कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लिटरेचर फेस्टिभलमा मधेश मन्थन

फेस्टिभलको चौथो दिन आइतबार कविता, विद्यार्थी, कृति र संघीयताबारे छलफल
दीपक परियार

पोखरा — पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको चौथो दिन जनमत पार्टीका अध्यक्ष सीके राउतसँग लेखक खगेन्द्र संग्रौलाले ‘मधेश मन्थन’ सेसनमा संवाद गरे । उक्त सत्रमा राउतले मधेशबाट अध्ययनका क्रममा काठमाडौं, त्यसपछि जापान र अमेरिकासम्म पुग्दा भोगेका विभेदका शृंखला सुनाए । अमेरिकाबाट फर्किएपछि राजनीतिमा होमिएर सरकारमा पुग्दासम्मको बेलिविस्तार लगाए ।

लिटरेचर फेस्टिभलमा मधेश मन्थन

जम्माजम्मी तीन प्रश्न सोध्ने क्रममा संग्रौलाले दोस्रो प्रश्न राउतलाई तेर्स्याए, ‘तपाईंसँग नीतिगत परिवर्तन गर्ने अंकगणितीय शक्ति पनि छैन । सम्पत्तिको रासमा उभिएर राजनीति गरौं भनेर लाग्नुभएको होइन होला । अपमानित हुनका निम्ति, सत्ता गठबन्धनले गरेका गलत कामहरूको अंशियारी बन्नका निम्ति गठबन्धनमा किन प्रवेश गर्नुभयो ? एक वर्षअगाडि गठबन्धनमा प्रवेश गर्दा त्यहाँबाट के गर्न सकिएला भन्ने मनसाय थियो ?

आफ्नो लामो जवाफका क्रममा राउतले मधेशमा प्रशासनबाट भइरहेको दमन देखेरै सरकारमा जानुपर्छ भन्ने बोध भएको बताए । उनले स–साना विकास आयोजनाका लागि पनि सरकारमा नभई नहुने परिस्थिति बनेको सुनाए । ‘एउटा सानो बोरिङ गराउनु छ भने पनि तपाईं सरकारमा नहुँदासम्म त्यो काम हुनेवाला छैन । मन्त्रालयमा पुग्दा हामीलाई प्रतिपक्षभन्दा पनि दुस्मनजस्तो व्यवहार भयो । सचिवहरूले पनि कसैले कुरै नसुन्ने,’ उनले सरकारमा जानुपर्नाको कारण खुलाउँदै भने, ‘मधेशमा गरिब, निमुखामाथि ठूलो कुटपिट हुँदा पनि सीडीओ, प्रहरीकोमा जाँदा मुद्दा दर्ता हुँदैन । पार्टी सरकारमा छैन भने सीडीओ र एसपीले पनि कुरै सुन्दैनन् ।’

लेखक संग्रौलाले सेसनको अन्तिममा फेरि सोधे, ‘यो प्रक्रियाबाट अगाडि गएर आफ्नो लक्ष्य प्राप्त गर्नुहोला भन्ने मलाई लाग्दैन । तपाईं यस्तो बिन्दुमा पुग्नुहोला, जहाँ पूर्ण रूपमा निराश हुनुहुन्छ । पूर्ण रूपमा निराश भएपछि तपाईं फेरि विद्रोहमा फर्किने हो कि सन्त जोगी वैरागी बन्ने हो ?’ उनले वैरागी बन्नेभन्दा पनि आन्दोलित हुने तयारी गरिरहेको सुनाए । ‘भर्खरै हामीले एउटा राजनीतिक दस्ताबेज पेस गर्‍यौं । त्यो महत्त्वपूर्ण दस्ताबेज हो । नेपालको संविधानमै समाजवाद उन्मुख भनेर धेरै ठाउँमा लेखिएको छ । अहिलेको जुन व्यवस्था छ, जुन किसिमको आर्थिक नीति सरकारले लिएको छ, त्यहाँबाट विकास हुने देखिँदैन,’ उनले भने, ‘त्यहाँ विरोधाभास छ । कम्युनिस्टका नेताले म सिंगापुरजस्तो बनाउँछु भन्छन् । सिंगापुर समाजवादी मोडलबाट, पुँजीवादको विरोध गरेर बनेको होइन । दुबई र कतार समाजवादी मोडल होइनन् । जापान पनि समाजवादी मोडल होइन । यो कुरा बुझ्न आवश्यक छ ।’

