कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्य अफ्रिकामा शान्ति स्थापना गर्दै नेपाली सेना

प्रताप विष्ट

बान्गुई, मध्य अफ्रिका — असुरक्षा र समस्याको चाङलाई पन्छाउँदै नेपाली सेना विगत ९ वर्षदेखि मध्य अफ्रिकी गणतन्त्र (सीएआर) मा शान्ति स्थापनाका लागि खटिरहेको छ ।

मध्य अफ्रिकामा शान्ति स्थापना गर्दै नेपाली सेना

लामो समयदेखि युद्धको भुमरीमा फसेको मध्य अफ्रिकीमा संयुक्त राष्ट्र संघमार्फत नेपाली सेनाले सन् २०१४ देखि शान्ति स्थापनार्थ आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ । मुलुकको अत्यन्त दुर्गम र द्वन्द्वग्रस्त क्षेत्र बोयो र जाङ्बामा नेपाली सेना तैनाथ छन् ।

दुवै क्षेत्रमा नेपाली सैनिकहरुले त्रिपालमुनि बसेर शान्ति स्थापनाका लागि काम गरिरहेका छन् । बोयोमा २ वर्षअघि हतियारधारी समूहले १७ जना स्थानीयबासीको हत्या र केहीलाई घाइते बनाएपछि बमबारीमा रहेको नेपाली सेनामध्ये बोयोमा १० जना महिलासहित ९० जना सैनिक जवान खटाइएको थियो ।

स्थानीय खोलाका कारणले उक्त स्थान जान समस्या भएपछि रुखको साँघु हालेर नेपाली सेना बोयो पुगेको थियो । बमबारीस्थित जबरजंग गणका गणपति राजेशविक्रम शाहीले भने, ‘हतियारधारीको आक्रमणबाट आतिएका स्थानीयबासीलाई नेपाली सेनाको उपस्थितिले राहतमात्र होइन औषधि उपचारको निम्ति अस्पताल भवनसमेत निर्माण गरिदिएको छ ।’

उक्त क्षेत्रमा शान्तिसेनामा खटिएका सैनिकहरुको भने त्रिपालमा बास छ । त्रिपालमुनि बसेर भएपनि बोयोबासीको संरक्षण गर्न नेपाली शान्ति सैनिक लागि परेका छन् । उक्त बस्तीमा नेपाली सैनिकहरुकै सक्रियतामा ६० लाख रुपैयाँको लागतमा १३ कोठे अस्पताल भवन निर्माण गरिएको छ । त्यसको छिट्टै नै उद्घाटन गर्ने कार्यक्रममा रहेको गणपति शाहीले जानकारी दिए ।

झन्डै ३ सय घर धुरी रहेको उक्त क्षेत्रमा शान्तिस्थापनाका लागि नेपाली सेना खटाइएको छ । अन्य मुलुकका शान्ति सेनामा खटिएका सैनिकहरु उक्त दुर्गम र जोखिमयुक्त क्षेत्रमा जान आनाकानी गरेकाले नेपाली सेनालाई खटिएको सैनिक अधिकृतहरुले बताए ।

हतियारधारीहरुले आक्रमण गरेर केही स्थानीयबासीको हत्या र केहीलाई घाइते बनाएपछि त्यतिबेला घाइतेहरुको उपचार गर्ने अवस्था पनि थिएन । उक्त बस्तीमा सामान्य खालको स्वास्थ्य चौकीसमेत थिएन । नेपाली सेनाले लगेको औषधिहरुबाट घाइतेहरुको उपचार गरिएको थियो । सेना उक्त स्थानमा पुगेर बसेपछि केही विस्थापितहरु पनि आ—आफ्नो घर फर्केका थिए । हतियारधारीहरु पनि अहिले गाउँमा देखापरेका छैनन् । बोयोबासीले अहिले आफूलाई सुरक्षित ठानेका छन् । मुलुकको दक्षिणी भेगमा पर्ने अर्को विकट एंव हतियारधारी समूहहरुको बाक्लो उपस्थिति रहेको जाङ्बामा शान्ति स्थापनामा खटिएका अधिकांश नेपाली सेनाको बास त्रिपालमा नै छ ।

राजधानीबाट झन्डै ७ सय किलोमिटरको दुरीमा रहेका उक्त क्षेत्रमा १७ जना महिलासहित एक सय ३ जना नेपाली सेना खटिएका छन् । हतियारधारीहरुलाई जाङ्बाबाट अन्यत्र भगाएर शान्ति स्थापनाका लागि सेना खटिएको छ ।

