२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कोशीमा केपी ओली कांग्रेसको ८ सिटपछि लाग्नुभयो भन्दिनँ : महामन्त्री शर्मा

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशमा प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको ८ सांसदको पछि लागेको भन्दै कटाक्ष गरेका छन् । 

कोशीमा केपी ओली कांग्रेसको ८ सिटपछि लाग्नुभयो भन्दिनँ : महामन्त्री शर्मा

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस महामन्त्री शर्माले राजनीतिक दलहरूले मिलेर अगाडि बढ्नुपर्ने र एकअर्काको आलोचना गर्नबाट बँच्नुपर्ने बताए । 'अस्ति केपी ओलीले आरामले भन्नुभयो कांग्रेस ३२ सिटको पछि लाग्यो । हो त सही हो । ३२ सिटेको पछि लागेको हो । उहाँले बनाएर हिँड्नुभयो, हामीले सँगै लिएर हिँड्यौं । पुस १० गते उहाँले बनाउनुभयो,' उनले भने, 'अब म कसरी भनौं कि तपाईं विराटनगरमा कांग्रेसको ८ सिटका पछि लाग्नुभयो ! म भन्दिनँ ।'

कोशी प्रदेशमा एमालेले कांग्रेसका ८ प्रदेशसभाको नेतृत्व गरेका केदार कार्कीलाई समर्थन गरेको थियो । एमालेका ३९ सांसदको समर्थन कांग्रेसका ८ सांसदको नेतृत्व गरेका कार्कीलाई रहेको छ । डा. शेखर कोइरालाको पक्षमा रहेका केदार कार्कीलाई एमालेले मुख्यमन्त्रीमा समर्थन गरेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा कांग्रेसले समर्थन गरेको भन्दै आलोचना गरेकोप्रति महामन्त्री शर्माले जवाफ दिएका हुन् । दाहाल २०७९ पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । राष्ट्रपतिको निर्वाचनसँगै एमाले-माओवादी गठबन्धन भत्किएर कांग्रेस-माओवादी गठबन्धन बनेको थियो ।

कांग्रेस महामन्त्री शर्माले नयाँ आएका दलहरूलाई स्वागत गर्नुपर्ने बताए । उनले मुलुक निर्माणका लागि सबै राजनीतिक दलहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने धारणा राखे । मुलुक निर्माण पुराना र नयाँ राजनीतिक दलहरू मिलेर लोकतान्त्रिक गणतन्त्रको बाटोबाटै सम्भव रहेको उनको भनाइ थियो ।

नयाँ राजनीतिक दलहरूले 'पुराना दिन गए' भन्न नहुने पनि शर्माको धारणा थियो । उनले सबै पुराना कुरा नजाने बताए । 'कसैले भन्दैगर्दा पुरानाका दिन गए, पुराना धर्मशास्त्र पनि हो । पुरानो यो धर्ती पनि हो । पुरानो भन्ने चीज त्यति सजिलै जाँदैन । नयाँ भन्ने पनि मितिले भनेर हुँदैन । विश्वप्रकाश संसद्मा पहिलो पटक छ, नयाँ हो । तर, नयाँ हुँ भन्न मैले केही नयाँ गरेर पुष्टि गर्नुपर्छ,' उनले भने, 'कुनै दलले पनि, व्यक्तिले पनि नयाँ जन्म मितिले भनेर मात्रै पुग्दैन । नयाँचाँहि प्रवृत्तिमा, संस्कृतिमा हुन्छ । कुनै राजनीतिक दल पुरानो हुँदैमा, हामी आफैंमा बिदाई पनि हुन्नौं र, शक्तिमा, सरकामा छौँ भन्दैमा हामी सदैव सशक्त पनि हुँदैनौं ।’

प्रकाशित : आश्विन २७, २०८० १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?