समाजवादबाट मात्रै नेपालको विकास नहुने निष्कर्षमा आफ्नो पार्टी पुगेको उनले सुनाए । ‘विकास गर्नका लागि ‘मिडिल वे’ को प्रस्ताव गरेका छौं । त्यो भनेको सामाजिक लोकतन्त्र हो । जस्तो कि नर्वे, स्विडेनजस्तो देशमा छ । त्यसलाई ‘थर्ड वे’ भनिन्छ । पूरै पुँजीवाद पनि होइन, पूरै समाजवादी पनि होइन । थर्ड वे भनेको बीचको बाटो हो,’ उनले भने, ‘यसमा उत्पादनका माध्यम निजीको हुने तर शिक्षा, स्वास्थ्यको व्यवस्था चाहिँ सरकारले उत्तरदायित्व लिने हुन्छ । यसका लागि आन्दोलित हुने क्रममा छौं । प्रचारप्रसार थालिसकेका छौं ।’

गुमनाम लाहुरेनीको कथा

‘लाहुरेनीका कथा’ सेसनमा सौन्दर्यकर्मी मीना गुरुङ, चित्रकार एवं अध्येता सुजना थापा श्रीस र गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का संस्थापक महासचिव डा.चन्द्रबहादुर गुरुङसँग लेक्स लिम्बूले संवाद गरे । विश्वयुद्धदेखि बम, गोली र बारुद्धको बीचमा लाहुरे आत्मविश्वास बनेका ‘लाहुरेनी’हरू जहिल्यै छायामा परेको वक्ताले बताए । भूतपूर्व गोर्खा सैनिककी श्रीमतीसमेत रहेकी मीना गुरुङले इतिहासविद्, राजनीतिकर्मी, साहित्यकारले पनि लाहुरेनीको योगदान र भूमिकालाई चासो नदिएको बताइन् ।

लाहुरेनीका सुखदुःखबारे चित्र कोर्दै आइरहेकी चित्रकार सुजना थापा श्रीसले २ सय ७ वर्षपछि बल्ल गोर्खा महिलाबारे थोरै भए पनि चर्चा हुन थालेको बताइन् । गोर्खा इतिहासलाई पाठ्यक्रममै समेट्न नसक्दा लाहुरेनी गुमनाम भएको उनको ठम्याइ छ । डा.चन्द्रबहादुर गुरुङले गोर्खा महिलाले लडाइँमा श्रीमान् गुमाएर पनि पेन्सन नपाएको सुनाए । ‘पढेको पुस्तक र प्रभाव’ सेसनमा विद्यार्थीहरू आर्या हमाल, श्रेया लामिछाने, सुजल केसी, सहनशीला पौडेल, ऋद्धि पोखरेल, समन गुरुङ र संसार क्षेत्रीसँग लेखक दीपक पराजुली गफिए । विद्यालयमा भएको पुस्तकालयले मात्रै बालबालिकामा पठन संस्कृतिको विकास नहुने तर्क विद्यार्थीले गरे ।

वार्तालापमा सहभागी विद्यार्थीले पुस्तकालयमा सबैको रुचिअनुसारको पुस्तक नपाइनेमा भने दुखेसो सुनाए । पुस्तकले संसार हेर्ने दृष्टिकोण बदल्ने विचार सहभागी विद्यार्थी पाठकको थियो । अर्को सत्र ‘विद्यार्थीलाई वित्तीय साक्षरता’ मा ग्लोबल आईएमई बैंकका रिलेसनसिप म्यानेजर सागरबहादुर सिंहले विद्यार्थीमाझ डिजिटल बैंकिङका फाइदाबारे चर्चा गरे ।

‘कविताको आयाम’ सेसनमा कवि तीर्थ श्रेष्ठ, नवराज लम्साल र सुमिनासँग शकुन्तला जोशीले वार्तालाप गरिन् । नेपाली कविताको फैलावट सन्तोषजनक रहेकामा वक्ता सहमत भए । पहिला प्रेमभावमा मात्रै कविता कोरिने गरेकामा अहिले विद्रोह पनि मिसिएको लम्सालले बताए । ‘कविता राजनीतिक व्यवस्था जस्तो झ्यापझ्याप परिवर्तन हुने कुरा पनि होइन,’ कवि श्रेष्ठले भने, ‘तर, कविता कविहरूपिच्छे बेग्लाबेग्लै ढंगले प्रस्तुत पनि हुन्छ । नेपाली कविता संकुचित भएर बसेको भन्ने लाग्दैन ।’ सुमिनाले शब्दमार्फत अँध्यारो समयमा टुकी जलाउने काम पनि गर्नुपर्ने बताइन् । वैचारिक जागरणका लागि कविताले भूमिका खेल्ने उनको भनाइ छ ।

