कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

'नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने जति ठूला नेता भए पनि कारबाही हुनैपर्छ'

काठमाडौँ — नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न नेता र उनीहरूका आफन्तलाई कारबाही गर्न संसद्‍मा आवाज उठेको छ । कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ, नेमकिपाका सांसद प्रेम सुवाल, राप्रपाका महामन्त्रीसमेत रहेका सांसद धवलशमशेर जबरालगायतले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहलाई कारबाही गर्नुपर्ने माग गरेका हुन् । 

'नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने जति ठूला नेता भए पनि कारबाही हुनैपर्छ'

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा नाम ठूला नेताहरूको जोडिएकाले छानबिन र कारबाही नहुने हो कि भन्ने आशंका पनि व्यक्त गरेका छन् ।

'लज्जास्पद कुरा भएको छ कि नेपालीलाई भुटानी शरणार्थी बनाइदिने । नेपालीलाई भुटानी शरणार्थी बनाएर लाखौं, करोडौं रुपैयाँ असुलउपर गर्ने ? हजारौं जनतासँग रकम उठाइएको कुरा आएका छन् । यसमा ठूलै नेताहरूको पनि नाम जोडेर सञ्चारमाध्यममा आइपुग्या छ,' उनको आशंका थियो, 'ठूलोलाई चैन, सानोलाई ऐन हुन्छ कि ? नत्र होइन भने यस घटनामा जति ठूलै नेताको नाम जोडिए तापनि गृह प्रशासन काँप्न हुँदैन । गृह प्रशासनले दह्रोसँग खुट्टा टेकेर यसमा संलग्न जति ठूलो नेता भए पनि कारबाहीको दायरमा ल्याउनैपर्छ । कानुनको कठघरामा उभ्याउनैपर्छ ।'

नक्कली शरणार्थी प्रकरण : मुद्दा कमजोर बनाउने खेलमा प्रहरी

नेमकिपाका सांसद प्रेम सुवालले मन्त्री भइसकेका नेताहरूका छोरा नै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न भएको भन्दै राज्यका निकायले छानबिन गर्नुपर्ने बताए । 'मन्त्री भइसकेकाका छोराहरूको संलग्नतामा ८७५ जना नेपालीलाई भुटानी शरणार्थी बनाएर पठाउने भनी करोडौं रुपैयाँ ठगी गरियो । अख्तियार के गर्दैछ ?,' उनको प्रश्न थियो ।

मुलुकको व्यवस्था यस्ता शासकहरूका कारण कमजोर हुने सांसद सुवालको भनाइ थियो । उनले प्रजातन्त्र शासक दलका प्रतिनिधिहरूलाई स्वार्थ समूहरूको कब्जामा राख्नका लागि नभएको बताए ।

राप्रपाका सांसद धवलशमशेर जबराले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने काण्ड बनाएको बताए । सांसद जबराले ठूला मन्त्रीका छोराहरू ती घटनामा संलग्न रहेको भन्दै कानुनी कठघरामा उभ्याउन माग गरेका छन् ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ रहेको खुलेको थियो । त्यसमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत रहेको गिरोहलाई हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको पुष्टि भएको थियो । गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : चैत्र २७, २०७९ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?