कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कर्णाली विमर्श

पोषण, शिक्षा र कामका लागि परिवारबाट छुट्टिँदै बालबालिका

चालु आर्थिक वर्षमा मात्र रुपैडिया नाकाबाट ६२७, गौरीफन्टा नाकाबाट ७४ र गड्डाचौकी नाकाबाट ५१ बालबालिका फर्काइए
सुन्दर भविष्यको प्रलोभनमा मुख्यतः काठमाडौं पुर्‍याइएका बालबालिका धर्मसन्तान बनाएर सम्पर्कविहीन पारिन्छन्, श्रम र धर्मप्रचारमा खटाइन्छन्

सुर्खेत‚ कालीकोट — कालीकोटको शुभकालिका–७ का भीमबहादुर शाहीले निःशुल्क शिक्षादीक्षा र पालनपोषणको आसमा २०७८ भदौमा ८ वर्षीय छोरालाई काठमाडौं, सामाखुसीस्थित एक बालगृह पुर्‍याए । बालकका लागि आवश्यक पोसाक किन्न लगाएपछि बालगृहले बाबुबाट ३० हजार रुपैयाँ लिएको थियो ।

पोषण, शिक्षा र कामका लागि परिवारबाट छुट्टिँदै बालबालिका

डेढ वर्षपछि छोराको प्रगति हेर्न फेरि काठमाडौं पुगेका भीमबहादुर भक्कानिए । ‘पेटभरि खान नपाएर बच्चा त कुपोषित भएछ, नुहाइधुवाइ नगरेको, मैलो लगाएको दयालाग्दो अवस्थामा थियो ।’

छोरालाई फर्काउन भीमबहादुरलाई महाभारत भयो, बुझ्दै जाँदा बालगृह दर्तासमेत भएको रहेनछ । तर, यस्तै संस्थाले बालबालिका जम्मा गरेका छन् । ‘गाउँकै अन्य तीन जनाले पनि सन्तानलाई त्यहीं लगेका थिए, उनीहरूको अवस्था पनि त्यस्तै थियो, छोरालाई फिर्ता लिन खोज्दा मानेको थिएन, तर मैले लडेरै ल्याएँ,’ उनी भन्छन् ।

भीमबहादुरले छोरालाई गाउँ फर्काए, तर कर्णालीका सयौं बालबालिका हरेक दिन गाउँ छाडिरहेका छन् । हुर्किएकाहरू श्रम गर्न भारततिर लाग्छन्, त्योभन्दा अघि कसैको पहुँचमा पुगे काठमाडौं पुर्‍याइन्छन् । मापदण्ड पूरा नगरेका र अवैध रूपमा सञ्चालित बालगृहमा उनीहरू बन्धकजस्तै हुन्छन् ।

‘खासमा ५ देखि १३ वर्ष उमेर समूहका र दलित समुदायका बालबालिका बढी जोखिममा छन्,’ अधिकारकर्मी बाले विश्वकर्मा भन्छन्, ‘कतिपय बालबालिका बालगृहबाटै बेचिन्छन्, कतिपयलाई अभिभावकले उद्धार गरेर घर फर्काउँछन् ।’

अवैध र जोखिमयुक्त बालगृहमा पुर्‍याइएका औसत एक सय बालबालिकाको हरेक वर्ष उद्धार हुने गरेको छ । उद्धार नभएका बालबालिकाको तथ्यांक अधिकारकर्मीहरूसँग पनि छैन । त्यस्तै, हजारभन्दा बढी बालबालिका हरेक वर्ष भारतीय नाकाबाट फर्काइन्छन् । अवैध बालगृहमा कष्टपूर्ण जीवन बिताउने अर्की पात्र हुन्– कालीकोट, सान्नीत्रिवेणीकी १३ वर्षीया बालिका । उनका बुबा मीनबहादुर बुढा भारतको हिमाञ्चलमा पानीको ड्याममा मजदुर थिए । पानी खोल्ने क्रममा बगेर उनी २०६३ मा बेपत्ता हुँदा छोरी तीन महिनाकी मात्र थिइन् । उनीसहित तीन छोरी र एक छोरालाई आमा कमलाले कष्टसँगै हुर्काइरहेकी थिइन् । सात वर्षअघि भैंसीलाई स्याउला काट्न गएका बेला रूखबाट लडेर घाइते भएकी उनी त्यसपछि क्यान्सरको सिकार भइन् । उपचार गर्दा भएभरको जग्गाजमिन सकियो । गाईभैंसी पनि साहुले लगे तर उनको ज्यान जोगिएन ।