मदन पुरस्कार विजेता कृति ‘सेतो धरती’का लेखक अमर न्यौपानेले नयाँ कृतिबारे ‘सरप्राइज’ दिने बताए । फेस्टिभलको ‘कथा कस्तूरी’ सत्रमा सहजकर्ता भूमीश्वर पौडेलले नयाँ कृतिबारे चासो राखेपछि आफूले महत्त्वपूर्ण काम गर्दा कसैलाई नसुनाउने गरेको न्यौपानेले बताए । ‘आफूभित्रै कुनै महत्त्वपूर्ण काम गरेको छ भने भन्न हुँदो रहिन्छ । मेरो सबैभन्दा नजिकको मान्छेलाई नभनी राखिरहेँ भने त्यसलाई एकदमै चाँडो सक्छु,’ उनले थपे, ‘केही नभनी सरप्राइज दिनु छ, दिन्छु ।’ आफूलाई अरूले भन्दा फरक शैलीमा लेख्न मन लाग्ने न्यौपानेले सुनाए । हरेक लेखकले एकै तरिकाले भन्दा आफ्नो शैलीले स्थापित गर्नुपर्ने उनको भनाइ छ । ‘महाकवि : महाआख्यान’ सेसनमा रोचक घिमिरेले महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व, आनीबानीबारे चर्चा गरे । ‘द आर्ट अफ एडिटिङ’ सेसनमा चन्द्रहास चौधरी र जेनिस पेरियटसँग रोमन गौतमले संवाद चलाए ।

भ्रष्टाचारको मुख्य जड कार्यकर्ता व्यवस्थापन

‘संघीयताको सेरोफेरो’ सेसनमा सहभागी वक्ताले संघीयता कार्यान्वयनमा कर्मचारीतन्त्रलाई मात्रै दोष दिएर राजनीतिक दल उम्कन नमिल्ने धारणा राखे । धनगढी उपमहानगरपालिका प्रमुख गोपी हमालले संघीयता कार्यान्वयनमा कर्मचारीतन्त्रभन्दा राजनीतिक दल र उनीहरूले बोकेर हिँडेको मानसिकतालाई मुख्य चुनौतीका रूपमा प्रस्तुत गरे । कार्यकर्ताको व्यवस्थापन नै भ्रष्टाचारको मुख्य जड रहेको उनको धारणा थियो । कास्कीको रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले जनतालाई संघीयताप्रति सकारात्मक बनाउने प्रमुख दायित्व जनप्रतिनिधिको रहेको बताए ।

बेनी नगरपालिका उपप्रमुख ज्योति लामिछानेले प्रदेश तथा संघीय सरकारले स्थानीय सरकारसँग समन्वय नगर्दा कुनै योजनामा दोहोरो बजेट पर्ने, कतै बजेट नै नपर्ने समस्या रहेको सुनाइन् । गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले संघीयतालाई उचित ढंगले लागू गर्न संविधानमै त्रुटि रहेको दाबी गरे । उनले संविधानको अनुसूचीमा कार्यान्वयनसम्बन्धी प्रस्ट नलेख्दा प्रदेश सरकार कमजोर बन्न पुगेको बताए । फेस्टिभलमा ‘आर्थिक समृद्धिको बाटो’ सेसनमा व्यवसायी निर्वाण चौधरी, अर्थशास्त्री समीर खतिवडा र अर्का व्यवसायी निरञ्जन श्रेष्ठ संवादमा जुटे । अर्थशास्त्री खतिवडाका अनुसार नेपालको अर्थतन्त्रमा दीर्घकालीन रूपमा दुई मुख्य ठूला समस्या रहेका छन् । जसमा आर्थिक वृद्धिदर कमजोर हुनु र रोजगारी सिर्जना गर्न नसक्नु हुन् । निजी क्षेत्र र सरोकारवाला निकायबीच समन्वय नहुनु, सही ठाउँमा लगानी हुन नसक्नु, अस्वस्थ कर्मचारीतन्त्र आदि अहिलेका समस्या रहेको उनले बताए ।

