२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६
सहकारीको बचतबाट १५ प्रतिशत सेयर

ग्यालेक्सी छाड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा

'छैन, छैन, मैले यति धेरै रकम प्राप्त गरेको छैन, १५ प्रतिशत सेयर लेनदेनको कागज मिलाउनलाई कम्पनीले केही गरेको हुन सक्छ, म यति धेरै पैसा भएको मान्छे हैन' - रवि लामिछाने
कृष्ण आचार्य

काठमाडौँ — ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले न कुनै सेयर सित्तै पाएका थिए, न त्यसै छाडेका थिए । कम्पनी रजिस्ट्रारको कार्यालयको अभिलेख र बैंकिङ कारोबार विवरण भन्छन्– सहकारीको पैसा लिएर सेयर पाएका थिए, छाड्दा १ करोड ८० लाख खातामा लिएका थिए । 

ग्यालेक्सी छाड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा

कान्तिपुरले सहकारीका अभिलेख तथा प्रतिवेदन मात्र होइन, गोर्खा मिडिया नेटवर्कका नाममा भएका बैंकिङ कारोबार, कम्पनी रजिस्ट्रारको कार्यालयका दस्ताबेज पनि प्राप्त गरेको छ, यी विवरणअनुसार लामिछानेले गोर्खा मिडियामा स्वेट सेयर (पसिनाको हिस्सा) पाएकै थिएनन्, बरु सर्वसाधारणले पसिनाको कमाइबाट सहकारीमा जम्मा गरेको बचत उठाएर गोर्खा मिडियामा सेयर लिएका थिए र जाने बेलामा सेयर बेचेबापत आएको रकम खातामा सारेका थिए ।

लामिछानेले कामबापतको हिस्सा पाएको दाबी गर्दै आएका छन् । टेलिभिजनबाट बिदा हुने दिन उनले आफ्नै कार्यक्रमबाट दर्शकलाई भनेका थिए, ‘यस टेलिभिजनसँग सहकार्य गर्दा मैले आफ्नो पसिनालाई नै आफ्नो थोरै सेयरका रूपमा लिएको हुँ । आज दिउँसो यो सेयर जस्ताको त्यस्तै यो कम्पनीलाई ससम्मान बुझाएर निस्कँदै छु ।’ उनले ‘स्वेट सेयर’ लिएको विषय सामाजिक सञ्जाल, सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यमसँग प्रतिक्रिया दिने क्रममा पनि दोहोर्‍याउँदै आएका छन् । लामिछानेले आफू ग्यालेक्सी टेलिभिजनमा आबद्ध भएको सार्वजनिक घोषणा २०७७ फागुनमा गरेका थिए । तर, सेयर प्राप्त गर्न आर्थिक कारोबार भने त्यसअघि माघबाटै सुरु भएको थियो ।

कम्पनी रजिस्ट्रार कार्यालयमा गोर्खा मिडियाले बुझाएको फाइलअनुसार २०७७ माघ ९ शुक्रबारका दिन लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा ७५ लाख रुपैयाँ जम्मा गरेका छन् । त्यस्तै बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारीमा जम्मा भएको बचतबाट २०७८ वैशाख ५ का दिन एक करोड निकालेर रवि लामिछानेका तर्फबाट गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा गरिएको थियो । यो कारोबार सुप्रिमको प्रतिवेदनमा मात्र होइन, ग्लोबल बैंकमा रहेको गोर्खा मिडिया नेटवर्कको खाता नं. ०४०१०१००००५७७ को स्टेटमेन्टमा पनि देखिन्छ ।

२०७७ माघ ९ शुक्रबार– रवि लामिछानेद्वारा गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा ७५ लाख रुपैयाँ जम्मा ।

रकम जम्मा गर्नेमा लामिछानेसहित सुप्रिमकी कर्मचारी रोशनी गुरुङको पनि नाम छ । ‘म त सामान्य कर्मचारी हुँ, सञ्चालक सरहरूले रवि लामिछाने सरको नामबाट पैसा जम्मा गर्न पठाउनुभयो, बैंकले मेरो पनि नाम राख्न भनेकाले राखेकी हुँ । यो रकम सहकारीको बचत हो, किन पठाइएको हो भन्ने मलाई थाहा भएन, अह्राएको काम गरेकी हुँ,’ उनले कान्तिपुरसँग भनिन् ।

