कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

राष्ट्रपति पाैडेलद्वारा जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन

जलवायु परिवर्तनको असर न्यूनीकरणमा विकसित देशले अपनाउनुपर्नै उपाय सुझाउन वैज्ञानिकहरूसँग राष्ट्रपति पाैडेलकाे आग्रह 

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा  विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूकाे अवलोकन गरेका छन् । जर्मनीको पोट्सडाम अवस्थित ती  संस्थाहरूको राष्ट्रपति पाैडेलले अभिरुचीपूर्वक अवलोकन गरे । 

राष्ट्रपति पाैडेलद्वारा जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन

अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरहरूबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरबारे अनुसन्धानका साथै यो असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन उनीहरूलाई आग्रह गरे ।

'जर्मनी यसमा अत्यन्त चिन्तित छ र यसबारे अनुसन्धान गर्ने महत्वपूर्ण मुलुक पनि हो । तपाईँहरूले अनुसन्धानमा ठूलो प्रगति गर्नुभएको छ। तर अब अनुसन्धानमात्रै होइन समाधानका उपायबारे पनि सुझाव दिनुपर्यो', राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहाकार किरण पोखरेलले भने,' नेपालमा जलवायु परिवर्तनको असर देखिसक्यो । हिमालयहरू काला पहाड़मा परिणत भैसके । अब यसको असर विकसित मुलुकहरूमा पनि पर्नेछ र यो पृथ्वीलाई जोगाउने कुरा हो । त्यही भएर तपाईँहरूले मारमा परेका देशले के के गर्नुपर्यो र विकसित देशले के के गर्नुपर्‍यो भनेर स्पष्टसँग समाधानका उपाय दिन आावश्यक छ ।'

जिएफजेडका साइन्टिफिक कार्यकारी निर्देशक सुजना बाउंटर, पोस्टाडाम इन्स्टिट्यूट फ़र क्लाइमेट इम्प्याक्ट रिसर्च ( पिआईके) का अनुसन्धान समूहका प्रमुख युर्गन पि. क्रप, नेपाली रिसर्च इन्स्टिट्यूट फ़र सस्टेनेवेलेटीका अनुसन्धान समूह लीडर डा. महेश्वर रूपाखेतीलगायतका वैज्ञानिकहरूले विभिन्न विषयमा साे अवसरमा राष्ट्रपति पाैडेललाई जानकारी गराए ।


राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन आइपुगेका हुन् । उनकी प्रथम महिला सविता पौडेलका साथ संघीय गणतन्त्र जर्मनीका राष्ट्र फ्रैङ्क वाल्टर स्टाइनमायरको निमन्त्रणमा औपचारिक भ्रमणका लागि जर्मनी आएका हुन् ।

उनले जर्मनीको पोट्सडाममा अवस्थित जर्मन रिसर्च सेन्टर फर जिओसाइन्सको अवलोकन गरे । यो ठोस पृथ्वी विज्ञानको लागि जर्मनीको राष्ट्रिय अनुसन्धान केन्द्र हो । यसले भू–विज्ञानका उप–प्रणालीहरू, यसको अन्तरक्रिया गर्ने उपचक्रहरू र यसको कारण तथा प्रभाव श्रृखलाहरूको विस्तृत सञ्जालको साथ पृथ्वीको भूगोलजस्ता अत्यधिक जटिल प्रणालीमा ध्यान केन्द्रित गर्ने यहाँका वैज्ञानिकहरूले जानकारी दिएका छन् ।

सन् २०१५ देखि जिएफजेडका वैज्ञानिकहरू नेपालको हिमाली क्षेत्रमा संवेदनशील प्राकृतिक विनाशकारी बाढीको भूकम्पीय अनुगमनमा सक्रिय छन् । त्यस्तै, जिएफजेडसँगको समन्वयमा नेपालको खानी तथा भूगर्भ विभाग र जिइओएस जर्मनीबीच पहिरोसम्बन्धी पूर्व सूचना प्रणालीबारे भएको सम्झौतामा २६ सेप्टेम्बर २०२३ मा हस्ताक्षर भएको थियो ।

यस्तै, राष्ट्रपति पौडेलले अवलोकन गरेकाे जर्मनीको पोट्सडाममा अवस्थित अर्को रिसर्च इन्स्टिच्युट फर सस्टेनिविलीटी सन् २००९ मा स्थापना भएको हो । यसले दिगो विकास हासिल गर्न सामाजिक परिवर्तनको प्रक्रिया बुझ्ने, विकास गर्ने र मार्गदर्शन गर्ने लक्ष्यकासाथ अनुसन्धान गर्ने बताइएको छ ।

प्रकाशित : असार २, २०८१ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?