कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘डिप्लोमा मिल’ होइन, खुला विश्वविद्यालय

चैत ९ गते कान्तिपुरमा प्रकाशित ‘डिप्लोमा मिल बन्ने जोखिम’ लेखद्वारा नेपाल खुला विश्वविद्यालयबारे सार्वजनिक बहस चलाएकोमा यसका लेखक तथा कान्तिपुर दैनिकलाई धन्यवाद दिन चाहन्छौँ ।

‘डिप्लोमा मिल’ होइन, खुला विश्वविद्यालय

लेखको सुरुवात नेपाल खुला विश्वविद्यालय ऐनको प्रमाणीकरण, गैरआवासीय नेपाली संघले २०६७ सालमा थालेको पहल, विश्वविद्यालय सभामा प्रतिनिधित्व, नवीनतम प्रविधिको प्रयोग, सीमान्तकृतको समावेशिता आदि तथ्यबाट गरिएको छ । तर उक्त लेखमा उल्लेख गरिएका कतिपय तर्क कपोलकल्पित र भ्रमपूर्ण रहेका छन् । 

लेखमा आरोप लगाइएको छ, ‘नेपालमा ओपन युनिभर्सिटीको व्याख्या गर्नेहरू तिनै युनिभर्सिटीबाट आर्थिक वा सामाजिक लाभ लिइरहेका वा यस्तै युनिभर्सिटी पढेका वा तिनका आसेपासे हुन्छन् र यिनले प्राय: युवा वर्गको भविष्यबारे बनावटी वा सतही कुरामात्र गर्छन्’ । तर लेखकले उल्लेख गरेका व्यक्ति र समूह नेपाल खुला विश्वविद्यालयका लागि गठित ५५ सदस्यीय कार्यदलमा संलग्न नरहेकोले यो लेखले भ्रमपूर्ण सन्देश दिएको छ भन्ने हाम्रो ठहर छ । हुन त संयुक्त राष्ट्र संघमा कार्यरत हाम्रो कार्यदलका एकजना मित्र खुला कार्यक्रममा सहभागी भएर बेलायतबाट विद्यावारिधि गर्दै हुनुहुन्छ । साथै खुला तथा दूरशिक्षाका लागि अन्तर्राष्ट्रिय परिषदका अध्यक्ष तथा क्यानाडाको खुला विश्वविद्यालयका पूर्व प्रेसिडेन्ट ७ सदस्यीय सल्लाहकार समितिमा हुनुहुन्छ । तर लेखकले जो व्यक्ति अभियानमा संलग्न होलान् भनी अन्दाज गरेको देखिन्छ, ती त्यहाँ छैनन् । त्यसैले लेखमा भने बमोजिमको स्वार्थपरक संलग्नता प्रमाणित गरेर देखाउने चुनौती स्वीकार्न लेखकलाई हाम्रो आग्रह छ । 

शिक्षा क्षेत्रमा गरिने खास लगानीमा विद्यार्थी संख्या र गुणस्तरबीच व्युत्क्रमानुपाती सम्बन्ध रहँदै आएको छ । जनसंख्याको अधिकांश हिस्सा अवसरबाट नै बञ्चित हुनेगरी थोरै विद्यार्थी भर्ना गर्दा विद्यार्थी पनि उत्कृष्ट पर्ने र शिक्षाको गुणस्तर पनि राम्रो हुने, तर संख्या धेरै पार्दा गुणस्तरमा आँच आउने समस्याका कारण विश्वविद्यालयहरूमा सीमित भर्ना लिने चलन निकै पुरानो हो । भारतले भर्ना संख्यालाई बढी महत्त्व दिँदै केन्द्र र सबै राज्यमा खुला विश्वविद्यालय बनाउँदा केही असफलता हात लगाएको थियो । यसैमा टेकेर आलोचकहरूले ‘डिप्लोमा मिल’को हवाला दिने गरेको, तर प्रबद्र्धकहरूले उचित समाधान पस्कन नसकेको कारण नेपालमा खुला विश्वविद्यालय खोल्ने लामो अभियान सन् २०१० सम्म अवरुद्ध बनिरहेको थियो । 

