२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

उद्धार गरिएका बाघलाई राख्न र खुवाउनै मुस्किल

बर्दिया/चितवन — बर्दियालगायत तराईका राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रमा समस्याग्रस्त बाघ थपिने क्रम बर्सेनि बढ्दो छ । विभिन्न कारणले जंगलमा अस्तित्व रक्षा गर्न नसकेर विस्थापित भएका बाघद्वारा बस्ती पसेर बस्तुभाउ तथा मानिसको सिकार गर्नेक्रम बढेको छ । यसरी बस्तीमा आउने बाघलाई निकुञ्ज कार्यालयले उद्धार गरेर व्यवस्थापन केन्द्रमा राख्ने गरेको छ ।

उद्धार गरिएका बाघलाई राख्न र खुवाउनै मुस्किल

केही समययता समस्याग्रस्त बाघले खोर भरिन थालेपछि आहारा पुर्‍याउनै मुस्किल पर्न थालेको निकुञ्ज कार्यालयले जनाएका छन् ।

‘समस्याग्रस्त बाघलाई खोरमा थुनेर मात्र हुँदैन, उचित स्याहारसुसार, सफाइ र उपचार पनि चाहिन्छ,’ बर्दिया राष्ट्रिय निकुञ्जका पशु चिकित्सक आयुष महर्जन भन्छन्, ‘हामीले २४ सैं घण्टा सीसीटीभीबाट खाना खाए/नखाएको, स्वास्थ्यमा समस्या देखिए/नदेखिएको निगरानी गर्छौं ।’ बाघको स्वास्थ्यलाई लिएर हेरचाहमा खटिने कर्मचारी चनाखो हुनुपरेको उनले बताए । गत चैतसम्म पर्सा राष्ट्रिय निकुञ्जको खोरमा रहेका तीनवटै बाघ मरे । २०७९ चैतदेखि २०८० भदौसम्म पर्साका विभिन्न स्थानबाट उद्धार गरेर ल्याइएका ती बाघमध्ये एउटा असोजमा, बाँकी दुई फागुन र चैतमा मरेपछि संरक्षणकर्मी बीच खैलाबैला भयो । अहिले पर्सा निकुञ्जका बाघ राख्ने खोर खाली छन् । ‘पछिल्लो बाघको गत चैत १६ मा मृत्यु हुनुभन्दा एक साताअघिसम्म स्वास्थ्य अवस्था सामान्य थियो,’ पर्सा निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले भने, ‘अन्तिम समयमा एन्टिबायोटिक मिश्रित आहारासमेत खान छाडेको थियो ।’ पोस्टमार्टम रिपोर्टमा उक्त बाघ हाइड्रोपेरीकार्डियम अर्थात् मुटुमा पानी जमेका कारण मरेको निकुञ्जले जनाएको छ ।

पर्सा निकुञ्जको खोरमा गत असोज २५ मा पहिलो बाघ मरेको थियो । उक्त बाघलाई एक स्थानीय मारेपछि पर्साको ठोरी गाउँपालिका–५ आठघरेस्थित मध्यवर्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो । निकुञ्जका अनुसार एकदमै दुब्लो र कमजोर उक्त बाघको अगाडिको पञ्जामा पनि चोट थियो । शरीरका घाउचोटमा संक्रमण फैलिएर बाघ मरेको सूचना अधिकारी भगतले बताए । उनका अनुसार संक्रमणका कारण बचाउन असम्भव जस्तै थियो । २०७९ चैत २२ मा ठोरी–४ बाट नियन्त्रणमा लिइएको बाघ पनि फागुन १४ मा मरेको थियो । १२ वटा बाख्रा र दुईवटा भैंसी मारेपछि नियन्त्रणमा लिइएको उक्त बाघको अनुहारमा गहिरो घाउ थियो । निकुञ्जका पशु चिकित्सकले एन्टिबायोटिक औषधि दिएपछि घाउमा सुधार देखिए पनि भित्रभित्रै संक्रमण फैलिएर उक्त बाघ मरेको निकुञ्ज प्रशासनले जनाएको छ । ‘त्यो बाघको शरीरको भित्री अवस्था के थियो पत्ता लगाउन सकिएन,’ पर्सा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले भने, ‘समस्या शरीरको भित्री भागमा रहेको तर हामीसँग पत्ता लगाउने औजार उपकरण नभएर बाहिरी चोटको उपचारमै केन्द्रित हुनुपर्ने बाध्यता छ ।’ वन्यजन्तुको रोगको भित्री कारण पत्ता लगाउने प्रविधि र उपचार सुविधा निकुञ्जमा नरहेकाले समस्या भइरहेको भगतले बताए ।

बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्वारास्थित व्यवस्थापन केन्द्रमा अहिले दुई वटा बाघ छन् । निकुञ्जअन्तर्गत रम्भापुर पोस्टस्थित व्यवस्थापन केन्द्रमा तीन बाघ संरक्षण गरिएको छ । ठाकुरबाबा नगरपालिकाको सैनावरबाट ढाड भाँचिएको अवस्थामा उद्धार गरिएको बाघ दुई महिनाअघि मर्‍यो । ‘एकैपटक समस्याग्रस्त बाघ ६ वटा पुग्लान् भन्ने सोचेका थिएनौं,’ बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत आशिष न्यौपानेले भने, ‘साना कोठामा ती बाघ राखिएको छ ।’ उनका अनुसार रम्भापुरमा केही व्यवस्थित खोर रहेको छ । त्यहाँ अहिले तीन बाघ छन् । बाघ थपिएमा समस्या हुने उनले बताए । ‘अहिले हामीसित भएका होल्डिङ केज हुन्,’ उनले भने, ‘यी उद्धार केन्द्र होइनन् । रेस्क्यु सेन्टर र होल्डिङ केजमा भिन्नता छ ।’ बाघलाई तत्काल नियन्त्रणमा लिएर अध्ययन गर्न बनाइएका ‘होल्डिङ केज’मा समस्याग्रस्त बाघ राख्नुपरेको उनले बताए । ‘जुनसुकै बेला यस्ता बाघको संख्या थपिन्छन्,’ उनले भने, ‘त्यसैले ठूलो उद्धार केन्द्र निर्माणबारे सोच्नुपर्छ ।’

यसरी संरक्षण गरिएका बाघलाई आहार व्यवस्थापनका लागि बजेट अभाव छ । माग गरिएको बजेट पनि संख्या थपिँदै गएपछि समस्या भएको न्यौपानेले बताए । अहिले विज्ञको सुझाव अनुसार एउटा बाघलाई एक दिन बिराएर ७ किलो मासु दिने गरिएको छ । ‘तीनवटा बाघका लागि आएको बजेटबाट ६ वटालाई मासु खुवाउनुपरेको छ,’ न्यौपानेले भने । यस्तो बजेट वन्यजन्तु उद्धार केन्द्र व्यवस्थापन शीर्षकमा आउने गरेको छ । एउटा बाघलाई आहार पुर्‍याउन वार्षिक झन्डै ५ लाख ३० हजार रुपैयाँ आवश्यक पर्छ । त्यसैगरी बाघका रेखदेखमा दुई जना कर्मचारी राखिएको छ । कामदारको पारिश्रमिकका लागि वार्षिक थप दुई लाख रुपैयाँ खाँचो पर्ने उनले बताए । जंगलमा ठूलो क्षेत्रमा रमाउने बाघ अहिले खोरमा थुनिनु पर्दा झन् समस्याग्रस्त हुने चिन्ता बढेको निकुञ्जले जनाएको छ ।

वन्यजन्तु उद्धार र उपचारमा काम गर्दै आएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाङफेले यस्ता बाघका लागि खुला ठाउँको अभाव भएको बताए । सानो खोरमा बस्नुपर्दा बाघमा समस्या देखिने उनको भनाइ छ । ‘नियमित सफाइ र उपचार भएन भने पनि बाघमा समस्या देखिन्छ,’ उनले भने, ‘जंगलमा एउटा क्षेत्र ओगटेर बस्ने बाघ खोरमा सीमित हुँदा समस्या देखिने गरेका हुन् ।’ जुम्बाहाङफे प्राकृतिक बासस्थानमा फर्काउन सम्भव नहुने भएकाले खुला र व्यवस्थित उद्धार केन्द्र बनाएर राख्नुपर्ने बताउँछन् । बर्दियामा यस्ता वन्यजन्तु व्यवस्थापनको संकट बढेको भन्दै उनले थपे, ‘व्यवस्थापनका लागि सरकार र साझेदार संस्थाले बजेट बढाउनुपर्छ ।’

प्रकाशित : वैशाख १९, २०८१ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?