कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भतिजलाई समाज कल्याण परिषद्को उपाध्यक्ष बनाउन राष्ट्रपतिको दबाब

विद्या राई

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले आफ्ना भतिजलाई समाज कल्याण परिषद्को उपाध्यक्ष बनाउन दबाब दिएका छन् । राष्ट्रपति पौडेलका भतिज अनिलराज पौडेलले गत माघ २६ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्रीलाई सम्बोधन गर्दै ‘नियुक्ति दिलाई पाउँ’ भन्दै निवेदन दिएका थिए ।

भतिजलाई समाज कल्याण परिषद्को उपाध्यक्ष बनाउन राष्ट्रपतिको दबाब

‘समाज कल्याण परिषद्मा उपाध्यक्ष पद रिक्त रहेको बुझिन आएको हुँदा सो पदको लागि मेरो योग्यता रहेकाले नियुक्ति दिलाई सेवा गर्ने अवसर प्रदान गरिदिनुहुन माननीय मन्त्रीज्यु समक्ष विनम्र अनुरोध गर्दछु,’ अनिलराजले निवेदनमा लेखेका छन् ।

महिला मन्त्री सुरेन्द्रराज आचार्यले माघ २९ मा ‘प्रक्रिया अघि बढाउन’ सचिवलाई तोक लगाएका छन् । समाज कल्याण परिषद् ऐन अनुसार पदाधिकारीका लागि न्यूनतम योग्यता नपुग्ने भतिजलाई नियुक्ति दिन राष्ट्रपतिकै दबाबमा महिला मन्त्री आचार्यले सम्पुर्ण प्रक्रिया पूरा गरेको मन्त्रालय स्थित स्रोतले जानकारी दिएको छ ।

‘मन्त्री ज्युले नियुक्तिको निर्णयका लागि भोली (सोमबार)को मन्त्रिपरिषदमा लैजाने तयारी गर्नुभएको छ,’ स्रोतले भने । यता मन्त्री आचार्यले नियुक्ति प्रक्रिया सुरु हुने तर सोमबार आफु मन्त्रीपरिषद् बैठकमा नहुने बताए । उनले भने, ‘ नियुक्ति गर्ने प्रक्रिया सुरु हुन्छ, भोली नै त म बाहिर जानुछ, भोलिको क्याबिनेटमा म हुन्न ।’ उनले राष्ट्रपतिका भतिजको निवेदन परेको स्वीकारे ।

‘अरु दुईतीनजनाको निवेदन आएको छ,’ मन्त्री आचार्यले राष्ट्रपतिका भतिज भएका कारण नियुक्ति दिन लागेको कुरालाई भने अस्वीकार गर्दै कान्तिपुरसित भने, ‘यसको, उसको भन्दा पनि क्षमता, योग्यता भएकालाई नियुक्ति दिने हो, अरु त्यस्तो केही होइन, मैले आफ्ना नातेदार, आफ्ना जिल्लाका पनि राख्थे हुँला त्यस्तो केही होइन ।’

अमेरिकाको पिआर (स्थायी बसोबास अनुमति) धारी तत्कालिन उपाध्यक्ष मोनिका भट्टराईले एक महिनाअघि परिषद्बाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो । भट्टराई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी पुर्व मन्त्री उमा रेग्मीकी बुहारी हुन् । रेग्मी मन्त्री हुँदा आफ्नी बुहारीलाई नियुक्ति दिएकी थिइन् ।

नियुक्ति पछि पुर्वमन्त्री बुहारी भट्टराई पिआरधारी भएको भन्दै उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महिला मन्त्रालयमा उजुरी परेको थियो । त्यसपछि विवादित बनेकी भट्टराईले राजीनामा दिएकी थिइन् । उनको राजीनामा पछि राष्ट्रपति पौडेलले आफ्ना भतिजलाई उपाध्यक्षमा नियुक्ति गर्न दबाब दिएका हुन् ।

समाज कल्याण परिषद् ऐन अनुसार पदाधिकारीका बन्न समाजसेवी हुनुपर्ने लगायतका योग्यता तोकिएका छन् । ऐनमा यी कुरा प्रष्ट लेखिएको छैन । समाज कल्याण परिषद्का एक स्रोतले भने, ‘स्नातक तह उत्तीर्ण गरेर सामाजिक क्षेत्रमा कम्तिमा १० वर्ष विशिष्ट योगदान पुर्‍याएको कार्यअनुभव हुनुपर्ने योग्यता तोकिएको छ, ०७३ सालमा मन्त्रिपरिषद्बाट यस्तै पास भएको रहेछ ।’

स्नातक तह (व्यवस्थापन) तृतीय श्रेणी उत्तीर्ण गरेका अनिलराज सहकारी विकास बोर्डमा लेखापाल थिए । उनले हालसालै जागिरबाट स्वेच्छिक अवकाश लिएको स्रोतले बताएको छ । न्युनतम योग्यता समेत नपुगने निवेदकलाई नियुक्ति गर्न महिला मन्त्रालयका कर्मचारीलाई समेत राष्ट्रपतिबाट दबाब आइरहेको बताए ।

‘राष्ट्रपतिको कोटामा मन्त्री बनेका नाताले भान्जा पर्ने महिला मन्त्रीले राष्ट्रपतिका आफ्नै भतिजलाई उपाध्यक्ष बनाएर गुण तिर्न लागि परेका छन्,’ श्रोतले भन्यो । समाज कल्यण परिषद्का उपाध्यक्षको सेवा सुविधा राज्यमन्त्री सरहको हुने भएकाले राजनीतिक दलका नेताका आफन्त र कार्यकर्ताले सो पदमा नियुक्ति हुन मरिहत्ते गर्ने गरेका छन् ।

उपाध्यक्षको पदावधि चार बर्षको हुन्छ । ‘परिषद्मा उपाध्यक्ष सेरिमोनियल हो, यहाँ आउन किन मरिहत्ते गर्छन्, यसमा थप बोल्न चाहान्न,’ समाज कल्याण परिषद् स्रोतले भन्यो ।

प्रकाशित : फाल्गुन १३, २०८० २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?