२०७८ वैशाख ५ आइतबार– बुटवलको सुप्रिम सहकारीकी कर्मचारी रोशनी गुरुङद्वारा रवि लामिछानेमार्फत गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा १ करोड रुपैयाँ जम्मा ।

सहकारीबाट पैसा कसले निकाल्यो ? गोर्खा मिडिया नेटवर्कको खातामा किन जम्मा गर्‍यो ? यो विषयमा आफूलाई जानकारी र सरोकार नभएको दाबी लामिछानेले गर्दै आएका छन् । तर आफैंले जम्मा गरेको ७५ लाख र बुटवलको सुप्रिम सहकारीबाट आफ्नो नाममार्फत ट्रान्सफर गरिएको एक करोड कारोबारको विवरण लामिछानेसमेतले कम्पनी रजिस्ट्रारको कार्यालयमा पेस गरेका थिए । कार्यालयले उक्त कारोबार रुजु गरेपछि गोर्खा मिडियाको १५ प्रतिशत सेयर लामिछानेका नाममा सदर गरिदिएको हो । वैशाख ५ मा बुटवलको सुप्रिमबाट एक करोड आएको १० दिनपछि अर्थात् १५ वैशाख २०७८ मा लामिछानेको नाममा सेयर कायम भएको हो ।

२०७८ वैशाख १५ बुधबार– गोर्खा मिडियामा लामिछानेले आफैं जम्मा गरेको ७५ लाख र बुटवलको सुप्रिम सहकारीको बचतबाट जम्मा गराइएको १ करोडको विवरण कम्पनी रजिस्ट्रारमा पेस । कार्यालयले रुजु गरेपछि लामिछानेको नाममा १५ प्रतिशत सेयर कायम ।

विभिन्न स्रोत तथा सहकारीबाट पैसा जम्मा गरेर जीबी राईले ६ लाख कित्ता (५० प्रतिशत), पूर्वडीआईजी छविलाल जोशीले ४ लाख २० हजार कित्ता (३५ प्रतिशत) र रवि लामिछानेले १ लाख ८० हजार कित्ता (१५ प्रतिशत) सेयर बाँडफाँट गरेका थिए । तत्कालीन अवस्थामा राई अध्यक्ष, जोशी उपाध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक थिए ।

आपसी असमझदारीपछि उपाध्यक्ष जोशी कम्पनीबाट अलग भएका थिए । जोशीको ३५ प्रतिशत सेयर २०७८ पुस ७ मा जीबी राईले खरिद गरे । यो बीचमा राईको सेयर ८५ प्रतिशत पुग्यो भने लामिछानेको १५ प्रतिशत नै कायम रहेको थियो । त्यसको ६ महिनापछि अर्थात् २०७९ असार २ गते लामिछाने पनि कम्पनीबाट निस्किए । अघिल्लो दिन असार १ मा लामिछानेले टेलिभिजनको पर्दामै उपस्थित भएर आफू कम्पनीबाट अलग भएको घोषणा गरे ।

‘स्वेट सेयर’ भने पनि कम्पनी छाड्दा उनले आफ्नो सेयर गितेन्द्रबाबु (जीबी) राईलाई नगदमै बेचेको पुष्टि कम्पनी रजिस्ट्रारको कार्यालयमा अभिलिखित दस्ताबेजबाट खुलेको छ । यसक्रममा प्राइम कमर्सियल बैंकमा जीबी राईका नाममा रहेको खाताबाट ग्लोबल बैंकमा रहेको रवि लामिछानेको खातामा सिधै १ करोड ८० लाख ट्रान्सफर गरिएको थियो । यसरी सुप्रिम सहकारीको बचतबाट लिएको सेयर बेच्दा लामिछानेले आफ्नो खातामा पैसा लिएका थिए । लामिछानेको खातामा चेक जम्मा भएकै दिन २०७९ असार २ मा गोर्खा मिडिया नेटवर्कमा राईको सेयर शतप्रतिशत कायम भएको थियो ।

२०७९ असार २ बिहीबार– गोर्खा मिडियाबाट लामिछाने अलग, सेयर बेचेबापत उनको खातामा १ करोड ८० लाख जम्मा भएको भौचर कम्पनी रजिस्ट्रारको कार्यालयमा ।

लामिछाने गोर्खा मिडियाबाट बाहिरिएको ९ महिनापछि २०८० वैशाखमा राईले गोर्खा मिडियाको १५ प्रतिशत सेयर आफ्नै जीबी ग्रुप अफ कम्पनिज र १७ प्रतिशत सेयर कुमार रम्तेललाई बेचेका थिए । बुटवलको सुप्रिम सहकारीमा कोषाध्यक्ष बनेर रकम हिनामिना गरेको आरोपमा मुछिएका रम्तेल पोखराको सूर्यदर्शन सहकारीको बचत मासेको आरोपमा अहिले पुर्पक्षका लागि थुनामा छन् ।

