२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

धर्म र सम्प्रदायको नभई देशको झन्डा बोकौँ : सांसद झा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले धर्म र सम्प्रदायको छोडेर देशको झन्डा बोक्नुपर्ने बताएका छन् । पछिल्लो समय मुलुकमा धर्म र सम्प्रदायबीच दंगा निम्त्याउने दुष्प्रयास भइरहेको भन्दै सांसद झाले जनप्रतिनिधि, राज्य संयन्त्र र राजनीतिक दलहरू सचेत हुनुपर्ने बताए । 

धर्म र सम्प्रदायको नभई देशको झन्डा बोकौँ : सांसद झा

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद झाले धर्म र सम्प्रदायको झन्डाभन्दा देशको झन्डा महत्त्वपूर्ण भएको भन्दै देशको झन्डा बोक्न आग्रह गरेका थिए ।

उनले धार्मिक दंगामा भोटको राजनीति नगर्न पनि आग्रह गरेका थिए । ‘हाम्रो देशको केही भू–भागहरूमा धर्मको लडाँइ गर्दै छौँ । साम्प्रदायिक दंगा निम्त्याउने प्रयासहरू हुँदैछ । केही दलहरूले, केही राजनीतिज्ञहरूले अहिलेदेखि नै भोटको राजनीति गर्न थालेका छन्,' उनले भने, 'त्यो कसैको लागि फाइदाजनक हुनेछैन । केही क्षण कुनै स्वार्थ समूह, केही राजनीतिक समूहको स्वार्थले केहीलाई क्षणिक फाइदा देला तर आउने सन्ततिले के पाउनेछ ? आउने पुस्ताले के पाउँछ ?'

सामाजिक संजालमा मित्थ्या सन्देश राखेर जातीय र धार्मिक दंगा फैलाउन खोजिएको सांसद झाको भनाइ थियो । उनले त्यस्तो भ्रामक सन्देशको पछाडि जनप्रतिनिधि पनि लाग्ने गरेको भन्दै सचेत गराए । धार्मिक द्वन्द्वमा भोटको राजनीति गर्न नहुने पनि उनले आग्रह गरेका थिए । समाजलाई धार्मिक विद्वेश नभई भाइचाराको मार्ग आवश्यक भएको सांसद झाले आग्रह गरेका थिए । 'केही वर्ष यो देशमा हामीले दलको झन्डा बोक्यौँ । त्यसपछि हामीलाई सम्प्रदायको झन्डा बोक्न सिकायो । अहिले धर्मको झन्डा बोक्न सिकाउँदैछ तर कुनैपनि पुस्तालाई हामीले देशको झन्डा बोक्न सिकाएनौँ- देशको झन्डा बोक्नु त्यो धर्म र सम्प्रदायभन्दा महत्वपूर्ण छ भनेर ।’

धार्मिक सहिष्णुता बोकेको मुलुकलाई द्वन्द्वमा लैजान विभिन्न षड्यन्त्र भइरहेको तर ती सफल नहुने पनि सांसद झाको भनाइ थियो । 'यहाँ एक धर्मको धरोहर निर्माण गर्न अर्को धर्मकाले सहयोग गरेको छ । हाम्रो समाज त्यसरी निर्मित भएको छ । सहिष्णुता, भद्रता र मेलमिलापबाट यहाँसम्म आइपुगेका छौं । हाम्रो समाज त्यति कमजोर छैन कि कुनै दायाँबायाँ वा उत्तर दक्षिणको राजनीतिक स्वार्थले कमजोर बनाइदेओस्,' उनले भने । ती स्वार्थ समूहका एजेन्टहरूले नेपालमा धार्मिक दंगा फैलाउन खोजेको तर सबै संवेदनशील भएर लाग्नुपर्ने उनको आग्रह थियो । एकअर्काको अस्तित्व स्वीकार अगाडि बढेमात्रै समाज अघि बढ्ने उनको भनाइ थियो ।

प्रकाशित : आश्विन १८, २०८० १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?