२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

मन्त्री हेरफेरको छिनोफानो आइतबार

प्रतिपक्षको विवादित मन्त्रीको राजीनामा मागबारे प्रधानमन्त्री दाहालले सोमबार संसदमा जवाफ दिने
गंगा बीसी

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री हेरफेर छिनोफानो आइतबार गर्ने भएका छन् । गठबन्धनको प्रमुख दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग मन्त्री हेरफेर छिनोफानो गर्न आइतबार छलफल गर्ने तयारी गरेका छन् ।

मन्त्री हेरफेरको छिनोफानो आइतबार

प्रधानमन्त्री दाहालले देउवाका अडानका कारण अर्थ, उद्योग र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको अडानका कारण भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई फेर्न सकेका छैनन्। कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्तिसहित आधा दर्जन मन्त्रीको कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै दोस्रो साता मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका थिए । देउवा र नेपालको अडानका कारण प्रधानमन्त्रीले हेरफेर गर्न सकेका थिएनन् ।

दाहाल मन्त्री हेरफेरबारे आइतबार देउवा, नेपाललगायत गठबन्धन दलका नेतासँग छिनाफानो गर्ने गरी छलफल गर्ने तयारीमा रहेको निकट स्रोतको भनाइ छ । ‘प्रधानमन्त्री आइतबार मन्त्री हेरफेरबारे छिनोफानो गर्न गठबन्धनका प्रमुख नेतासँग सामूहिक र एक्लाएक्लै छलफल गर्नुहुनेछ’ बालुवाटार स्रोतले भन्यो, ‘मन्त्रीको पूरै हेरफेर गर्दा राम्रो हुने प्रधानमन्त्रीले गठबन्धनमा प्रस्ताव गर्ने तयारी गर्नुभएको छ ।’ दाहालले प्रतिपक्षले उठाएका प्रश्नको जवाफ सोमबार संसदमा दिनुअघि मन्त्री हेरफेरको टुंगो लगाउने तयारी गरेका हुन् ।

देउवाले आफ्नो दलले दुई वर्षका लागि मन्त्री पठाएको भन्दै हेरफेर गर्न मानेका छैनन् । उनको अडानले दाहालको मन्त्री फेर्ने चाहनामा ब्रेक लागेको थियो । सरकारले ललितपुरको बालकुमारी घटनामा प्रहरीको गाली र कुटाइबाट दुई युवा मारिएपछि बनाएको आयोगले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई दोषी देखाएको थियो । समितिको सुझावका आधारमा प्रधानमन्त्री दाहालले मन्त्री ज्वालालाई हटाउन चाहेका थिए ।

प्रमुख प्रतिपक्ष एमालेले सरकारका विवादित मन्त्री ज्वाला, टेरामक्स उपकरण खरिदमा मुछिएका पूर्व सञ्चारमन्त्री, हाल स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई हटाउन संसदमा माग गर्दै आएको छ । प्रतिपक्षले उठाएका प्रश्नबारे दाहालले सोमबार संसदमा जवाफ दिंदैछन् । विवादित मन्त्रीका कारण सरकार थप बदनाम हुने भन्दै आइतबार मन्त्री फेर्न गठबन्धनसँग छलफल गर्न लागेका हुन् ।

बालकुमारी घटनामा विवादमा आइसकेपछि मन्त्रीले स्वच्छाले राजीनामा दिन उपयुक्त हुने संकेत दाहालले मन्त्री ज्वालालाई दिएका थिए । तर उनको दल एकीकृत समाजवादीले तत्काल राजीनामा नदिन भनेको छ । बालकुमारी घटनामा आयोगले दिएको प्रतिवेदन अध्ययन समितिले विवादित भइसकेपछि पद छाड्नु उचित हुने सुझाव प्रधानमन्त्रीलाई दिन लागेको स्रोतको भनाइ छ ।

प्रकाशित : फाल्गुन १९, २०८० २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?