कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

‘अब त आफैँ बेचिनुबाहेक अरू केही छैन'

लघुवित्तको ऋणबाट प्रभावितहरू न्याय खोज्दै राजधानी काठमाडौं आएर न्यायको माग गरिररहेका छन् । उनीहरूले ऋण मिनाहा गर्नुपर्ने लगायतका माग राखेका छन् ।
मधु शाही

काठमाडौँ — कोटको टाँक चुँड्यो । चिसो हावाले छाती समाएपछि पर्साका ८० वर्षे किसुन रामले कोट जोड्ने जुक्ति निकाले । गोजीबाट खिप निकालेर टाँक जोडे झैं लुगा सिलाए । हावा त छेकिएन, उनीलाई भने केही न्यानो भएको भान भयो ‘फाटेको लुगा त खिपले अडाए, मनभरी पीर केले सिलाउँ ?’ आँखाबाट खसेका थोपा पुछ्दै किसुनले यसैगरी कयौं दिन रात बिताएका छन् । 

‘अब त आफैँ बेचिनुबाहेक अरू केही छैन'

सिफलचौरमा जम्मा भएका लघुवित्तका पीडितहरुको भीडमा भेटिएका उनी ऋण भारले पिल्सिएको घाउमा मलम खोज्दै काठमाडौं आइपुगेका हुन् । कहिल्यै घर दैलो नछोडेका किसुन न्यायको खोजीमा पहिलोपटक काठमाडौं आएका हुन् ।

ऋणको पिरले काठमाडौं आइपुगेपनि उनलाइ अहिले त्यो भन्दा बढी पीडा सिकिस्त बिरामी परेर अस्पतालका रहेकी बुहारीको अवस्थामाथि पनि छ । बैंकबाट लिएको ऋणको ब्याज दोब्बर तेब्बर भएपछि छोरा भाग्दै हिंड्न थाले । घर कुरेकी बुहारीलाई दिनानुदिन बैंकको कर्मचारी आउदै मानसिक यातना दिन थाले । ‘ऋण तिर्न सक्दिन’, भन्दा बुहारीले कर्मचारीले ‘मरेपछि मात्रै ऋण चुक्ता हुन्छ’ भन्ने तितो जवाफ पाइन् । त्यो दिन किसुनकी बुहारी आत्महत्या गर्न डोरीमा झुन्डिइन्न तर, सबै गाउँलेले मिलेर उनलाई बचाए ।

किसनु राम

किसुनका अनुसार बुहारीको अवस्था देखेर बुढो ज्यान छट्पटिरहन्छ । ‘काम गर्ने ताकत हरायो’, उनी भन्छन्,‘परिवारको स्थिति हेर्दा के गरुँ कसो गरुँ हुन्छ ।’ उनी थरथराउदो शरिर घिर्सार्दै ऋणमुक्त हुने सपना बोकेर भीड सँगै काठमाडौं आएका हुन् । ‘यो बुढो ज्यान गए जाला’, उनी भन्छन्,‘तर, ऋण बोकेर मर्न मन छैन ।’

त्यस्तै, आन्दोलनमा आएकी पर्साकी ७६ वर्षिया फूलमतिदेवी गोढिनले लघुवित्त बैंकको ऋणको चक्रव्युहमा पसेर एक बिधा पुर्ख्यौली जमिन गुमाइन् । अन्नबाली उत्पादन हुने जमिन नै नरहेपछि उनको घरमा भोकमरी छाएको छ । बाँकी भएको घर समेत लिलामी हुने अवस्था आएको उनी बताउँछिन् । दुई छोरा बेरोजगार छन् । उनले पाउने वृद्धभत्ता समेत बैंकको ब्याज बुझाउँदै ठिक्क हुन्छ ।

फूलमती देवी

फूलमती देवीले काठमाडौं भन्ने शब्द गाउँमै सुनेकी थिइन् । ‘बडा सहर’ हो भन्ने बुझेकी मात्रै थिइन् । पहिलो पटक ठूलो सहर काठमाडौंमा खाली खुट्टा आउदाको क्षण उनको जीवनकै दु:खदायी अनुभूति छ । पशुपतिनाथको छेउमै बसेकी उनको दु:ख मेटिएर खुसी छिट्टै आउने झिनो आशा छ । त्यसैले पशुपतिनाथको मन्दिरतिर फेर्कर पुकारा गर्छिन् । भन्छिन्,‘हे नाथ दु:ख पार लाइदेउ ।’ तर, उनको त्यो निर्दोष चित्कार पशुपतिनाथले भन्दा पनि सरकारले सुन्नु पर्ने हो भन्ने उनी स्वयंलाई थाहा छैन । यद्यपी लट्ठीको साहारामा आन्दोलनमा हिँडिरहेकी छन् ।