तर संख्या र गुणस्तरको परम्परागत सम्बन्धलाई बदल्ने कुनै उपाय प्रवासी नेपालीमाझ सन् २००५ देखि मौलिक रूपमा विकसित हुँदै थियो । २००६ देखि २०१० सम्म नेपाली तथा विदेशी विद्वत समुदायको छलफलबाट यो विकसित हुँदै गयो, जसको अन्तरवस्तु खुला विश्वविद्यालय श्वेतपत्रमा लिपिबद्ध गरिएको छ । हामी अभियन्ताहरूले पहिले गैरआवासीय नेपाली संघभित्र बहस चलाएपछि नेपाली राजदूत तथा शिक्षा मन्त्रालयका उच्च अधिकारीहरूमार्फत आफ्नो अवधारणा नेपाल सरकारसमक्ष प्रस्तुत गरेका थियौँ । २०१० मा तत्कालीन शिक्षामन्त्री सर्वेन्द्रनाथ सुक्लसँग गुणस्तरको सर्वमान्यता, कार्यक्रमको सर्वोपलव्धता तथा आर्थिक स्रोतको संयोजन समस्याको समाधानबारे प्रत्यक्ष वार्तालाप भएपछि जब उहाँ हाम्रो समाधानमा पूर्ण आश्वस्त हुनुभयो, तब संघ र सरकारले सहकार्यका लागि एक घोषणापत्रमा सार्वजनिक रूपमा हस्ताक्षर गरेर यो अभियान उठाइएको हो । तर लेखकले अर्कै देशका असफल खुला विश्वविद्यालयबारे गरेका गुगलमा सर्च र अनाधिकारिक सूचनाका भरमा नेपाल खुला विश्वविद्यालय अभियानको मूल्याङ्कन गरेको देखियो । त्यो नै उक्त लेखमा रहेको प्रमुख त्रुटि हो ।

दोस्रो, यो लेखले ‘भर्खर १२ कक्षा पास गरी भविष्य बनाउन आएका विद्यार्थीलाई मिठो सपना देखाएर खुला विश्वविद्यालयमा डोर्‍याउनु हानिकारक हुनसक्छ’ तथा ‘विद्यार्थीका लागि यो पैसा, समय र अन्त्यमा जीवनै बर्बादीको बाटोमा डोर्‍याउने हुनसक्छ’ जस्ता अतिरञ्जित वाक्यहरूको प्रयोग गरेर यो अभियानलाई प्रहार गरेको छ । तर शिक्षाको गुणस्तरका कारक तत्त्वबारे भने अनभिज्ञ रहेको देखिन्छ । 

वास्तवमा विश्वविद्यालय परम्परागत हो या खुला हो भन्ने कुरामा शिक्षाको गुणस्तर र विश्वसनीयता निर्भर नभएर त्यहाँबाट उत्पादित विद्यार्थीको योग्यता र क्षमतामा निर्भर हुन्छ । नेपालमा फेल हुने विद्यार्थीहरू भारतका परम्परागत विश्वविद्यालयमा गएर सहजै डिग्री लिएर आउने गरेको, तर बेलायत र दक्षिण अफ्रिकाका खुला विश्वविद्यालयहरूले सयौँ वर्ष अघिदेखि स्थापित परम्परागत विश्वविद्यालयहरूलाई शैक्षिक गुणस्तरमा पछाडि पारेको तथ्यले गुणस्तरको कसी खुला वा परम्परागत हुनुमा नभएर माथि उल्लिखित तत्त्वमा निर्भर हुने कुराको सङ्केत गर्छ । त्यसैले हाम्रो अभियान सुरुदेखि नै एउटा विद्यार्थीको सिकाइ उपलब्धिमा (१) शिक्षकको गुणस्तर, (२) पाठ्यवस्तु र पाठ्यक्रमको प्रासंगिकता तथा स्थानीय समस्यामा केन्द्रित, (३) सिकाइको सघनता, (४) उत्प्रेरक शिक्षण पद्धति, (५) निरन्तर उत्प्रेरणा र परामर्शजस्ता तत्त्वले पार्ने प्रभावबारे सचेत रहँदै आएको छ । सर्वमान्य गुणस्तर प्रदान गर्न ती तत्त्वको उपयुक्त संयोजन भएका कार्यक्रममात्र नेपाली समाजमा पस्किने हाम्रो योजना रहँदै आएको छ । तर लेखकले भने खुला हुनु भनेको गुणस्तर नहुनु हो भन्ने सरल तर मिथ्या निष्कर्ष निकालेर सन्तुष्टि लिएको देखिन्छ ।