बुबाआमा गुमाएपछि कान्छी बालिकालाई पाटनढोकास्थित रिलेसनसिप नेपाल नामक बालगृहमा पुर्‍याइएको थियो । उनको पठनपाठन र संरक्षणप्रति आफन्त विश्वस्त थिए । ‘सुरुमा त राम्रै व्यवहार गरेका रहेछन्, पछि यातना दिने गरेको थाहा पाएपछि फिर्ता ल्यायौं, बालगृहले आश्रय दिने नाममा श्रमशोषण गरेको पाइयो,’ दिदी भन्छिन् ।

धर्म प्रचारका लागि पनि बालबालिकालाई ओसारपसार गर्ने गरिएको छ । अधिकारकर्मी विश्वकर्माका अनुसार पछिल्लो चरणमा इसाई धर्म प्रचारकले निःशुल्क खाने, बस्ने र अध्ययन गराउने भन्दै अभिभावकलाई प्रलोभनमा पारेर बालबालिका ओसारपसार गरिरहेका छन् । निःशुल्क शिक्षाको प्रलोभनमा धर्म प्रचारमा लगाउने योजनासहित भारत लग्न लागिएका कालीकोट मुग्राहका २८ बालबालिका भने प्रहरीको तत्परताले जोगिएका थिए । भारतको क्रिस्चियन धर्म प्रचारक संस्थाले चर्चमा लैजाने क्रममा कैलालीको गौरीफन्टा नाकाबाट फर्काएको थियो ।

पाँच वर्षअघि कालीकोटको जुविथा र खल्लाका १८ बालबालिका यही योजनाको सिकार भएका थिए । २०७५ मा स्थानीय दलालले १० कक्षासम्म पढाउने भन्दै बालबालिका जम्मा गरे, राम्रो शिक्षा र स्याहार हुन्छ भनेर अभिभावकबाट ५० हजारदेखि १ लाख रुपैयाँसम्म उठाइएको थियो । स्थानीय तहबाट अनाथको सिफारिस बनाएर लगिएका ती बालबालिकालाई काठमाडौंमा श्लोकमात्र कण्ठ गर्न लगाएको पाइयो, उनीहरूले अरू केही पढ्न पाएका थिएनन् । बालबालिका समस्यामा रहेको थाहा पाएपछि केन्द्रीय बालअधिकार परिषद्मार्फत कालीकोट फर्काइएको थियो ।

सुर्खेतको चौकुने गाउँपालिका–२, लगामकी सुशीला विक र भक्तबहादुर विक दम्पतीका चार छोरी र दुई छोरा छन् । तीन वर्षअघि गाउँमा बौद्ध धर्मावलम्बी बनेर केही मान्छे आए । उनीहरूले बालबालिकालाई राम्रो शिक्षादीक्षा दिने ९ र ७ वर्षका दुई बालिकालाई बुटवल पुर्‍याए, तर उनीहरू ६/७ महिनासम्म पनि विद्यालय जान पाएनन्, बरु यसबीच उनीहरूलाई धर्म परिवर्तन गरेर बौद्ध बनाइयो । ‘त्योभन्दा ठूलो कुरा, छोरीहरूलाई अघि सारेर पैसा उठाउने गरिएको रहेछ,’ बाबु भन्छन्, ‘खाना पनि एक छाकमात्रै खुवाउने रहेछन्, छोरीहरू कुपोषित भएका थिए । दुःख देख्न नसकेर फिर्ता ल्यायौं ।’

आर्थिक रूपमा विपन्न, निरक्षर र अभिभावकविहीन बालबालिका संरक्षणका नाममा बालगृह पुर्‍याइन्छन् ।

दिलशोभा श्रेष्ठले काठमाडौंमा सञ्चालन गरेको बालगृहबाट कालीकोटको सिप्खाना, मुम्रा, मेहेलमुडी र रकुका १४ बालबालिकालाई घर फर्काइएको थियो । त्यसैगरी २०७६ वैशाखमा काठमाडौं गोल्फुटारस्थित न्यु कर्णाली होस्टेलबाट तिलागुफा, महाबै, पलाता र शुभकालिकाका १२ जना बालबालिकालाई केन्द्रीय बाल कल्याण समिति र महानगरीय प्रहरीले उद्धार गरेको थियो । उक्त होस्टेल पनि दर्ता भएकै थिएन । पछिल्लो समय गत माघ १० मा सुर्खेतस्थित दुईवटा अवैध बालगृहबाट ४१ बालबालिकाको उद्धार गरिएको थियो ।

