कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

ग्वार्कोमा फ्लाइओभर, दुई ‘सिफ्ट’ मा काम

असारभित्र बनाइसकेर साउन पहिलो सातादेखि सवारीसाधन सञ्चालनमा ल्याउने तयारी 
विमल खतिवडा

काठमाडौँ — चक्रपथको ग्वार्को खण्डमा बन्दै गरेको ‘फलाइओभर’ निर्माणमा दुई वर्षसम्म पनि उल्लेख्य प्रगति हुन नसकेपछि अब चार लेन सडक बन्द गरेर दुई सिफ्टमा काम गर्न थालिएको छ । गत फागुन १२ भित्रै ‘फलाइओभर’ निर्माण सक्नुपर्ने थियो । त्यस अवधिमा  नसकिएपछि असारभित्र सक्ने गरी म्याद थप गरेर काम तीव्र पारिएको हो । 

ग्वार्कोमा फ्लाइओभर, दुई ‘सिफ्ट’ मा काम

सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रकी साइट इन्चार्ज इन्जिनियर प्रियंका झाका अनुसार पहिलाको तुलनामा निर्माण गति बढाइएको छ । निर्माणमा दैनिक ६० भन्दा बढी कामदार परिचालन गरिएको छ । छेउछेउमा क्रंक्रिट प्यानल र विशेष प्रकृतिको ‘पोलिमर रेन्फोर्समेन्ट’ राखेर र्‍याम्प बनाउने काम भइरहेको छ । र्‍याम्प १०.२ मिटर अग्लो बन्नेछ । र्‍याम्पमा ग्राभेल मिसिएको बलौटे माटो भर्ने (फिलिङ गर्ने) काम गरिँदै छ । कोटेश्वरतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटर दूरीमा माटो फिलिङ हुँदै छ । अहिले ३० मिटरमा मात्र फिलिङको काम सकिएको इन्जिनियर झाले बताइन् ।

‘जति सक्दो छिटो माटो फिलिङको काम सकिनेछ,’ उनले भनिन्, ‘त्यही अनुपातमा निर्माण प्रगति पनि बढ्नेछ ।’ टिपरमा माटो ल्याएर फिल गर्ने काम अहिले राति मात्र भइरहेको छ । तर अब दिउँसो पनि २३ वटा टिपरमार्फत फिलिङ गर्ने कामलाई तीव्रता दिन लागिएको छ । त्यसका लागि जिल्ला प्रशासन ललितपुरसँग पास लिएर अन्य जिल्ला प्रशासन र ट्राफिक प्रहरीसँग समन्वय गर्ने काम भइरहेको उनले बताइन् ।

दुई वर्षभित्र सक्ने गरी ०७८ फागुनमा ठेक्का कार्यादेश दिइएको थियो । डिजाइन परिवर्तनलगायत कारणले तोकिएको अवधिमा काम सम्पन्न गर्न नसकिएको आयोजनाको भनाइ छ । समयमै काम नसकिँदा यो खण्ड भएर ओहोरदोहोर गर्ने यात्रुले दैनिक ट्राफिक जामको सास्ती खेप्नुपरेको छ । साँझबिहान यो खण्डमा सवारीको ताँती लाग्ने गरेको स्थानीय बताउँछन् ।

ठेक्का भएको १३ महिनामा डिजाइनमा समस्या आएपछि काम रोकिएको थियो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत यसको ठेक्का गरिएको हो । त्यसैले यसमा डिजाइनदेखि निर्माणसम्मको काम ठेक्का लिने कम्पनीले नै गर्नुपर्छ । निर्माणका क्रममा प्राविधिक समस्या देखिएपछि मुख्य काम रोकेर निर्माण व्यवसायीले ‘डिजाइन रिभाइज’ गरेका थिए ।

आशिष–समानान्तर–रेलिगेर जेभीले निर्माण ठेक्का लिएको हो । पर्याप्त निर्माण उपकरण र कामदार राखेर छिटो सक्ने गरी काम भइरहेको आशिष–समानान्तर–रेलिगेर जेभीका प्रोजेक्ट म्यानेजर कृष्णगोपाल श्रेष्ठले बताए ।

