कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

सडक अवरुद्ध हुनेगरी भत्केको पुल निर्माण आजैदेखि सुरु : मन्त्री ज्वाला

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि थालनी गरिने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले शनिबार राति हेवा खोलामा गएको बाढी पहिरोको विषयमा जानकारी गराएका हुन् । 

सडक अवरुद्ध हुनेगरी भत्केको पुल निर्माण आजैदेखि सुरु : मन्त्री ज्वाला

संखुवासभा र पाँचथरको उत्तरी क्षेत्रमा आएको बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि थालनी हुने उनको भनाइ छ । सरकारले बाढीको कारण अवरुद्ध सडक खुला गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको भन्दै मन्त्री ज्वालाले बाढी पहिरोको कारण भौतिक पूर्वाधार सडक र पुलको मात्रै करिब ५० करोड र केही मानवीय क्षती भएको जानकारी दिए । 'क्षति भएको हेवा खोलाको पुल भत्किएको ठाउँमा बेलिब्रिज बनाउने काम आजैदेखि सुरुवात गरिएको छ' उनले भने '१० दिनभित्रमा बेलीब्रिज जडान गर्नेगरी कामलाई अघि बढाइएको छ, बाढीको कारण क्षति भएको, अवरुद्ध भएको सडक खुलाउनको लागि सडक डिभिजन कार्यालय इलाम, यान्त्रिक कार्यालय फिदिम, तमोर करिडोर योजना कार्यालय र मध्यपहाडी सडक कार्यालयका पदाधिकारीहरुलाई मन्त्रालयले निर्देशन दिएको छ।'

बेलीब्रिज नबेनसम्म जमिनको सतहबाट नै ड्राइर्भसनको माध्यमबाट सडक खुलाउने तयारी गरिएको मन्त्री ज्वालाले बताए । वर्षायाम सुरु भएसँगै बाढीपहिरोको कारण सडक अवरुद्ध हुने विषयलाई ध्यानमा राखेर पूर्वतयारीको कामलाई अघि बढाएको उनको भनाइ छ । शनिबार राति संखुवासभाको हेवा खोलामा आएको बाढीमा मात्रै १६ जना बेपत्ता भएका छन् । चैनपुर नगरपालिका–४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत् आयोजनामा १९ जना कार्यरत रहेकोमा १६ जना बेपत्ता भएका छन् । बाढी पहिरोका कारण मेची राजमार्ग अवरुद्ध भएको छ । बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ । मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुलसमेत बगेको छ । तमोर करिडोरको ‘बेलीब्रिज’ पनि बाढीले बगाएको छ । फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको छ ।

प्रकाशित : असार ३, २०८० १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?