कर्णालीका बालबालिकालाई सुविधासम्पन्न ठाउँमा लालनपालन र शिक्षा दिने बहानामा सुर्खेत, काठमाडौं, धनगढी, दाङलगायतका विभिन्न गन्तव्यमा लैजाने गरिएको छ । कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीका अनुसार सशस्त्र द्वन्द्वका बेला बालगृह पठाइएका कालीकोटका ६ जना बालबालिका अहिलेसम्म बेपत्ता छन् । आमाबाबु दुवै नभएको सिफारिस गरेर पठाइएका ती बालबालिका धर्मपुत्र वा धर्मपुत्री बनाएर विदेश पठाइएको हुन सक्ने उनको अनुमान छ । सहर पठाए छोराछोरीले धेरै पढ्छन् भन्ने भ्रमले बालगृहप्रति आकर्षण रहेको बताउँछन् प्रजिअ माझी । तर, सहरको बसाइ कर्णालीका लागि रहर नभएर बाध्यता पनि हो । यो क्षेत्रमा राम्रा विद्यालय छैनन्, त्यसैको फाइदा उठाएर कैयौं व्यक्ति र संघसंस्थाले धर्मपुत्र/धर्मपुत्री बनाएर बालबालिकालाई परिवारबाट छुट्याउँछन् । ‘ज्योति घर नेपाल’ नामक संस्थाले २०६७ सालमा सुर्खेेतको झुप्रामा बसोबास गर्दै आएका बादी समुदायका ५० बालबालिकालाई काठमाडौं लगेको थियो । ‘हामीले त्यस्तो केही सम्झौता गरेका थिएनौं, संस्थाले उच्च शिक्षासम्म पढाउँछु भनेर पठाएका थियौं,’ बादी अगुवा हरिबहादुर बादीले भने, ‘तर १० कक्षा पास गरेपछि बालबालिकालाई विभिन्न काममा लगाउन र यातना दिन लागेको थाहा पाएर फिर्ता ल्यायौं ।’ आफूहरूको आर्थिक अवस्था कमजोर भएका कारण बच्चाहरूले पढ्न पाउँछन् भन्ने आसमा विभिन्न संस्थाको जिम्मा लगाउनुपरेको उनको भनाइ छ ।

झुप्रामै बस्दै आएका लालु बादीले भने दुई छोरीलाई ज्योति घर नेपालको जिम्मा लगाएका छन् । संस्थाले पढाइदिने बताएपछि पाँच वर्षअघि १२ र १० वर्षकी छोरीहरूलाई पठाएको उनले बताए । छोरीहरूलाई संस्थाको जिम्मा लगाएका कुनै कागजात भने उनीसँग छैन । ‘सात छोराछोरी भएकाले पढाउन सकिएको थिएन, संस्थाले पढाइदिन्छौं भनेपछि छोरीहरूलाई संस्थाको जिम्मा लगाउन बाध्य भएको हुँ,’ उनले भने ।

चौकुने गाउँपालिका अध्यक्ष खड्कबहादुर विक गरिबी र अशिक्षाका कारण बालबालिकाको अवैध ओसारपसार हुने गरेको बताउँछन् । पालिकाले आवश्यक बजेट र कानुनको अभावमा यस्तो कार्यलाई निरुत्साहित गर्न नसकेको उनको भनाइ छ । ‘हामी निर्वाचित भएपछि संघसंस्थालाई यसरी सिफारिस दिन रोकेका छौं,’ भन्छन्, ‘बरु अहिले गाउँमै बालगृह बनाउन लागेका छौं ।’

कर्णालीका बालबालिकाका लागि अर्को जोखिमको क्षेत्र भारतीय श्रम बजार हो । बर्सेनि ठूलो संख्यामा मजदुरीका लागि भारत जाने गरेका छन् । केही अभिभावकसँगै मजदुरी गर्छन् भने केहीलाई विभिन्न जोखिमपूर्ण काममा लगाउने गरिन्छ । कैलालीको गौरीफन्टाबाट अवैध रूपमा भारत जान लागेका कर्णालीका ७४ बालबालिकालाई चालु आर्थिक वर्षमा रोकिएको माइती नेपालको तथ्यांकमा उल्लेख छ । तीमध्ये ३३ जना बालिका छन् ।

