कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

इजरायलमा रहेका नेपालीको उद्धार, उपचार र स्वदेश फिर्ताको व्यवस्था गर्न कांग्रेसको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले इजरायलमा हमासको आक्रमणमा परेकाहरूको उद्धार, उपचार र स्वदेश फिर्ताको वातावरण बनाउन सरकारसँग माग गरेको छ । बानेश्वरस्थित संघीय संसद् भवन ल्होत्से हलमा मंगलबार बसेको बैठकले आक्रमणमा परी मृत्यु भएकाहरूप्रति दुःख व्यक्त गर्दै उनीहरूको पार्थिव शरीर यथाशीघ्र नेपाल ल्याएर परिवारजनलाई बुझाउन आग्रह गर्ने निर्णय गरेको हो ।

इजरायलमा रहेका नेपालीको उद्धार, उपचार र स्वदेश फिर्ताको व्यवस्था गर्न कांग्रेसको माग

बैठकले इजरायलमा हमासको आक्रमणको घटनाबाट प्रभावित भएका नेपाली नागरिकबारे सरकारलाई लिखितरुपमा चार वटा आग्रह गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

‘बैठकले आक्रमणमा परी जीवन गुमाउने नेपालीहरूको पार्थिव शरीर यथाशीघ्र नेपाल ल्याई परिवारजनलाई बुझाउन, सम्पर्कमा नरहेका कञ्चनपुरका विपिन जोशीको तत्काल खोजी गरी उद्धार गर्न र त्यहाँ रहेका नेपालीहरुको विवरण संकलन गरी जोखिममा रहेका नेपालीहरुको सकुशल उद्धार गरी सुरक्षित स्थानमा राखी आवश्यक आवास र भोजनको उचित व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छौँ,’ प्रमुख सचेतक लेखकले भने, ‘रोजगारी तथा अध्ययनका लागि इजरायल गएका नेपालीहरु इजरायलमा सुरक्षित रहने उपयुक्त व्यवस्था मिलाउने र स्वदेश फर्कन चाहनेहरुलाई अविलम्ब फर्काउने व्यवस्था मिलाउने कामका लागि समेत हामीले सरकारलाई आग्रह गरेका छौँ ।’

बैठकले हमासको आक्रमणमा परी घाइते भई उपचाररत दाङका प्रविन डाँगी, सल्यानका विधान सेजुवाल र गोरखाका हिमाञ्चल कट्टेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ भने सरकारको खर्चमा तत्काल उपचारको व्यवस्था गर्न ध्यानाकर्षण गराएको छ ।

प्रकाशित : आश्विन २३, २०८० १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?