२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८
रिपोर्ट

‘राजवंशी कोटा’ मा जापान लैजाने भन्दै ठगी [भिडियो]

वैदेशिक रोजगारीको प्रलोभनमा झापा र मोरङका भित्री गाउँका ४० युवाको तीन करोड फस्यो
आफन्त र चिनारुका निम्ति ‘विशेष प्याकेज’ प्रस्ताव गरेका अजय राजवंशीले ‘विशेष कोटा’ भनेर एक बाहुन र एक नेवार युवाबाट पनि रकम असुलेका थिए

सुनवर्षी, मोरङ — सुरेन्द्रकुमार राजवंशीलाई एक वर्षअघि भतिज पर्ने अजय राजवंशीले जापानबाट फोन गरे, ‘काका, यहाँ राम्रो कामको कोटा छ, ज्वाइँ र भाइलाई पठाइदिनू, यो राजवंशीहरूका लागि राम्रो अफर हो ।’

‘राजवंशी कोटा’ मा जापान लैजाने भन्दै ठगी [भिडियो]

गाउँले दाजुका छोराले यसो भनेपछि सुरेन्द्रले वैदेशिक रोजगारीमा साइप्रसमा रहेका ज्वाइँलाई नेपाल बोलाए । छोरा राहुललाई पनि पठाउन तयारी थाले । दुई जनालाई जापान पठाउन उनले अजयले भनेका तीन जना राजेन्द्र अधिकारी, विद्या राजवंशी र रञ्जित राजवंशीको नाममा २० लाख रुपैयाँ जम्मा गरे । तर, न सुरेन्द्रका छोरा र ज्वाइँ जापान जान पाए, न त बैंकमा जम्मा गरेको पैसा फिर्ता आयो । अहिले कसरी २० लाख उठाउने र त्यसको ब्याज तिर्ने भन्ने चिन्ताले सुरेन्द्रका ओठतालु सुकेका छन् ।

वैदेशिक रोजगारीमा जाने सपनामा झापा र मोरङको भित्री गाउँका सुरेन्द्रजस्तै ४० जना राजवंशी युवाले झन्डै तीन करोड रुपैयाँ फसाएका छन् । यो ‘राजवंशी कोटा’ भित्र पनि ‘विशेष कोटा’ भनेर एक बाहुन र अर्का एक नेवार युवाले पनि रकम डुबाएका छन् ।


पथरी बजारबाट दक्षिण १५ किलोमिटरभित्रको पटियापाडा मूलघर भएका अजय ५ वर्षअघि मात्रै जापान गएका थिए । राम्रै काममा लागेर केही पैसासमेत कमाउन थालेपछि गाउँले, आफन्त र राजवंशी चिनारुका निम्ति ‘विशेष प्याकेज’ प्रस्ताव गरेका थिए । काका, भिनाजु, साथी, दाजु, बहिनी सबैलाई आएको यो प्याकेजमा राजवंशी समुदायका लागि मात्रै जापानमा कामको विशेष अवसर आएको उनी बताउँथे । ‘भतिजले आफ्नो प्याकेज मबाटै खुलाउन सुरु गरेको थियो,’ सुनवर्षी नगरपालिका–६ बस्ने अजयका काका सुरेन्द्रले कान्तिपुरसँग भने, ‘ज्वाइँ मदनकुमार, छोरो राहुलसहितलाई जापान पठाउने भनेर चितवनका राजेन्द्र अधिकारीका नाममा विभिन्न चरणबाट अजयका निम्ति बैंकबाट पैसा पठाएको थिएँ । पछि बुझ्दै जाँदा सबै काम जाली रहेछ । अहिले अजय र अरू एजेन्ट नै सम्पर्कमा छैनन् ।’

अजय राजवंशी

कानेपोखरी–२, मोरङका अनिल राजवंशीले पनि यही लहरमा जोडिएर ६ लाख रुपैयाँ विद्या राजवंशीका नाममा बुझाएका थिए । उनले त ४ महिनासम्म विराटनगर बसेर जापानी भाषा पनि सिके । ५० हजार रुपैयाँ खर्चेर ड्राइभिङ प्रशिक्षण लिए । काठमाडौं गएर इमर्जेन्सीमा पासपोर्ट बनाए । ‘चिनारुका नाताले अजयसँग मेसेन्जरमा कुराकानी भएको थियो, उसले सबै भरथेग देखायो,’ अनिलले दुखेसो पोखे, ‘मलेसिया जानै लागेको म बढी कमाउन भनेर जापानका लागि पर्खिरहें, यता न उता भइयो ।’

यस्ता पीडितहरू झापाको बिर्तामोड, घैलाडुब्बा, दुर्गापुर र मोरङको पथरी, सुनवर्षीलगायतका भेगमा भेटिए । उनीहरूले अजयको सुझावमा धरानकी मिनचिरा चाम्राकार, हेटौंडाका कर्णकुमार दवाडी, चितवनका फिरोज कार्की, प्रतिमा बोगटी, रञ्जित राजवंशी, विद्याकुमारी राजवंशी, अनुराधा राजवंशी, ज्योति घलेका नाममा बैंकबाट पैसा पठाएका थिए ।