लामिछानेले भने गोर्खा मिडियामा आफू स्वेट सेयर वा गुडविल सेयर लिएर गएको र कुनै आर्थिक कारोबार नगरेको दोहोर्‍याएका छन् । ‘स्वेट सेयर भन्नाले गुडविल सेयर हो । यो दुई पक्षबीचको समझदारीमा हुने कुरा हो । पैसा छैन, सामाजिक पुँजी छ भने त्यसलाई गुडविल सेयर दिने भन्ने समझदारी हुने गर्छ । मैले यसका लागि कुनै आर्थिक कारोबार गरेको छैन, उहाँहरूले कसरी मिलाउनुभयो, उहाँहरूकै कुरा हो,’ उनले आइतबार साँझ पनि कान्तिपुरसँग दोहोर्‍याए ।

अझ, सेयर लिँदा सहकारीको रकम दुरुपयोग गरेको र ग्यालेक्सी टेलिभिजनबाट बाहिरिँदा १ करोड ८० लाख आफ्नो खातामा लिएको विषय उनले सिधै इन्कार गरे । ‘छैन, छैन । मैले यति धेरै रकम प्राप्त गरेको छैन । १५ प्रतिशत सेयर लेनदेनको कागज मिलाउनलाई कम्पनीले केही गरेको हुन सक्छ । म यति धेरै पैसा भएको मान्छे हैन, मैले त्यतिकै छाडेको हुँ भनेर टेलिभिजनको अन्तिम शोमा भनेरै हिँडेको छु । मेरो खातामा पैसा आएको छैन । मसँग ग्लोबल आईएमई बैंकको मात्रै खाता छ । मेरो बैंक खाता पनि चेक गर्न सक्नु हुन्छ । मेरो खातामा पैसा आएको छैन । तिथि, मिति र खाता नम्बर हेरेर मात्रै भन्नुहोला,’ उनको भनाइ थियो । तर ग्लोबल आईएमईमा रहेको उनको खातामा २०७९ असार २ मा चेक नं. ००१३२८४०३७ बाट १ करोड ८० लाख जम्मा भएको छ ।

त्यतिमात्र होइन, अहिलेसम्म संकलन भएका विवरणअनुसार जीबी अध्यक्ष र रवि प्रबन्ध निर्देशक भएको कम्पनीले विभिन्न सहकारीका झन्डै ३५ हजार बचतकर्ताको करिब साढे ५२ करोड रकम ग्यालेक्सी टेलिभिजनका नाममा हिनामिना गरेको देखिन्छ । पोखराको सूर्यदर्शन सहकारीका १९ हजार बचतकर्ताको ३० करोड, साहारा चितवन सहकारीका ८ हजार बचतकर्ताको ११ करोड ७१ लाख र बुटवलको सुप्रिम सहकारीका ८ हजार बचतकर्ताको १० करोड ७४ लाख रुपैयाँ विभिन्न मितिमा गोर्खा मिडियामा ल्याइएको थियो । यो समूहले रकम हिनामिना गरेपछि काठमाडौंको स्वर्णलक्ष्मी, वीरगन्जको सानो पाइला र नेपालगन्जको समानता सहकारी पनि बन्द भइसकेका छन् ।

पोखराको सूर्यदर्शन सहकारीमा रवि लामिछानेका नाममा कृत्रिम पुलेसो खाता खोली १ करोड कारोबार गरेको महानगरको अध्ययन प्रतिवेदनमा उल्लेख छ । लामिछाने यी कुनै सहकारीका सदस्य होइनन् । तर, सदस्यबाहेक अरूमा कर्जा लगानी गर्न नपाइने स्पष्ट कानुनी प्रबन्ध भए पनि राईले लामिछानेलाई पैसा दिलाइदिएका थिए ।

आफ्नो पेसा व्यवसाय र सन्तानको शिक्षादीक्षाका लागि जम्मा गरेको बचत यसरी दुरुपयोग भएपछि विभिन्न सहरमा सर्वसाधारणको बिचल्ली भएको छ । रकम डुबेपछि बचतकर्ताहरू न्यायका लागि विभिन्न निकाय धाइरहेका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : माघ ८, २०८० ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?