कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४७

श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार तोक्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ — श्रमिकको पारिश्रमिक न्यूनतम २५ हजार पुर्‍याउन माग गर्दै नेपाल ट्रेड युनियन कांग्रेसले प्रदर्शन गरेको छ । सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापनसमेत नचल्ने अवस्था आएको भन्दै प्रमुख सत्तासिन दल नेपाली कांग्रेसनिकट ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम तलब बढाउन माग गर्दै श्रमिकका नेता र अगुवाले आइतबार दिउँसो काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार तोक्न माग गर्दै माइतीघरमा प्रदर्शन

'श्रमिकको पारिश्रमिक न्यूनतम २५ हजार रुपैयाँ निर्धारण गर' लेखिएको प्लेकार्ड लिएका उनीहरुले आइतबार माइतीघरमा र्‍याली र विरोध सभा गरेका हुन् । योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्नुपर्ने, श्रम आयोग गठन गर्नुपर्ने, स्थानीय तहमा श्रमिकहरुको पन्जीकरण गर्नुपर्ने र नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

महासंघका महासचिव अजयकुमार राईले आकासिँदो महँगीको अवस्थामा श्रमिकहरूको जीवनयापन नै कठिन बनेको भन्दै न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउन माग गरिएको बताए । हाल सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ मात्रै छ । यही पारिश्रमिकसमेत कतिपय रोजगारदाताले लागू गरेका छैनन् ।

‘सरकारले कार्यालय सहयोगीलाई समेत मासिक २६ हजार रुपैयाँ तलब दिएको छ । तर यस्तो कहालीलाग्दो मूल्यवृद्धि र महँगीको अवस्थामा पनि श्रमिकलाई भने मासिक १५ हजार रुपैयाँमात्रै दिएर उसको जीवनयापन कसरी हुन्छ भनेर नसोच्नु गम्भीर छ,’ महासचिव राईले भने, ‘विशेषतः अनौपचारिक र उत्पादन क्षेत्रमा संलग्न लाखौं श्रमिकलाई बजार मूल्यवृद्धिको दाँजोमा अव्यवहारिक पारिश्रमिक दिइएको छ । यसरी मुलुकको उत्पादकत्व वृद्धि हुन सक्दैन, न त देशलाई नै समृद्ध बनाउन सकिन्छ ।’

उनले चिया बगानलगायत देशका सबै क्षेत्रमा कार्यरत श्रमिकहरूको पारिश्रमिकमा एकरुपता ल्याउने गरी मासिक पारिश्रमिक कम्तीमा २५ हजार रुपैयाँ निर्धारण गर्न सरकारलाई दबाबपूर्ण रुपमा आग्रह गरिएको बताए ।

‘नेपालको श्रम ऐन, २०७४ मा व्यवस्था भएअनुसार प्रत्येक २/२ वर्षमा त्रिपक्षीय सहमतिका आधारमा श्रमजीवीहरुको न्यूनतम पारिश्रमिक निर्धारण गरी लागू गर्नुपर्ने हुन्छ । यही व्यवस्थाबमोजिम २०८० आसार मसान्तमा त्रिपक्षको आधारमा न्यूनतम पारिश्रमिक निर्धारण गरी साउनदेखि लागू गर्नुपर्नेमा सरकार, रोजगारदाता र ट्रेड युनियनबीच पटक–पटक छलफल हुँदा पनि सहमतिमा पुग्न नसकेको अवस्था छ,’ उनले भने, ‘हामी सरकारलाई परिस्थिति सुहाउँदो हुने गरी पारिश्रमिक निर्धारण गर्न आग्रह गर्दछौं ।’

प्रकाशित : असार ३१, २०८० १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?