सुर्खेत, छिन्छु–१० का ७३ वर्षे अमरबहादुर मगरको जवानी भारतमै बित्यो । त्यहि मजदुरी गरेर ७ जना सन्तान बिना ऋण हुर्काए । बुढ्यौलीमा मुक्त भएर जिउने उनको सपना ठीक उल्टो भयो । नाती मिर्गौला खराब भएपछि उपचारको लागि ५ लाख रुपैयाँ बैंकबाट ऋण ल्याएका उनले ६ वर्षमा ब्याजसहित १५ लाख रुपैयाँ पुगेको छ । ‘ऋण तिर्नु कि नातीको उपचार गर्नु’, उनी भन्छन्,‘जवानीमा न भोगेको दु:ख बुढेसकालमा भोग्नु परेको छ ।’ नारायणघाटबाट हिँड्दै काठमाडौं आउदा शरिर थाकेर लखतरान भयो । ज्वरो आएको छ । सिटामोल खाँदै आन्दोलन गरिरहेको छु ।

अमरबहादुर मगर

अमरले ७ सन्तान एक रुपैयाँ ऋणमा नपरी हुर्काए । कहिले खेती किसानी त कहिले भारतमा मजदुरी गरेर भएपनि छोराछोरी पाले । ‘अहिलेको समय पहिला जस्तो छैन,’ उनी भन्छन्,‘हाम्रो पालामा अन्न खाने खेती त थियो, अहिले न खेती गर्छन्, न उत्पादन नै ।’ उनका अनुसार जीवन भोगाईमा खाएर लाएर मान्छेलाई ऋण लाग्दैन । अहिले नातीनातीना सहित १२ जनाको परिवार पाल्न अमरलाई फलामको चिउरा चपाए जस्तै कठिन छ ।

उनको जस्तै, गरिबीको चपेटामा पिल्सीएकी पर्साकी भुकली माझीको कथा पनि कारुणिक छ । एकल महिला रहेकी ६५ वर्षिया भुकलीले छोरा विदेश गएर कमाउला भन्दै १ लाख ६० हजार रुपैया बैंकबाट ऋण लिएकी थिइन् । काठमाडौं आउने जाने र मेनपावर धाउँदा धाउँदै दलालले सबै पैसा खाइदिएको उनी बताउँछिन् । अन्तिममा दलालले विदेश जान मिल्दैन भनेपछि भुकली छाँगाबाट खसेझैं भइन् । त्यहि ऋणको ब्याज अहिले आकाशिएको छ । बेला बखत बृद्धभत्ता बुझेको रकम समेत ब्याज तिर्दा समेत ऋण घटेन । ‘छोरो भाग्छ, म बुढीले कहाँबाट ऋण तिर्नु ?’, उनी भन्छिन् ।

भूकली माझी

त्यस्तै, पर्साकी ६५ वर्षिया सिरतीया मुसहरनीको साहारा भनेको दुई चार वटा बाख्रा र भैसी पालन हो । त्यहि बेचेर घर खर्च चलाउँदै आएकी छन् । बैंकको ब्याज माग्दै आएका कर्मचारीले छोरालाई घेर्न थालेपछि उनले भर्खरै ब्याएको भैसी बचेर पैसा दिइन् । तर, त्यो ऋणको ब्याज कहिल्यै चुक्त्ता हुँदैन । भएको ११ घुर घडेरीमा बैंकले आँखा गाडेको छ । सिरतिया भन्छिन्,‘अब त आफैं बेचिनु बाहेक अरु बेच्ने केहि छैन ।’ बास नै खोसिए कहाँ जाने ? उनलाई यहि चिन्ताले दिनरात सताउँछ ।

सिरतिया मुसहरनी

गरिबीकै कारण दुई नाती कलिलैमा मजदुरी गर्न काठमाडौं आएको उनले बताइन् । श्रीमान विरामी छन् । आन्दोलनमा होमिएकी उनी न्याय नपाए घर नफर्किने बताउँछिन् । ‘घर गए बैंकवालाले बाँच्न दिँदैन,’ उनी भन्छिन्,‘यतैतिर लडिरहन्छु, न्याय नपाउँदासम्म ।’ लघुवित्तबाट शोषित भएका सयौं पीडितहरु राजधानीमा प्रर्दशनरत छन् । उनीहरु काठमाडौको सिफल चौरमा बसेका छन् । माग पुरा नभए सम्म घर नफर्किने अडान सहित सरकारलाई दबाब दिँदै आएका छन् ।

उनीहरुले बुधबार र बिहीबार नाराजुलुसहित राजधानीको बालुवाटार क्षेत्रमा प्रदर्शन गरे । उनीहरूले लघुवित्तहरू खारेज गर्नुपर्ने,ऋण मिनाहा गर्नुपर्ने लगायतका माग राखेका छन् ।

तस्बिरहरू : मधु शाही र प्रकाशचन्द्र तिमिल्सेना /कान्तिपुर

प्रकाशित : फाल्गुन १०, २०८० १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?