घोकेर जाँचमा ओकल्नुलाई विद्या आर्जन मान्ने आजभोलिको शिक्षा प्रणालीले नै हाम्रा युवालाई असफल बनाइरहेको कुरा के सर्वविदित छैन र ? तर त्यसप्रति लेखकको कुनै आपत्ति भएको देखिएन । बरु घोक्ने बानी परेकालाई उही बानीको पक्षपोषण हुनेगरी खुला विश्वविद्यालयले पढाओस् भन्ने आग्रह पालेको देखियो । तर हाम्रो उद्देश्य यो घोक्ने पद्धतिलाई समस्या केन्द्रित र जीवनोपयोगी सिकाइ पद्धतिले विस्थापित गर्ने हो । अनि यो पद्धति विस्थापनमा युवा पुस्ता अत्यन्त उत्साहित हुनुका साथै कामयावी हुनेछ भन्ने हाम्रो ठहर हो । 

अनि हामीले निर्माण गर्न खोजेको शैक्षिक पद्धतिमा सूचना प्रविधिको व्यापक उपयोग हुनगइरहेको हुनाले, यसको सबैभन्दा ठूलो लाभग्राही युवा तथा ‘डिजिटल नेटिभ’ पुस्ता हुनेछ भन्ने हाम्रो ठहर छ । अबको युगमा एउटा लेक्चर हेर्न कक्षाकोठामा जानुपर्ने बाध्यता युवा पुस्ताको अन्तरात्माको माग नभएर एउटा बाध्यता हो । त्यसैले युवाप्रति सहानुभूति देखाउँदैमा के हुन्छ ? बरु युवाको समग्र भावना बुझी शिक्षामा सूचना प्रविधिले ल्याएको सम्भावनालाई अवसरमा बदले केही हुनसक्छ ।

तेस्रो, लेखकले खुला विश्वविद्यालयलाई गरिब, दूरदराजवासी र सीमान्तकृत नेपालीले मात्र पढ्ने विश्वविद्यालय मानेको देखिन्छ । तर त्यो हाम्रो अभियानबारे अधुरो सूचना हो । हाम्रो उद्देश्य सुगमदेखि दुर्गमसम्मका धनी–गरिब सबै नेपालीले आफूले चाहेको शिक्षा आफ्नै अनुकूलको समय र गतिमा लिनसक्ने बनाउनु हो । १८–२० वर्ष लगातार पढेर बेरोजगार बन्नुको सट्टा काम, अनुभव र शिक्षालाई साथसाथै बढाउन सम्भव बनाउनु हो ।

चौथो, रोजगारदाताले चाहेको पढाइ विश्वविद्यालयले नपढाउने हुनाले रोजगारी र भर्नामा ‘नट फ्रम ओयु’ लेखिने वा ‘डिप्लोमा मिल’ बन्ने लेखकको दाबी छ । तर हामीले कुनै कमसल डिप्लोमा नभएर अन्य विश्वविद्यालयमा क्रेडिट नै स्थानान्तरण (ट्रान्सफर) गर्न सकिने गुणस्तरका सर्वमान्य शैक्षिक कार्यक्रम पस्कन लागेका हौँ । त्यस्तो स्थानान्तरण चानेचुने गृहकार्यबाट प्राप्त हुने कुरा होइन । बरु विद्यमान विश्वविद्यालयहरूमा क्रेडिट स्थानान्तरणको महत्त्वप्रति सचेतना आइनसकेको बारे ध्यानाकर्षण हुनु जरुरी छ । 

