवरण भने आइनसकेको बताएको छ । प्रारम्भिक तथ्यांकअनुसार सप्तरीमा एक–एक विद्यालय र मदरसा खोलाले कटान गरेका कारण पूरै नष्ट भएका छन् । ६५ वटा विद्यालयमा बाढीले आंशिक नोक्सानी पुगेको सप्तरीस्थित शिक्षा कार्यालयले जनाएको छ ।
मोरङका १ सय ६१ वटा विद्यालयमा बाढीले क्षति पुर्‍याएको सहायक शिक्षा अधिकारी राजेन्द्र बुढाथोकीले बताए । झापाका चार विद्यालय क्षतिग्रस्त बनेका छन् । बाढीले जलमग्न बनेका कतिपय विद्यालय परिसर र कक्षाकोठाको पानी पूरै सुकिसकेको छैन । 
कोठामा पानी पसेका कारण कम्प्युटर, पुस्तकालयका पुस्तक, शैक्षिक सामग्री, विद्यालयका कागजपत्र नष्ट भएका छन् । निर्माणाधीन भवनका बालुवा, गिट्टी, सिमेन्ट र रड जस्ता कच्चा पदार्थमा बाढीले नोक्सान पुर्‍याएको छ । कतिपय विद्यालयका पर्खाल भत्किएको, शौचालय क्षतिग्रस्त बनेको र फर्निचरसमेत बगाएको बुढाथोकीले बताए ।
सप्तरीमा ४, झापाका १० र मोरङका ५० वटा विद्यालयमा बाढीपीडितले आश्रय लिइरहेका छन् । बस्नै नसक्ने गरी भवनमा क्षति पुगेका विद्यालयमा अस्थायी रूपमा पढ्ने स्थानको व्यवस्था गर्ने प्रयास भइरहेको शिक्षा कार्यालयले जनाएका छन् ।
प्याब्सन मोरङका अध्यक्ष वासुदेव न्यौपानेका अनुसार बाढीले जिल्लाका निजी विद्यालय पनि प्रभावित बनेका छन् । अत्यधिक वर्षापछि विद्यालय परिसर जलमग्न बनेपछि एक साताका लागि बन्द गरिएका विद्यालय दुई दिनयता सञ्चालनमा आउन थालेका छन् । ‘मोरङका प्राय: सबै विद्यालय जलमग्न भएकाले समस्या परेको थियो,’ हिसान मोरङ अध्यक्ष बलराम पन्तले भने, ‘यसको प्रभाव कतिपय शिक्षालयमा अझै कायम छ ।’ मोरङमा प्याब्सन र एन प्याब्सनसँग आबद्ध ३ सय ३० निजी विद्यालय छन् । घरमा पानी पस्दा बालबालिकाका पाठ्यपुस्तक, कापी, कलमलगायत शैक्षिक सामग्री र पोसाक नष्ट भएका छन् । मोरङमा मात्र ५ हजार विद्यार्थीको पाठ्यपुस्तक, शैक्षिक सामग्री र पोसाक कामै नलाग्ने भएको शिक्षाले जनायो । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार मुलुकका विभिन्न क्षेत्रमा आएको बाढीबाट विद्यालयहरू क्षतिग्रस्त भएपछि करिब ८० हजार विद्यार्थी पढाइबाट वञ्चित भएका छन् । 

 

प्रकाशित : भाद्र ४, २०७४ ०७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×