कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

इनड्राइभ हाँकिरहेकी रीता

सरकारले औद्योगिक व्यवसाय ऐन संशोधन गर्दै राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएपछि इनड्राइभले नेपालमा औपचारिकसेवा सुरु गरिसकेको छ । योसँगै पश्चिम नवलपरासीकी रीता पोखरलले इनड्राइभका लागि नेपाल निर्देशकको जिम्मेवारी सम्हालेकी छन् ।
सजना बराल

काठमाडौँ — बिनादर्ता र अनौपचारिक रूपमा सेवा सञ्चालन गरेको भन्दै राइड हेलिङ प्लेटफर्म इनड्राइभमाथि बेलाबखत प्रश्न उठ्ने गरेका थिए । करको दायरामा नआएको र यात्रुको बिमा सुविधासमेत नभएको विषयमा पनि यो प्लाटफर्म शंकाको घेरामा थियो । नेपालमा यसका प्रतिनिधि, सम्पर्क बिन्दु र कार्यालय नहुँदा आपत्–विपत्मा के गर्ने भन्ने अन्योल हुनु स्वाभाविक पनि थियो ।

इनड्राइभ हाँकिरहेकी रीता

यी सबै अन्योल र चुनौतीहरू नहटाएसम्म र विशेषतः कम्पनी दर्ता नगरुन्जेल पर्दा पछाडि नै रहने अठोट गरेकी थिइन् रीता पोखरेलले । तर यी सबै अन्योल अन्त्य भएसँगै उनी सन्तुष्टिले धपक्क बलेको मुहारसहित इनड्राइभका लागि नेपाल निर्देशकका रूपमा बाहिर आएकी छन् । गत सोमबार इनड्राइभको एसिया प्यासिफिक कम्युनिकेसन्स प्रमुख पवित नन्दा आनन्दले रीतालाई पत्रकार सम्मेलनमा परिचय गराएकी थिइन् । लगत्तै रीताले भनिन्, ‘यतिन्जेल इनड्राइभको पछाडि को छ ? भन्ने प्रश्न थियो । अब म आएकी छु । तपाईंहरूले मलाई जहाँ भेटे पनि हात हल्लाएर बोलाउन र प्रश्न सोध्न सक्नु हुनेछ ।’

खासमा रीता इनड्राइभमा जोडिएको एक वर्ष मात्रै भयो । यो अवधिमा उनले एउटै कामका लागि सबैभन्दा धेरै मिहिनेत गरिन्, त्यो हो लबिइङ । राइड सेयरिङ सेवालाई कानुनले सम्बोधन गर्नुपर्‍यो भनेर उनले लगातार सम्बन्धित सरकारी निकायहरूलाई झकझकाइरहिन् । अन्ततः गत माघमा सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ संशोधन गर्दै राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दियो । ऐनको अनुसूची ८ मा क्रम संख्या ६६ थप्दै राइड सेयरिङ सेवासम्बन्धी व्यवस्था गरिएको हो ।

ऐनमा गरिएको संशोधनपश्चात् उद्योग विभागमा थन्किएका इनड्राइभका कागजपत्र फेरि खोतलिए । इनड्राइभ पाँच करोड प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउँदै राइड सेयरिङ कम्पनीका रूपमा दर्ता भयो । ‘यो कानुन बनाउन हाम्रो पनि हात छ,’ रीता भन्छिन्, ‘कानुन बनेर इनड्राइभ दर्ता नभएसम्म बाहिर आउँदिन भन्ने थियो । म काम र नतिजा देखाउन चाहन्थें । एउटा महत्त्वपूर्ण उपलब्धिसहित बाहिर आउँदा बेग्लै आनन्द महसुस भएको छ ।’ रीताको ध्यान अब इनड्राइभको कार्यालयलाई थप व्यवस्थित बनाउनेमा केन्द्रित रहनेछ । त्यसका साथै, कम्पनीले अन्य देशमा दिइरहेका विभिन्न सुविधा नेपालमा पनि दिन मिल्ने विषयमा बजार विश्लेषण गर्ने योजना रहेको उनले बताइन् ।