पाँचौं, खुला विश्वविद्यालयले विज्ञान, वाणिज्य तथा प्रविधिका विषय नभएर इतिहास, समाजशास्त्र, संस्कृति, भाषाजस्ता ‘लोकप्रियता नभएका’ र ‘जागिर नपाउने’ विषय पढाएमा ‘पढ्न नपाएका लागि वरदानसरह नै हुनसक्छ’ भन्ने घातक तर्क लेखकले प्रस्तुत गरेको देखिन्छ । त्यसैले लेखकलाई ‘सायन्स इज एभ्रिह्वेयर’, ‘लर्निङ इज एभ्रिह्वेयर’ आदिको पनि गुगलसर्च गर्न हाम्रो आग्रह छ । तपाईले त्यहाँ ‘विज्ञान केवल प्रयोगशालामा बस्ने कुरा होइन’ भनेर लेखेको पाउनु हुनेछ । 

के हामीले ४० जनालाई रामपुर क्याम्पसका कोठामा कृषि पढाएर दुई करोड नेपाली किसानको कृषिमा सुधार आएको छ ? के रामपुरका गरामा मिटरले नापेर बनाएका प्लटमा बजारियाका विद्यार्थीले खेती गरे त्यो प्रयोगात्मक तर गाउँका गरामा किसानले त्यसरी नै नापेर खेती गरे अप्रयोगात्मक हुन्छ ? के स्वास्थ्यको पढाइ काठमाडौंका महलमा प्रभावकारी र रोगव्याधिले सताएका दुर्गम गाउँहरूमा कम प्रभावकारी हुन्छ ? के बोटानी त्रिचन्द्रका कोठामा पढाए सफल र बोटबिरुवा भएका ठाउँमा पढाए असफल हुन्छ ? यदि हाम्रा वनपाखाहरू बोटानीका, खेतबारी कृषिका र गोठ–चरन पशुपन्क्षीका प्रयोगशाला हुनसक्दैनन् भने त्यो विज्ञान के विज्ञान हो ? तर अपशोच, विश्वमा गुडिरहेका विचारका पाङ्ग्रा धेरै अघि पुगिसक्दा पनि हाम्रो देशको विज्ञान, अनुसन्धान र नवप्रवर्तनको हालत भने पाङ्ग्रा खुस्केको गाडीजस्तै बनेको छ । यो कुराले भने लेखकलाई पिरोलेको देखिँदैन । 

हाम्रा वर्तमान विश्वविद्यालयहरू अनुसन्धानका अगुवा हुनुपर्नेमा अनुसन्धानबाट भाग्ने भगुवाजस्ता बनेको पीरले पनि हामीले फरक धार भएको नेपाल खुला विश्वविद्यालय खोल्न खोजेका हौँ । विज्ञान, वाणिज्य र प्रविधिको पढाइ पनि समस्त समाजमा फैलाउन चाहेका हौँ । समाजशास्त्र वा इतिहासलाई घोकेर जाँच दिने विषय नबनाएर चिन्तन, प्रयोग र अनुसन्धानबाट उन्नत बनाउने र उपयोगिता हासिल गर्ने विषय बनाउन हिँडेका हौँ । यदि हाम्रो सोच मुताविक नेपाल खुला विश्वविद्यालय सञ्चालनमा ल्याउन दिइयो भने हाम्रो समाजले रोजगारदाताले तथा विश्वका अन्य विश्वविद्यालयले हाम्रा विद्यार्थीलाई ‘अन्तिम विकल्पमा’ होइन कि श्रेष्ठतम रोजाइमा राख्नेछन् भन्ने हाम्रो निचोड छ । त्यही विश्वास बोकेका कारणले नै हामीले कैयौँ अपमान र अवरोधबीच पनि अडिग भएर यसको विकासमा लागिरहेका छौँ । 

