कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

सुशासनका काम गर्दा सरकारमै रहेका र प्रतिपक्षी दल चिढिए : पुन

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुशासनका लागि काम गर्दा बेलाबेला सरकारमै रहेका र प्रतिपक्षी दल चिढिने गरेको बताएका छन् । सरकारले सुशासनका पक्षमा कदम चाल्दा जनताले भने साथ दिइरहेको पुनको भनाइ थियो । 

सुशासनका काम गर्दा सरकारमै रहेका र प्रतिपक्षी दल चिढिए : पुन

उपत्यका विशेष प्रदेश समितिको बैठकमा शनिबार पुनले सुशासनका लागि काम गर्दा कहिले प्रतिपक्ष र कहिले सरकारमै सहकार्य गरिरहेका रानजीतिक दलहरू माओवादी केन्द्रसँग चिढिने गरेको पुनको भनाइ थियो । ‘सरकारले सुशासनका लागि काम गर्दा कहिले सरकारमा भएको त कहिले प्रतिपक्षमा रहेका दल चिढिने अवस्था देखियो,' उनले भने ।

राष्ट्रिय मुद्दाहरूमा प्रमुख प्रतिपक्षीसहितका दलसँग हातेमालो गरेर अघि बढ्ने नीतिमा सरकार रहेको पुनले बताए । प्रतिनिधिसभाका विषयगत समितिमा बहुमत र अल्पमतका आधारमा सभापति चुन्ने परम्परा भए पनि सबैलाई मिलाएर लैजानका लागि नै प्रतिपक्षी एमालेलेलाई तीन समितिको सभापति दिने सहमति भएको उनको भनाइ थियो । वर्तमान परिस्थितिमा कांग्रेससँग राजनीतिक मुद्दा मिलेकाले सरकारमा सँगै रहेको भन्दै पुनले रणनीतिक र सैद्धान्तिक रुपमा कम्युनिष्ट एक ठाउँमा हुनुपर्छ भन्नेमा आफूहरू स्पष्ट रहेको धारणा राखे । ‘अहिलेको परिवर्तन सही छ । यसलाई समयअनुसार परिमार्जन गर्दै जानुपर्छ भन्नेसँग सहकार्य गर्छौं,' उनले भने, ‘देशभित्रका मुख्य पार्टीहरूलाई सन्तुलन गरेर जाने हाम्रो नीति छ ।’

वर्तमान सरकारले लोकप्रियता कमाइरहेको पुनको भनाइ थियो । सुशासन र शुद्धिकरणको कामलाई अघि बढाएका कारण सरकारलाई जनताले मन पराएको उनको तर्क थियो । ‘सरकारले सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएको छ । सुशासनको जगमा समृद्धि हासिल गर्नेतिर सरकारको काम निर्देशित छ,' उनले भने । मुलुकको नेतृत्व माओवादीले सबैलाई मिलाएर जाने क्षमता रहेको बताए । मुलुकमा अप्ठ्यारो पर्दा समन्वय गर्ने नेता भएकाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले निकास दिने गरेको उनको धारणा थियो ।

प्रकाशित : भाद्र २, २०८० १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?