रीताका अनुसार हात्तीसारस्थित इनड्राइभको कार्यालयमा हाल करिब ३० जना कर्मचारी छन् । उनीहरूले आफ्ना ग्राहक र राइडरहरूको सहायताका लागि काम गर्छन् । यात्रु र चालकसम्बन्धी कुनै समस्या आए चौबिसै घण्टा अलर्ट रहने गरी जनशक्ति व्यवस्थापन गरेको रीताको भनाइ छ । ‘दुर्घटना, झगडा, दुर्व्यवहारजस्ता घटनाबारे जानकारी आउनासाथ हामी तुरुन्तै रेस्पोन्स गर्छौं,’ पत्रकार सम्मलेनमा उनले भनेकी थिइन्, ‘प्रहरीहरूसँग पनि हामी नजिकबाट सहकार्य गर्दै आएका छौं । हिजोअस्ति मात्र पनि प्रहरीले राखेका केही प्रश्नको हामीले एक घण्टाभित्र समाधान दिएका थियौं ।’

पश्चिम नवलपरासीको सुनवलमा जन्मे–हुर्केकी हुन् रीता । उच्च शिक्षा अध्ययनका लागि उनी सन् २००९ मा बेलायत गइन् । ग्रिनविच विश्वविद्यालयमा लेखा र वित्तीय प्रशासनमा तीनवर्षे डिप्लोमा हुँदै कलेज अफ इस्ट लन्डनमा उनले संस्थागत नेतृत्व विषयमा एक्सटेन्डेड डिप्लोमा कोर्स गरिन् । त्यसपछि सन्डरल्यान्ड विश्वविद्यालयबाट व्यावसायिक प्रशासनमा स्नातकोत्तर सकेपछि उनी २०१७ मा नेपाल फर्किन् । ‘मलाई आफ्नै केही व्यवसाय गर्न मन थियो, त्यसकै लागि नेपाल आएकी थिएँ,’ उनी भन्छिन्, ‘यहाँ आएर सेवा क्षेत्रसम्बन्धी नै एउटा स्टार्टअप सुरु गरें । त्यसले मलाई धेरै पाठ सिकायो ।’

व्यवसाय छोडेर कर्पोरेट क्षेत्रमा लागेयता उनले चार/पाँच वटा कम्पनीहरूमा बिजनेस प्रमोसन अफिसरको काम गरिन् । रोजगारीसम्बन्धी अग्रणी स्टार्टअप ‘पाइ’ देखि मिडिया प्रोडक्सनसम्बन्धी लाइभ रिपोर्टिङ, आईएमई पे र वेबप्वाइन्ट सोलुसन्समा उनले बिजनेस डेभलपमेन्ट शाखाको नेतृत्व गरिसकेकी छन् । अमेरिकी कम्पनी जोर्बामा प्रोजेक्ट म्यानेजर पनि भइन् । ‘मैले जहाँ–जहाँ काम गरें, सबैमा राम्रै गरें, सबैले अहिलेसम्म सकारात्मक तरिकाले नै सम्झिरहेको पाउँछु,’ उनी भन्छिन्, ‘चुनौतीहरू जहाँ पनि हुन्छन्, त्यसलाई कसरी सामना गर्ने भन्ने महत्त्वपूर्ण कुरा हो । म त्यसमै ध्यान दिएर काम गर्छु ।’

इनड्राइभ हाल विश्वका ४६ देशमा सञ्चालनमा छ । ती देशका ७ सय ४९ सहरका एक अर्ब मानिसले यसबाट सेवा लिँदै आएका छन् । हालसम्म इनड्राइभ एप २० करोडभन्दा बढी पटक डाउनलोड भइसकेको छ । यसले राइड सेयरिङसँगै कतिपय देशमा कुरियर, कार्गो र लामो दूरीका यातायात सेवासमेत प्रदान गर्दै आएको छ । नेपालमा करिब एक वर्ष प्रयासपछि इनड्राइभ राइड सेयरिङ उद्योगका रूपमा दर्ता भएको हो । कानुनी प्रक्रिया पूरा गरेसँगै यसले औपचारिक सेवा सुरु गरेको हो । कर प्रक्रियामा जोडिएसँगै अब इनड्राइभरले चालकहरूबाट १० प्रतिशतसम्म कमिसन शुल्क लिने घोषणा गरेको छ । यात्रुले चालकलाई तिर्ने शुल्कबाट चालकले इनड्राइभलाई सर्भिस चार्ज दिनुपर्ने भएको हो ।

प्रकाशित : जेष्ठ १३, २०८१ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?