कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सरकारलाई सभामुखको रुलिङ : सांसदका प्रश्नको जवाफ फागुन २१ गतेको बैठकमा दिनू

काठमाडौँ — सभामुखको देवराज घिमिरेले संसद् बैठकमा सांसदहरूले उठाएका विभिन्न समसामयिक विषयहरूको जवाफ आगामी फागुन २१ गते बस्ने बैठकमा दिन सरकारलाई रुलिङ गरेका छन् । 

सरकारलाई सभामुखको रुलिङ : सांसदका प्रश्नको जवाफ फागुन २१ गतेको बैठकमा दिनू

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा पनि प्रतिपक्ष दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीले बालकुमारी घटनामा दोषी करार मन्त्रीको राजीनामा नआएको र प्रधानमन्त्रीले पनि संसद्‍मा आएर कुनै जवाफ नदिएको भन्दै बैठक अवरोधको प्रयास गरेका थिए ।

त्यस्तै मिटरब्याज, लघुवित्त र सहकारी पीडितहरुको समस्या समाधानमा जिम्मेवार नभएको, रुसी सेनामा नेपाली भर्ती भएको विषय लगायतमा प्रतिपक्ष दलहरूले पटक-पटक सरकारलाई प्रश्न सोधेपनि उत्तर नपाएको भन्दै आन्दोलन जारी रहेको बताएका थिए । लगत्तै सभामुख घिमिरेले आफूले यस अघिको बैठकमा पनि सरकारलाई बैठकमा उपस्थित भएर जवाफ दिन निर्देशन दिइसकेको बताए । उनले सभाको फागुन २१ गते बस्ने बैठकमा समसामयिक विषयहरुको सन्दर्भमा जवाफ दिन सरकारलाई रुलिङ गरे ।

‘माननीय सदस्यहरुले उठाउनुभएको विषयका सम्बन्धमा यस अघिका बैठकहरुमा सरकारलाई बैठकमा उपस्थित भइ जवाफ दिन स्पष्ट निर्देशन दिइसकिएको व्यहोरा म जानकारी गराउँदछु । म यसलाई फेरि भन्दछु, माननीय सदस्यहरुले उठाउनुभएको विषयको सम्बन्धमा यस अघिका बैठकहरुमा सरकारलाई बैठकमा उपस्थित भई जवाफ दिन स्पष्ट निर्देशन गरिसकेको व्यहोरा जानकारी गराउँछु । माननीय सदस्यहरुले आजको बैठकमा पनि विभिन्न विषयका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै जवाफको माग गर्नुभएको छ, आज र यसअघि उठेका विषयहरुमा सभाको मिति २०८० साल फागुन २१ गते बस्ने बैठकमा उपस्थित भइ जवाफ दिन नेपाल सरकारलाई म निर्देश गर्दछु,’ सभामुखले भने । सभामुखको रुलिङसँगै प्रतिनिधिसभाको बैठक सहज रूपमा चलिरहेको छ ।

प्रकाशित : फाल्गुन १८, २०८० १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×