कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अपांगता भएका महिलाहरुको राष्ट्रिय सम्मेलन काठमाडौंमा

विद्या राई

काठमाडौँ — बाराको आदर्श कोतवाल गाउँपालिकाकी २४ वर्षीया सीमा गुप्ता स्नातक दोस्रो वर्ष अध्ययनरत छिन् । उनी चार वर्षको हुँदा पोलियो लागेको थियो । पोलियो भएदेखि दुवै खुट्टाले राम्ररी टेक्दैनन् । कलेज जाँदा दुवै खुट्टामा क्यालिफर (अपांगता भएका व्यक्तिले प्रयोग गर्ने सहायक सामाग्री) लगाएर जान्छिन् । लेखपढ गरेपछि जागिरको अवसर पाइन्छ भन्ने आशा बोकेकी छन् । 

अपांगता भएका महिलाहरुको राष्ट्रिय सम्मेलन काठमाडौंमा

अचेल कम्प्युटर ज्ञान र सीप अनिवार्य जस्तै भएको छ । उनले कम्प्युटरमा लेखा राख्ने तालिम लिएकी छन् । तालिममा सिकेका कुरा अभ्यास गर्न र नयाँ प्रयोगहरु गर्न उनलाई ल्यापटप/कम्प्युटर चाहिएको छ । तर, मजदुरी गरेर जीविका चलाउने बाआमा र दाजुहरुले उनलाई ल्यापटप/कम्प्युटर किन्ने खर्च गर्न सक्दैनन् । उनका दाजु अटो चलाउँथे । घर खर्च टार्न अलि सहज थियो ।

सुगर, प्रेसर भएर दाजुले अटो चलाउन नसक्ने भएपछि मजदुरी गरेर १० जनाको परिवारको गुजारा चलाउँदै आएका छन् । क्यालिफर लगाएर हिडिरहन पनि खुट्टामा दुखाइ हुन्छ । उनलाई लाग्छ, ‘अपांगता भएका व्यक्तिलाई प्रयोग गर्न सजिलो हुने स्कुटर चढ्न पाए सहयोगी बिनै आवतजावत गर्न सकिन्थ्यो, कामका अवसरहरु पाइ पो हाथ्यो कि !’

उनको कम्प्युटर र स्कुटर सपना पुरा गर्न परिवारबाट सम्भव नहुने भएपछि उनले आदर्श कोतवाल गाउँपालिकामा सहयोग माग गरिन् । दुई वर्षयता मात्रै तीन वटा निवेदन पेश गरिसकेकी छन् । यसबारे गाउँपालिकाले सुनुवाई नगरेको बताइन् ।

‘ल्यापटप अथवा अपांगताले प्रयोग गर्ने स्कुटर सहयोग गरिदिनु भनेर सहयोग माग्न थालेको दुई वर्षदेखिको हो,’ काठमाडौंमा भेट भएकी सीमाले भनिन्, ‘थप पढ्नलेख्न सजिलो हुन्छ, कलेज जान आउन सजिलो हुन्छ भनेर मागेको, सहयोग गरिरहनु भएको छैन ।’

उनी काठमाडौंमा सुरु भएको अपांगता भएका महिला र केटीहरुको पहिलो राष्ट्रिय सम्मेलनमा भाग लिन आएकी छन् । काठमाडौंसम्म आउनका लागि आयोजकले एकजना सहयोगी पनि पठाइदिएको छ । तर, यो अवसर उनलाई सधैं आइरहदैन । आफैँले सहयोगी राख्न सक्दिनन् ।

‘मलाइ पनि तिमिसंगै गणना गर : मेरो आवाजले अर्थ राख्छ’ भन्ने मुल नारा सहित शुक्रबारदेखि आइतबारसम्म चल्ने तीन दिने राष्ट्रिय सम्मेलनले बाराकी सीमाजस्तै अपांगता भएका महिला र केटीहरुको विविधता, समावेशीता, अर्थपूर्ण सहभागीताका सवालहरुमा छलफल र बहस हुनेछ ।

०६२/६३ को जनआन्दोलनले स्थापित गरेको समावेशिताको मुद्दालाई समग्रतामा हेरिएकाले विस्तारै कमजोर बन्दै गएको हुँदा संगठित भएर आवाज बुलन्द गर्ने मञ्चको रुपमा सम्मेलन आयोजना गरिएको आयोजक दलित महिला संघ (फेडो) की अध्यक्ष कला स्वर्णकारले बताइन् ।

‘महिला भित्र पनि अपांगता भएका, अपांगता भएका दलित, सिमान्तकृत, यौनिक तथा लैगिंक अल्पसंख्यकहरु हुनुहुन्छ,’ शुक्रबार उद्घाटन समारोहमा बोल्दै उनले भनिन्, ‘यो तीन दिने सम्मेलनले कसरी मुलप्रवाहिकरण गर्ने गराउने निचोड निकालेर काठमाडौँ घोषणापत्र ल्याउनेछौं ।’ कोही पनि छुट्नुहुदैन भन्ने समावेशिताको मर्मलाई बलियो गरी स्थापित गर्न सरोकारवाहरु सबै संगठित भएर दबाब सिर्जना गर्नुपर्ने बताइन् ।

महिला र अपांगताको क्षेत्रमा काम गर्दै आएका दलित महिला संघ (फेडो), राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल, नेत्रहीन महिला संघ नेपाल, एक्सेस प्लानेट नेपाल र पहिचान नेपालको संयुक्त आयोजना गरेका छन् । कार्यक्रममा सातै प्रदेशबाट प्रतिनिधिमुलक अपांगता भएका महिला र यस क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरु ९० जना सहभागी छन् ।

प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले अपांगता भएका महिलाहरुलाई न्याय र विकासको पहुँचमा पुर्‍याउन संसदिय भुमिका खेल्ने आश्वासन दिइन् । राष्ट्रिय सभा सदस्य पदम परियारले अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले दुरदराजमा पुग्नुपर्ने सुझाए । ‘यस्ता कार्यक्रमहरु भन्दा दुरदराजमा मान्छेलाई स-साना सहयोग गरेर दुखबाट उठ्न सहयोग गर्नुस्, कार्यक्रमहरु गाउँमा लगेर जाऔं,’ रानामगरले भनिन् ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले हिंसा प्रभावितहरु न्यायको ढोका ढक्ढक्याउन नजिकको निकाय स्थानीय तहका न्यायीक समितिहरु भएपनि उत्तरदायी काम गर्न आवश्यक रहेको बताइन् । प्रभावकारी लैंगिक उत्तरदायी कार्यक्रमहरु स्थानीय तहमा पुर्‍याउन सरकारलाई सिफारिस गर्दा पनि सुनुवाई नभएको बताइन् ।

‘न्यायिक समितिहरुले हिंसा र दुर्व्यवहार लक्षित कार्यक्रमहरु गर्नुस्, हिंसामा परिसकेकालाई उद्धार र कानुनी उपचारमा गर्नुस् भनेर खबरदारी गरिरहेका छौं, सरकारलाई सिफारिस पठाइरहेका छौं, कार्यान्वयन भैरहेका छैनन्,’ अध्यक्ष पराजुलीले भनिन् ।

प्रकाशित : फाल्गुन १८, २०८० १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×