२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

बुद्धजयन्ती मनाइयो 

काठमाडौँ — शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको दुई हजार ५६८औँ जन्म जयन्ती मनाइएको छ । आज घर, गुम्बा, चैत्य, विहारमा श्रद्धाभक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउन उनले खेलेको योगदानको स्मरण गरी पर्व मनाइएको हो ।

बुद्धजयन्ती मनाइयो 

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व सिद्धार्थ गौतम अर्थात् शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पुर्‍याउनुभएको योगदानको स्मरणमा उनीप्रति आराधना, ध्यान गरी मनाइन्छ ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । उनको जीवनका तीन महत्वपूर्ण घटना वैशाख शुक्ल पूर्णिमाका दिन भएकाले आजको दिनलाई बौद्धमार्गीले त्रिसंयोग दिवसका रुपमा पनि मनाएका छन् ।

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशीला हो’ यस्ता अनेकौँ कालजयी सन्देशबाहकका रूपमा भगवान् गौतम बुद्धको परिचय विश्वव्यापी बनेको छ । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवम् बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिएको थियो । यस अवसरमा नागरिकले भने बेलुकी घरमै दीपावली गरेर बुद्धजयन्ती मनाउने गरेका छन् ।

लुम्बिनी, स्वयम्भू, बौद्धलगायतका स्थलमा पनि विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाइएको छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि माता मायादेवी कपिलवस्तुको तिलौराकोटबाट रुपन्देहीको देवदह जाने क्रममा लुम्बिनी उद्यानमा वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको हो । भगवान् विष्णुको नवौँ अवतार मानिने उनले कपिलवस्तु राज्यका राजा शुद्धोधन र मायादेवीका सुपुत्रका रुपमा हालको रुपन्देहीको लुम्बिनीमा जन्म लिएको इतिहास छ । राजकुमारका रूपमा प्राप्त हुने सुखसयल छोडी दुःख निवारणको कारण खोज्न २९ वर्षको उमेरमा तपस्याका लागि निस्कनुभएका उहाँले तपस्याबाट प्राप्त बुद्धत्वका माध्यमबाट उनले विश्व शान्ति स्थापनाका लागि सहयोग पुर्‍याए ।

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उहाँले बुद्धगयास्थित पिपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो । सम्यक् संकल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए । यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरूलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाँडेका थिए । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसापूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण (मृत्यु) प्राप्त गरे ।

विश्व जगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रूपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए । यसैकारण विश्वमा बुद्धदर्शनले सम्प्रदाय वा पथको रूप धारण गरेको छ । यसप्रति अध्ययन, अनुसन्धान गर्नेको संख्या पनि बढेको छ ।


प्रकाशित : जेष्ठ १०, २०८१ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?