माइती नेपालले गत आर्थिक वर्ष १ सय ५७ बालबालिकालाई अवैध रूपमा भारत जान रोकेको थियो, जसमध्ये ५३ जना बालिका थिए । भारत जान खोज्नेमा १३ देखि १५ वर्षका विद्यालय छोडेका बालबालिका धेरै हुने गरेको माइती नेपाल कैलालीका संयोजक शिवचरण चौधरीले बताए । ‘गरिबीका कारण अभिभावकले आधारभूत आवश्यकता पूरा गर्न नसक्दा उनीहरू लहैलहै र प्रलोभनमा भारत पस्ने गरेका छन्,’ उनी भन्छन्, ‘उनीहरूलाई भारतका विभिन्न सहरमा भारी बोक्ने, सर्कसमा काम गर्ने, फोहोर सामान उठाउने, लागूऔषधको बिक्रीवितरण गर्नेलगायत काममा संलग्न गराइन्छ ।’

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार यही वर्ष गड्डाचौकी नाकाबाट भारत पस्न लागेका कर्णालीका ५१ बालबालिकालाई फर्काइएको छ । माइती नेपालले बाँकेको रुपैडिया नाकाबाट भारत जान लागेका कर्णालीका ६ सय २७ बालबालिकालाई चालु आर्थिक वर्षमा उद्धार गरेको छ ।

कर्णालीका बालबालिका विभिन्न बहानामा घरबाट भागेर जाने क्रम बढिरहेको छ । पछिल्लो तीन वर्षमा घरबाट भागेर हिँडेका १ सय २६ बालबालिकालाई उद्धार गरिएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधवप्रसाद श्रेष्ठले बालबालिका हराउने क्रम पनि बढिरहेको बताउँछन् । उनका अनुसार पछिल्लो साढे ३ वर्षको अवधिमा कर्णालीका १ हजार २ सय २५ बालबालिका हराएका छन् । हराएकामध्ये ६ सय ६७ बालिका र ५ सय ५८ बालक रहेका छन् । प्रहरीको खोजतलासमा १ हजार १६ बालबालिका भेटिए पनि बाँकीको अवस्था अज्ञात रहेको उनको भनाइ छ ।

कुपोषणको जोखिम उस्तै

कालीकोटको खाँडाचक्र–५, राताडाबका जुम्ल्याहा बालिकालाई गत चैत अन्तिम साता उपचारका लागि दाहाँ स्वास्थ्यचौकी पुर्‍याइयो । उनीहरूमा कडा कुपोषण देखिएपछि स्वास्थ्यचौकीले जिल्ला अस्पताल रिफर गर्‍यो । यस्ता थुप्रै बालबालिका कुपोषणको सिकार भइरहेका छन् । साउनयता मात्रै कालीकोटमा कडा खाले कुपोषण देखिएका १८ बालबालिकाको उपचार गरिएको जिल्ला अस्पतालले जनाएको छ । तीमध्ये ८ जना अहिले पनि उपचारमै छन् ।

चरम लैंगिक विभेद, पोषणसम्बन्धी चेतनाको कमी, महिलालाई अत्यधिक घरायसी बोझ, स्याहारसुसारमा बेवास्तालगायत कारण कालीकोटमा कुपोषणको समस्या बढ्दै गएको कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसीले बताए । कर्णालीमा कुपोषणले जरा गाड्नुको प्रमुख कारण पर्याप्त र पोषिलो खाना खान नपाउनु हो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यहाँका एक चौथाइ नागरिकले मात्र पूर्ण रूपमा खानाको विविधता उपभोग गर्न पाउने गरेका छन् । ‘धेरैले सधैं एकै प्रकारको खाना खाइरहेका छन्, छाक टार्नै मुस्किल भइरहँदा पोषिलो खानाको जोहो गर्न यहाँका नागरिकलाई मुस्किल छ,’ निर्देशनालयकी वरिष्ठ नर्सिङ अधिकृत मानकुमारी गुरुङले भनिन्, ‘पोषणयुक्त खानाको अभावकै कारण कर्णालीका बालबालिका कुपोषणको सिकार भएका हुन् ।’

निर्देशनालयका अनुसार कर्णालीका २९.५ प्रतिशतले मात्रै खानामा विविधता उपभोग गर्न पाएका छन् । १७.६ प्रतिशत बालबालिकामा ख्याउटेपना र ३७.४ प्रतिशतमा कम तौलको समस्या देखिएको छ । ४८ प्रतिशत बालबालिका रक्तअल्पताबाट ग्रसित भएको गुरुङले बताइन् ।

प्रकाशित : वैशाख १०, २०८० ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?