अन्त्यमा, परम्परागत शिक्षा, नेपालमा विगतमा प्रचारित खुला शिक्षा र हामीले सन् २०१० यता प्रबद्र्धन गरिरहेको खुला शिक्षा बीचको भिन्नताबारे लेखक जानकार नभएको देखिन्छ । यो भिन्नतालाई बुझ्न ज्ञानलाई बग्न र फैलिन सक्ने पानीको उपमाका रूपमा लिऊँ । यदि त्यो पानी कुवामा हुन्छ र छनोटमा परेका केही जनालाई त्यही कुवामै बसेर पिउन दिइन्छ भने त्यो कक्षाकोठामा विद्यार्थी राखेर शिक्षकद्वारा सोझै ज्ञान पियाउने परम्परागत शिक्षा प्रणाली हो । यदि त्यो पानी कुवामै बसेर पिउनु पर्दैन, गाग्रीमा घरघरै लगेर पिए पनि हुन्छ भनिन्छ भने त्यो सामान्यतया बुझिने खुला तथा दूरशिक्षा हो । तर यदि त्यो कुवामा प्राप्त पानीलाई हरेक मानिसका घर, खेत, बाटो, वन, पहरा वा जहाँकहीँ निरन्तर रूपमा बगिरहने नदीमा रूपान्तरण गरेर जसलाई, जहाँ, जति, जहिले र जतिपल्ट पिउन आवश्यक पर्छ, त्यसलाई त्यहाँ, त्यति, त्यहिले र त्यतिपल्ट पिउन दिइन्छ भने त्यो हामीले परिकल्पना गरेको खुला विश्वविद्यालय हो । परम्परागत कुवामा एक पटकमा २५–४० जनाले पानी पिउँछन् र खुला कुवामा त्योभन्दा ५–१० गुना बढीले पिउँछन् भने हामीले बनाउने नदीमा संख्याको सीमा पूर्णत: तोडिएको हुनेछ । तीन करोड नेपालीले एकैसाथ नेपाल खुला विश्वविद्यालयको ज्ञान लिन सक्नेमात्र होइनन् कि यदि त्यो जनसंख्या भारत र चीन दुबै मिलाएजत्रो भए पनि सबैले आआफुले रोजेको ज्ञान लिन सक्नेछन् । शिक्षामा आवश्यक परीक्षण र प्रयोगको अधिकतम मात्रामा स्थानीयकरण गरिएको हुनेछ, थोरै मात्रै केन्द्रीकृत । यो सबै काम आर्थिक रूपमा पनि सम्भव हुनेछ ।

हामीले परिकल्पना गरेजस्तो विश्वविद्यालय आज विश्वको कुनै राष्ट्रले बनाएको छैन, नेपाल नै पहिलो राष्ट्र हो, जहाँ यो बनाइँदैछ । नेपाल खुला विश्वविद्यालय विश्वमा विकसित उन्नत उपाय तथा आफ्नै मौलिक उपायको संयोजन गरेर बनाउन लागिएको विश्वविद्यालय हो । हाम्रो पद्धतिबारे कुनै गुगलले थाहा पाइसकेको छैन । जब यो बन्नेछ, तब यो विश्वविद्यालय शिक्षा प्रणालीमा ल्याउन लागिएको एउटा युगान्तकारी परिवर्तनको वाहकका रूपमा गनिनेछ । हजारौँ वर्ष अघिदेखि दार्शनिकहरूले ‘ज्ञानमै मुक्ति छ’ भनी जुन दृष्टि दिएका थिए, त्यो मुक्ति सबैका लागि सम्भव बनाउने ‘ज्ञानको खुला चरन’का रूपमा चिनिनेछ । नेपाल खुला विश्वविद्यालय विश्वका विद्वानहरूको आकर्षणको केन्द्र हुनेछ ।

लेखकहरू गैरआवासीय नेपाली संघको खुला विश्वविद्यालय कार्यदलका अभियन्ताहरू हुन् । 

 

प्रकाशित : वैशाख १, २०७४ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?