‘डिजाइन परिवर्तन र पछि काम थपिँदा तोकिएको समयभित्र सकिएन, असारसम्म म्याद थपेका छौं,’ उनले भने, ‘थपिएको समयभित्रै सक्ने गरी काम भइरहेको छ ।’ अहिले आशापुरी, रोशी, दोलालघाट, टीकाभैरवबाट बलौटे माटो ल्याएर पहुँच सडकमा भरिएको छ । ‘अन्य निर्माण सामग्रीको समस्या छैन,’ उनले भने, ‘दिउँसो पनि माटो ल्याएर काम गर्न पाए छिटो सकिने थियो ।’

सडक विभागकी साइट इन्चार्ज झाका अनुसार र्‍याम्पमा ६० हजार घनमिटर अर्थात अब ८ हजार टिपर ‘मेटेरियल’ आवश्यक छ । फ्लाइओभरका ६ वटा पिलर निर्माण सकिएको छ । रिभाइज डिजाइन सडक विभागले ०८० भदौ १० मा मात्र स्वीकृत गरेको थियो, जुन डिजाइनमा १.२ मिटर व्यास र ३० मिटर लम्बाइका दुवै साइडमा १२/१२ वटा पिलर निर्माण गरिने उल्लेख भएसँगै काम अघि बढाइएको थियो ।

सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यले चार लेन सडकको बीच खण्डमा ३५ मिटर लामो चार लेनकै फ्लाइओभर बन्ने बताए । आवतजावतको संरचनासहित ५ सय ४० मिटर लामो फ्लाइओभरको १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो । ‘फ्लाइओभरमा राख्ने पुलका ७ वटा बिम बनाइसकिएको छ, त्यसलाई भारतबाट क्रेन ल्याएर माथि राखी फिट गरिनेछ,’ उनले भने, ‘त्यसका लागि भारतीय सीमावर्ती क्षेत्रमा क्रेन आइसकेको छ, भैरहवा हुँदै १० दिनभित्र काठमाडौं आएपछि बिमलाई राखिनेछ ।’ यो काम क्रेन आएपछि १० दिनभित्र सकिने उनको दाबी छ ।

‘असार अन्तिमसम्म सबै काम सकिनेछ,’ शाक्यले भने, ‘सवारीसाधन भने साउन पहिलो साताबाट सञ्चालनमा ल्याउने योजना छ ।’ नेपाल सरकारको लगानीमा नेपाली निर्माण व्यवसायीले मात्र निर्माण गरेको फ्लाइओभर यो पहिलो रहेको शाक्यको दाबी छ ।

‘सम्झौतामा उल्लेख भएअनुसार जिम्मेवारी पूरा गर्न नसकेको खण्डमा म्याद थप हुन्छ,’ उनले भने, ‘तर सम्झौतामा भएभन्दा बढी काम गरायौं, त्यसका लागि छुट्टै रकम र समय दिनुपर्ने हुन्छ ।’ सुरु डिजाइनमा र्‍याम्पको दुई मिटरसम्म पिलरको काम गर्ने उल्लेख भए पनि जमिनमुनिको कुरा नभएको शाक्यको भनाइ छ ।

‘फाउन्डेसन इम्प्रुभमेन्ट टेक्निकको काम निर्माण व्यवसायीले दुई मिटरसम्म गर्ने डिजाइनमा थियो,’ शाक्यले भने, ‘त्योभन्दा बढी थिएन, हामीले थप १० मिटर जमिनमुनिसम्म भारवहन क्षमता अभिवृद्धि गर्ने गरी काम गराएका छौं ।’ त्यसरी ४ हजार १ सय २ वटा पिलर निर्माण गरिएको उनको भनाइ छ । यसमा निर्माण व्यवसायीले घाटा सहेर काम गरे पनि थप रकम भने नदिने भनिएको उनले सुनाए ।



प्रकाशित : चैत्र २२, २०८० ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×