कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नेपाली कथाका ‘काफ्का’

दीपक सापकोटा

काठमाडौँ — ‘म कहाँबाट आएँ, कति यहाँ बस्छु र अब कता जान्छु ? म कुन उज्यालोमा जान्छु ? या म कुन अन्धकारमा हराउँछु ?,’ बाँच्नुलाई भ्रम मान्ने कथा ‘उत्तरार्द्ध’ का प्रस्तुत पंक्तिले भने जस्तै यसका आख्यानकार परशु प्रधानले पनि जीवनको एउटा ‘भ्रम’ लाई तोडेका छन् । सोमबार उनी ८० वर्षदेखिको जीवनको उज्यालोबाट अन्धकारमा विलीन भएका छन् । एक अन्तर्वार्तामा उनले भनेका थिए– ‘उत्तरार्द्ध’ कथाको पात्र म आफैं हुुँ । ६० वर्षको हुँदा लेखेको हुँ त्यो कथा । आफैं रोएँ त्यो पढेर ।

नेपाली कथाका ‘काफ्का’

कथामार्फत अनिश्चत जीवन–बोध गरिरहने परशुका आख्यानकार, निबन्धकार, समीक्षक, समालोचक आदि पनि थप चिनारी हुन् । तर, उनको साम्राज्यचाहिँ कथा–साहित्यमै छ । प्रोस्टेटको शल्यक्रियापछि लेखनमा केही कमी अवश्य आएको थियो, तर उनमा ज्ञानको भोक कति थियो भने जीवनका अन्तिम दिनहरूमा पनि बानेश्वरस्थित निवासमा किताब पढ्न छाडेनन् ।

‘कथा र रचनागर्भ’ मा परशुको एउटा असरदार कथा छ– ‘चेष्टा ! चेष्टा !! चेष्टा !!!’ । कथाले फ्रान्ज काफ्काको ‘मेटामर्फोसिस’ सम्झना गराउँछ । काफ्काले ‘मान्छे किरामा फेरिएको’ कथा लेखे, परशुले चाहिँ ‘मान्छेको लिङ्ग परिवर्तन’ भएको । उनलाई फेन्टासीमा किन त्यत्रो मोह ? समालोचक नेत्र एटमलाई परशुले भनेका रहेछन्, ‘मैले फेन्टासी प्रयोग गरें, जीवनको यथार्थ देखाउन सकियोस् भन्ने चाहनाले ।’

फेन्टासी मात्रै होइन, यर्थाथका जीवन र दुःखका कथा पनि लेखेका छन् उनले । परशुको सर्वाधिक चर्चित कथा हो– ‘छिँडीभरिको आकाश’ । कथामा खाना कुरिरहेको भोको छोरालाई आमाले लोहोरो पकाएर आश्वस्त तुल्याएको दृश्यले पाठक मर्माहत हुन्छ । परशुका ‘वक्ररेखा’, ‘फेरि आक्रमण’, ‘यौटा अर्को दन्त्यकथा’, ‘असम्बद्ध’, ‘समुद्रमा अस्ताउने सूर्य’, ‘परशु प्रधानका प्रतिनिधि कथा’, ‘यौटा क्रान्तिपुरुषको जन्म’, ‘उत्तरार्द्ध’ लगायत कथासंग्रह, ‘सीताहरू’, ‘घर’ कथोपन्यास प्रकाशित छन् । २९ संस्करणसम्म ‘सामान्य ज्ञान’ डाइजेस्ट र ‘नानीको कथा’, ‘सुनको छाती’, ‘रीताको स्कूल’ लगायत बालकथा–संग्रह पनि छन् ।

नेत्र एटमको किताब ‘सीमान्त आकाश स्रष्टासितको अन्तर्यात्रा’ (२०६२) मा परशुले समकालीन कथाबारे गम्भीर टिप्पणी गरेका थिए, ‘अहिलेको कथा किचेनबाट सुरु हुन्छ, डाइनिङ रुममा विकास हुन्छ र बेडरुममा गएर अन्त्य हुन्छ ।’ उनको अर्को चर्चित कथा छ– ‘आखिर म तेरो लोग्ने हुँ निर्मला !’ त्यो कथामाथि टेलिफिल्म पनि बनेको थियो– ‘निर्मला’ । त्यसको पटकथा/संवाद लेखेका थिए, कथाकार अविनाश श्रेष्ठले । श्रीमान–श्रीमतीको द्वन्द्वमाथि बनेको, नेपाल टेलिभिजनबाट थुप्रैपटक प्रसारण भएको ‘निर्मला’ को मुख्य कलाकार थिए– लक्ष्मी श्रेष्ठ र ओम गुरुङ । अविनाशको विचारमा परशु नेपालका निकै ठूला कथाकार हुन् । भन्छन्, ‘आफ्ना कथाहरूमा उहाँले धेरै स्वैरकाल्पनिक प्रयोग गर्नुभएको छ– एकदम फरक किसिमको । उहाँको कथाको भाषै फरक, तर हुनुपर्ने जति चर्चा पाउनुभएन उहाँले ।’