पीडितहरू

अजयले आफ्नै भाइ, बहिनी र बुहारीलाई समेत बोलाउने भनेपछि आफूहरू ढुक्क भएको पथरीको रिफ्युजी डाँडोमा भेटिएका जलसा र सुनीता राजवंशीले सुनाए । ‘तिनै आफन्तसहित जापानी भाषा सिक्यौं । आफन्तकै नाममा बैंक खातामा पैसा पनि पठायौं,’ भन्छन्, ‘ती आफन्त नै सम्पर्कमा छैनन्, कोटाको कुरा त असत्य रहेछ ।’ अजयसहित उनकी बहिनी विद्या, बुहारी अनुराधा र भाइ रञ्जित फरार छन् ।

यही प्रकरणमा कन्काई–९ का भवानी अधिकारी पनि डुबेका छन्– राजवंशीभित्रको ‘बाहुन कोटा’ मा । ‘विशेष पहल गरेर राजवंशीभित्र एउटा बाहुन घुसाएको छु भनेर अजयले भनेथ्यो, त्यही विश्वासमा ८ लाख रुपैयाँ पठाएको छु,’ दुर्गापुरमा भेटिएका उनले सुनाए, ‘आज सबै फरार छन् । काठमाडौं गएर वैदेशिक रोजगार विभागमा गत मंसिरमै उजुरी हालेको भए पनि सुनुवाइ वा तदारुकता केही भएको छैन ।’

पीडितहरू

सुनवर्षी–४ कै देवराज राजवंशीले पनि ५ लाख बुझाएको बताएका छन् । एक वर्षअघि राजवंशी कोटामा जापान जान ‘३५ वर्ष उमेरभित्रको’ भनिएको थियो । ‘म त ३७ लागेको छु, कोटामा पर्दिनँ, जान्नँ भनेको थिएँ । अजयले ३७ वर्षसम्म हुने मिलाएको छु । खुरुक्क आऊ, यो भाग्य हो भनेपछि विश्वासमा परें,’ उनी भन्छन् । अजयले दिएको प्रलोभनमा स्नातक पास गरेका देवराजले १६ लाख रुपैयाँ लगानी गर्नुपर्ने वा नपढेकै भए पनि राजवंशीका निम्ति कोटा खुला रहने भनेका थिए । गार्मेन्टको काम, एक वर्षपछि बोनस र अतिरिक्त भत्ता हुने सुनाएका थिए । आफूले भन्न भ्याएजति सबैलाई मासिक तलब १ लाख ८० हजार रुपैयाँ हुने लोभ देखाएका थिए । त्यसमा पनि सीओई (सर्टिफिकेट अफ इलिजिबिलिटी) आउनासाथै काम पक्का भयो भनेर ४० जनालाई नक्कली सीओई पठाएरसमेत थप रकम असुलेका थिए । ‘सीओई आएपछि ग्यारेन्टी नै हुन्छ भनेर पहिलो किस्ता राजेन्द्रको नाममा हाल्न लगायो, दोस्रो र तेस्रो किस्ता पनि हालें,’ छोरालाई जापान पठाउन पैसा हाल्ने देवनारायण राजवंशीले भने, ‘राजवंशीहरूका लागि जापानको भाग्य आयो । पैसा पठाउने भए पठाइहाल्नु भनेर माग्यो, मैले १६ लाख हालें ।’

पीडितहरूले रकम बुझाएको बैंकको भौचर

व्यासु राजवंशीले पैसा बुझाएपछि गत पुसमा अजयले पठाएको ‘सीओई’ मा क्यूआर कोड पनि थियो । ‘स्क्यान गरेर हेर्दा ब्ल्यांक देखायो,’ व्यासुले भने, ‘उसलाई बुझ्दा यो डुब्लिकेट हो मसँग ओरिजिनल छ, पछि काठमाडौं आएर देखाउँछु भन्यो तर सबै नक्कली रहेछ ।’ १८ लाख बुझाएका विवेक राजवंशी पनि अहिले घर न घाट भएका छन् । जापान जान भनेरै उनले मिटरब्याजमा ऋण खोजेर बुझाएका थिए । एक लाख ८० हजार मासिक तलब पाउने आशामा जान खोजेका उनी उल्टै मासिक ६० हजार ब्याज बुझाउनुपर्ने अवस्थामा पुगेका छन् ।

