कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सूर्यदर्शन सहकारीपीडितले लामिछाने र पुनविरुद्ध दिए निवेदन, प्रहरीले सुरू गर्‍यो अनुसन्धान

दीपक परियार

पोखरा — सूर्यदर्शन बचतपीडित संघर्ष समितिले सोमबार रास्वपा सभापति रवि लामिछाने, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन, सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन र अन्य १५ कम्पनीविरुद्ध कास्की प्रहरीमा निवेदन दिएका छन् । 

सूर्यदर्शन सहकारीपीडितले लामिछाने र पुनविरुद्ध दिए निवेदन, प्रहरीले सुरू गर्‍यो अनुसन्धान

उक्त निवेदनलाई सूचना मानेर त्यसमा उल्लेख भएका नाममाथि अनुसन्धान सुरू गरिसकेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले बताए । सहकारी प्रकरणमा पहिले नै जाहेरी दर्ता भएकाले सोमबार पूरक निवेदन आएको कास्की प्रहरीको भनाइ छ ।

'हाम्रो तर्फबाट अनुसन्धान जारी नै थियो, पीडितले थप सूचना ल्याउनुभयो । अदालतमा विचाराधीन मुद्दामा एकपल्ट जाहेरी परेपछि पुग्छ,' एसपी थापाले भने, ' पुनः अनुसन्धानका क्रममा यी तीन नाम मात्रै होइन सहकारी ठगीमा अरूको पनि संलग्नता रहेछ भने छानबिन हुन्छ ।' उनले छानबिन पश्चात पूरक अनुसन्धान प्रतिवेदन तयार गर्ने र त्यसैका आधारमा अन्यलाई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालत पेस गरिने बताए । 'हामीले कास्की कारागारमा रहेका आईटी अफिसरलाई झिकाएर अनुसन्धान थालिसकेका छौं,' उनले भने ।

उजुरी परेका संस्थाहरूमा नेचर हर्ब प्रालि, गोर्खा मिडिया नेटवर्क, नेचर नेस्ट, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङउड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पुन, गोर्खा ग्रुप अफ इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालि छन् । यसबाहेक जीबी राई समूहका सहकारी काठमाडौंको स्वर्ण लक्ष्मी, चितवनको सहारा, बुटवलको सुप्रिम, वीरगञ्जको सानो पाइला सहकारीको नाम छ।

जीबी समूहद्वारा ६ सहरका ४९ हजार बचतकर्ताको ७ अर्ब अपचलन

संघर्ष समितिका संयोजक किरण श्रेष्ठले सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा पनि अवैध रूपमा ऋण प्रवाह भएको र तत्कालीन समयमा लामिछाने उक्त कम्पनीको प्रबन्ध निर्देशक रहेकोले पुनः अनुसन्धानको माग गरेको बताए । उनले भने, 'हामीले २५ जनाले हस्ताक्षर गरेर जाहेरी नै भनेर बुझाएका हौं । त्यसमा थप अनुसन्धान गर्ने पाटो प्रहरीको हो ।

पोखरा, चितवन, वीरगन्ज, भैरहवा, नेपालगन्ज र काठमाडौंजस्ता प्रमुख सहरमा सहकारी खोलेका गितेन्द्रबाबु (जीबी) राईको समूहले करिब ४९ हजार सर्वसाधारणको ७ अर्ब ६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको विवरण प्राप्त भएको छ। पोखरामा सञ्चालित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना भएको पोखरा महानगरपालिकाको अध्ययन समितिले निष्कर्ष निकालेको छ ।

पीडित बचतकर्ताले गत साउनमा नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । पोखरा महानगरको विज्ञ टोलीको राय प्रतिवेदनका आधारमा सहकारीका सञ्चालक, लेखा समिति संयोजक, सदस्य, लेखा अधिकृत र ऋण अधिकृतसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । अहिलेसम्म उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य भवीश्वर अर्याल, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ मात्रै पक्राउ परेका छन् ।

महानगरको प्रतिवेदनमा सहकारीको रकम योजनाबद्ध रूपमा विभिन्न फर्ममा अवैध लगानी गरिएको, नक्कली कम्पनी खडा गरेर पनि पैसा हिनामिना गरिएको, कमसल धितो र बिनाधितो पनि ऋण लगानी गरेको उल्लेख छ । गोर्खा मिडिया नेटवर्कदेखि नेचर हर्ब र नेचर नेस्ट नामक नेटवर्किङ कम्पनीमा समेत सहकारीको रकम लगानी गरिएको प्रतिवेदनमा खुलाइएको छ । त्यस्तै तत्कालीन सञ्चारकर्मी लामिछानेका नाममा एक करोडको कृत्रिम खाता खोलेर कारोबार गरिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : माघ २२, २०८० २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×