हाल विद्यमान समस्याका बारेमा बोल्दै व्यवसायी चौधरीले नेपालको परम्परागत कृषि पद्धति तथा पर्यटन व्यवसायमा परिवर्तन ल्याउनु पहिलो आवश्यकता रहेको जनाए । देश समृद्धितर्फ उन्मुख हुने सम्भावना अझ रहेको बताउँदै उनले भने, ‘भारतमा पनि १५/२० वर्ष अगाडि ब्रेन ड्रेनको समस्या थियो । बिस्तारै सही दिशामा जाँदै छ । भुटान, बंगलादेश, श्रीलंका पनि नेपालका लागि उदाहरण बनिसकेका छन् ।’

‘स्वदेश नै किन बस्ने ?’ सेसनमा नबिल बैंकका पूर्वसीईओ अनिलकेशरी शाह, गण्डकी विश्वविद्यालयका डिन डा.कपिल अधिकारी तथा युवा उद्यमी प्रार्थना शाखासँग निशान्त खनालले वार्तालाप गरे । कार्यक्रममा बोल्दै शाहले देशमै बसेर केही गर्छु भन्नु सबैका लागि सहज नरहेको बताए । आफू कतार जाँदा भेटिएका नेपाली कामदारसँगको कुराकानी सम्झँदै उनले भने, ‘धेरै मान्छेहरू भोकले पेट कराएका आफ्ना आमाबाबु छोराछोरीका लागि विदेश गएका छन् । युवाका लागि नेपालमा बस्ने वातावरण बनाउन सकिएन भने देशको मायाको कुरा गरेर मात्रै फाइदा छैन ।’

विद्यार्थीकालदेखि नै व्यवसायमा लागेकी प्रार्थनाले खोज्ने हो भने नेपालमै बसेर गर्न सकिने ठाउँ रहेको बताइन् । आफ्नो हेलमेट व्यवसायको उदाहरण दिँदै उनले भनिन्, ‘नेपालमा यति धेरै समस्या छन् । कुनै एउटा समस्याको हल म गर्छु भनेर पहल गर्दा त्यो राम्रो व्यवसाय बन्न सक्छ ।’ अधिकांश युवा उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरे पनि त्यो एउटा बहाना मात्रै रहेको गण्डकी विश्वविद्यालयका फ्याकल्टी डिनसमेत रहेका कपिल अधिकारीले बताए । ‘यहाँको शिक्षा पद्धतिमा समस्या छ, यहाँ पार्टीगत राजनीति छ । तर, विद्यार्थी विदेशिनुको कारण त्यो होइन,’ उनले भने, ‘नेपाली विद्यार्थी पढ्न जाने धेरै विश्वविद्यालय नेपालका भन्दा कमसल छन् ।’ अमेरिकामा पीएचडी सकेर नेपाल फर्केका कपिलले आफू नेपाल फर्किनुको कारण बताउँदै भने, ‘मैले पीएचडी गरेको ठाउँ पहिले नै स्याचुरेटेड थियो । त्यहाँ म हुनु र नहुनुले त्यो ठाउँलाई फरक पर्थेन । तर, यो ठाउँमा त्यसले फरक पार्छ । जसले गर्दा म यहाँ छु ।’

‘तालवारि–तालपारि’ सेसनमा गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङ, बैदामका स्थानीय ज्ञानबहादुर जलारी, अञ्चला चौधरीसँग रघुनाथ वाग्लेले छलफल चलाए । पोखराको फेवाताल बचाउन सके मात्रै ताल किनारका स्थानीयको रोजीरोटी बच्ने उनीहरूले चर्चा गरे । ‘आँखाको भाका’ सेसनमा चिकित्सक एवं कलाकार डा.सुमन थापासँग पत्रकार रविन गिरीले संवाद गरे । उक्त सत्रमा द ब्लु फ्रेट ब्यान्डले आफ्नो सांगीतिक प्रस्तुति राखेको थियो । फागुन ३ मा सुरु भएको फेस्टिभल सोमबार सकिँदै छ ।

प्रकाशित : फाल्गुन ७, २०८० ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×