झापा घैलाडुब्बाका जुनेल राजवंशीका सोल्टी पर्थे– अजय । एक दिन फोन गरेर जापानमा ‘वर्किङ भिसा’ छ, एप्लाई गर्ने भए गर भने । आफ्नै नाता पर्नेले भनेपछि जुनेलले खुरुखुरु पैसा बुझाए । तर पैसा बुझाइसकेपछि सोल्टी बेपत्ता छन् । यसरी लाखौं रुपैयाँ बुझाएर पनि काम फत्ते नभएपछि ४० जनाको समूहबाट ५ जना आफ्नै बलबुतामा विदेश पुगिसकेका छन् । यीमध्ये युवराज प्रधान (नेवार कोटा), योगेश राजवंशी र मनकुमार राजवंशी मलेसिया पुगे भने तिलक र दीपेश राजवंशी दुबई पुगिसकेका छन् । आगामी महिना मात्रै अनिल राजवंशी पनि कुवेत जाने क्रममा छन् । राजन राजवंशी, कृष्ण राजवंशीलगायतले पनि अरू जसरी नै आश्वासनका भरमा पैसा बुझाएका थिए ।

पीडितका कुरा सुनेर सुनवर्षी–६, पटियापाडास्थित अजयको घर पुग्दा उनका बाबु विषमलाल मधेशको गर्मीमा पानीगन्जी–तौलियाका भरमा आँगनमा बसिरहेका थिए । ‘हो हजुर, छोराले डुबायो । हामी बुढा भएका बाबुआमालाई पनि घर न घाटको बनायो । उसले अर्कै एजेन्ट राजेन्द्र अधिकारीको भर पर्दा आफू पनि डुबेको बताएको थियो,’ विषमलाल भन्छन्, ‘त्यही कारण मेरी छोरी र अर्को छोरा–बुहारी पनि फरार छन् । सगोलका राजवंशीसहित ४० घरपरिवार ठगिएका छन् । उसले कानुनको शरणमा जानैपर्छ भन्ने लाग्छ ।’

वैदेशिक रोजगारीको प्रलोभनमा ठगिएपछि स्थानीय सरकारले केही समाधान दिन्छ कि भनेर पीडित सुनवर्षी नगरपालिकाका प्रमुख श्यामप्रसाद राजवंशीकहाँ पनि पुगेका थिए । तर, उनले आफ्नो कुराको सुनुवाइ नगरेको र पीडकसँगै मिलिसकेको आरोप सुरेन्द्रकुमारले लगाए । अर्का पीडित विक्रम राजवंशीका अनुसार सीओई नक्कली हो भन्ने भएपछि उनीहरू बीचमा नेपाल आएका अजयलाई भेट्न काठमाडौं पुगेका थिए । ‘काठमाडौंमा मेयरसँग पनि भेट भएको थियो । त्यसबेला उनले यिनीहरू पनि फसेका छन्, अब राजेन्द्र अधिकारीको नाममा उजुरी दिन्छन् भने तर हामी विराटनगर फर्केपछि अजय बेपत्ता भए,’ विक्रमले भने । यसबारेमा बुझ्न प्रमुख श्यामप्रसाद राजवंशीलाई बारम्बार फोन गर्दा पनि सम्पर्कमा आउन चाहेनन् ।

ठगीमा परेका विवेक राजवंशी, रत्नाकुमारी राजवंशी, योगेश राजवंशी, कल्पना राजवंशी, हरि राजवंशी, विक्रम राजवंशी र डाफुलसरी राजवंशीले वैशाखमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । प्रहरीले अनुसन्धानका लागि अजयका बाबु विषमलाललाई ७ दिन विराटनगरमा थुनामा राखेको थियो । अजयको बाबुआमाको नाममा रहेको अंश भइनसकेको ८ बिघा जति जमिन रोक्का गरिदिनेबाहेक अरू पीडितका पक्षमा केही काम हुन सकेको छैन ।

आफूले बुझाएको पैसा डुब्ने भयो भनेर पीडितहरूले आशंका गर्नासाथै अजयले ‘पथरीमा हाम्रो ठूलो मान्छे नेता हुनुहुन्छ, लिंक छ केही हुँदैन’ भनेर थुम्थुम्याउने गरेका थिए ।

अहिले नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहका नाइके केशव दुलाल पथरी–शनिश्चरेकै भएकाले र स्थानीय तथा प्रदेश तहका कांग्रेसी नेतासँगको लिंक पनि दुलालले देखाउँदै आएकाले यो जापानको सूत्रधार उनै त होइनन् भन्ने केहीको आशंका छ । कहिल्यै भेटघाट नभएका चितवनका राजेन्द्र अधिकारीका नाममा १ करोड रुपैयाँभन्दा बढी रकम पठाएकामा पीडितहरू यतिबेला नाजवाफ छन् । तर, अजयबाटै असुलउपर हुनुपर्ने उनीहरूको अडान छ । ‘अब काठमाडौंमै गएर उपत्यका अपराध अनुसन्धान कार्यालयमार्फत खोजीनिती प्रयासमा लाग्छौं,’ पीडितले भने ।

प्रकाशित : जेष्ठ ७, २०८० ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?