परशु प्रधानको परिवारलाई उनको जन्मथलो भोजपुरले ‘हुलाकी सन्तान’ को नामले चिन्छ । उनका हजुरबा मुखिया कृष्णबहादुर श्रेष्ठ भोजपुर हुलाक कार्यालयका प्रमुख (मुखिया) थिए । परशुका भाइ कवि/लेखक शैलेन्द्र साकार भन्छन्, ‘मैले सानैमा सुनेको– हजुरबा कृष्णबहादुरका पिता अर्थात् मेरा जिजुबाजे पनि हुलाकमै प्रमुख हुनुहुन्थ्यो ।’ पुस्ता नै हुलाकमा लगातार प्रमुख भएर जागिर खाएकाले जिल्लाभरि उनीहरू ‘हुलाकी सन्तान’ भए । ‘हाम्रो घरमै हुलाक कार्यालय थियो । भुइँतलामा प्रत्येक दिन हुलाकीहरूले चिठी, पत्रपत्रिका, पुस्तकहरू ल्याएर थुपारेका हुन्थे । हामी दाजुभाइ (परशु र म) बेवारिसे चिठी च्यातेर फालिदिन्थ्यौं,’ साकारले आफ्नो संस्मरण–किताब ‘भोजपुरे हुलाकीको सन्तान’ मा लेखेका छन् ।

यसरी सानैदेखि पुस्तकसँग नजिकको नाता गाँसियो परशुको । र, उनले बाजेहरूको पथ पछ्याएनन्, लेखक भए । २०१८/२०१९ सालतिर परशु कथामा आकर्षित भए, त्यसअघि कविता लेख्थे । क्याम्पसको जाँच दिन काठमाडौं आएका बेला दौलतविक्रम विष्ट, रमेश विकल, वासु शशीसँगको संगतले उनी कथातिर तानिए । ‘रूपरेखा’ का बालमुकुन्ददेव पाण्डेकहाँ पुगे कथा लिएर । २०१९ वैशाखको कथा विशेषांकमा उनको पहिलो कथा छापियो, ‘मेरो कोठाको आँखाबाट’ शीर्षकको । त्यसपछि उत्साहित भएका उनले जीवनैभरि कथा लेखिरहे ।

साकारको सम्झनामा परशु सानैदेखि निकै प्रतिभाशाली थिए । ‘सधैं कक्षामा प्रथम हुन्थे । पूरै अंग्रेजी पुस्तक कण्ठ गर्थे । साहित्य प्रतियोगितामा पुरस्कृत हुन्थे, तक्मा र पुस्तकहरू बोकेर घर आउँथे,’ साकार भन्छन् । परशुलाई नेपाली साहित्यमा यौन मनोविश्लेषणका कथा लेख्ने जश पनि दिइन्छ । यौनलाई साहित्यमा राख्दा के सावधानी अपनाउनुपर्ला ? यो कलाबारे परशुले भनेका छन्, ‘यौन त सबैले थाहा पाएकै कुरो हो, तर त्यसलाई लुगाले छोप्नुपर्छ— त्यही हो कला ।’ तर, आख्यानकार नारायण ढकाल परशुलाई ‘यौन’ होइन, ‘प्रेम–कथाकार’ भन्छन् । ‘प्रेमको कथा निकै सुन्दर ढंगले लेख्नुहुन्थ्यो । उहाँ नेपाली कथाका ठूला स्तम्भ हुनुहुन्छ,’ ढकाल भन्छन्, ‘म कथा के होला भनेर जिज्ञासु हुँदै गर्दा उहाँ नेपाली कथा–साहित्यमा स्थापित भइसक्नुभएको थियो । उहाँलाई पढेरै म कथा लेख्न प्रेरित भएको हुँ ।’

परशु भन्थे– ‘लेखक हुन जिनमै लिएर आएको हुनुपर्छ । नत्र मिहिनेत गरेर मात्र हुँदैन— प्रतिभा नभई ।’ उनी लेख्नुलाई फूल फुल्नुसँग तुलना गर्थे । आफ्नो लेखनमा ‘शंकर लामिछाने, दौलतविक्रम विष्ट र गोठालेको प्रभाव छ’ भन्थे ।

परशुको उपन्यास ‘सबै बिर्सिएका अनुहारहरू’ (२०२४) को ‘चेतना प्रवाह’ विषयमा विद्यावारिधि गरेका नेत्र एटमलाई उनका कथामध्ये ‘डल्ले खोला’ र ‘छिँडीभरिको आकाश’ विशिष्ट लाग्छ । ‘उहाँ सशक्त आलोचनात्मक यथार्थवादी कथाकार हुनुहुन्छ,’ नेत्र भन्छन् ।

समीक्षक राजकुमार बानियाँको बुझाइ छ– परशु नेपाली साहित्यका ‘काफ्का’ हुन् । उनले परशुमाथि लामो प्रोफाइल लेखेका थिए– ‘काठमान्डूमा लिटिल काफ्का’ ।

परशुको अर्को एक कथा छ– ‘टोकियोमा सानो बुद्ध’ । जापानी युवतीसँग टोकियो पुगेको पाल्देनको अति निरर्थक र पीडादायी जीवनको सूक्ष्म वर्णन छ कथामा । ‘नेपाली साहित्यको यशस्वी कथाकार हुन् उनी । धेरै कथा लेखेर पनि आफ्नो गुणस्तर कायम राखेका छन् । त्यसैले मलाई उनी नेपाली साहित्यको काफ्का लाग्छन्,’ बानियाँ भन्छन्, ‘नेपालमा रचनागर्भ लेख्ने सुरुवात उनैले गरे । जुन पत्रिकामा उनको कथा छापिन्थ्यो, त्यसैमा त्यसको कथा–गर्भ पनि छापिन्थ्यो ।’ बानियाँको विचारमा नेपाली कथाको १० उत्कृष्ट कथाकारको सूची बनाए परशु त्यो सूचीको हकदार छन् ।

प्रकाशित : चैत्र ७, २०८० ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×