उक्त क्षेत्रमा बस्नका लागि जाङ्बाका पूर्वमेयरले एउटा भवन उपलब्ध गराएका छन् । त्यसले अपुग भएकाले त्रिपालमुनि बसेर नेपाली सेना खटिइरहेका छन् । राजधानीबाट उक्त क्षेत्रमा मोटरबाटो भएर पुग्न झन्डै २५ दिन लाग्छ । 'रातोमाटो र कच्ची बाटो भएकाले सवारी साधन चलाउन समस्या छ,' एक सवारी चालकले भने, 'झन्डै २५ दिन लाग्छ, रातोमाटो र कच्ची बाटो भएकाले सवारी साधन चलाउन समस्या छ ।' राजधानीबाट जाङ्बा पुग्न झन्डै महिना दिन लाग्ने र छिटै पुगियो भने २५ दिन लाग्ने ती चालकले बताए । उक्त क्षेत्रमा संयुक्त राष्ट्र संघको लगानीमा नेपाली सेनाले एक वर्षको बीचमा १४ वटा पक्की पुल बनाइसकिएको छ । अब २ वटा पुल बनाउन बाँकी छ । ‘त्यसपछि उक्त क्षेत्रमा नेपाली सेनाले स्थानीयबासीलाई सहज ढंगले सुरक्षा प्रदान गर्न सक्छ,’ गणपति शाहीले भने ।

शान्ति स्थापनार्थ खटिएका नेपाली सेनाको उपस्थितिपछि हतियारधारीहरु विस्थापित हुँदै गएको नेपाली सेनाको दाबी छ । स्थानीय दोभाषेसहितका सामाजिक कार्यकर्ता दविड दाउडले भने, ‘हाम्रो मुलुकमा खटिएका शान्ति सेनामध्ये यहाँका बासिन्दा नेपाली सेनामाथि धेरै विश्वास गर्छन्।’ हतियारधारी देख्ने बित्तिकै नेपाली सेना बसेको स्थानमा सुरक्षाका लागि आउने गर्छन्,' उनले थपे, 'त्यतिमात्र होइन, जहाँ नेपाली सेनाको ब्यारेक छ, त्यस वरिपरि हतियारधारीबाट विस्थापित भएकाहरु फुसको छाप्रो हालेर बसेका छन् । बोयो, जाङ्बामा मात्र होइन, बमबारीमा पनि हजारौं विस्थापितहरुले छाप्रो हालेर बसेका छन् ।

मुलुकको राजधानी बान्गुईबाट झन्डै चार सय किलोमिटर टाढा रहेको बमबारीमा जबरजंग गण रहेको छ । उक्त गण बसेको क्षेत्र वरिपरि हजारौं विस्थापितहरुको बसोबास छ । जबरजंग गणको नजिकै रहेको एक विस्थापित परिवार बस्नको निम्ति गणका पदिक एवं सैनिकहरुले करिब १२ लाखको लागतमा आवासीय भवन निर्माण गरिएका दिएका छन् । जबरजंग गणका सेनाहरु शान्ति स्थापनाका लागि मुलुककै दुर्गम क्षेत्र बोयो, जाङ्बा र क्वाङ्गोमा सेना खटाइएको छ । त्यतिमात्र होइन कालिजंग गणका ३० जना महिलासहित ४ सय ५ जना नेपाली सेना उक्त मुलुकको अत्यन्त दुर्गम क्षेत्र अलन्डियोमा खटाइएको छ ।

प्रमुख सेनानी विजय बस्नेतको नेतृत्वमा उक्त क्षेत्रमा शान्ति स्थापनाका लागि सेना खटाइएको छ । उक्त क्षेत्रमा पनि पूर्वाधारको अभाव छ । 'पूर्वाधारको अभावको बीचमा शान्ति स्थापना कार्यमा खटिइरहेका छौं,' प्रमुख सेनानी बस्नेतले भने, ‘हामी आउनुअघि यस क्षेत्रमा हतियारधारी समूहको बाक्लो उपस्थिति थियो, अहिले उनीहरु यस क्षेत्रबाट विस्थापित भएका छन्, स्थानीयबासीले सुरक्षाको अनुभूति गरेका छन् ।’

सहायक रथि यमबहादुर अधिकारीको नेतृत्वमा उक्त स्थानमा अवलोकन गर्न पुगेकाहरु समक्ष स्थानीय मेयर जोमन सिमोनसहित स्थानीयबासीले नेपाली सेनाको मुक्तकन्ठले प्रशंसा गरेका थिए । मेयर सिमोनले नेपाली सेनाको ब्यारेक बसेपछि यस क्षेत्रका बासिन्दा अहिले खुशी रहेको र निर्धक्कसँग आफ्नो काम गरिरहेको बताए ।

अफ्रिकाको केन्द्रमा रहेको उक्त मुलुकको राजधानी बान्गुईमा रहेको शान्ति सेनामा खटिएका नेपाली सेनाले महत्त्वपूर्ण जिम्मेवारी निभाउँदै आएको छ । विश्वका १२ वटा देशमा संयुक्त राष्ट्रसंघमार्फत नेपाली शान्ति स्थापनाका लागि खटिएको छ । यहाँको जस्तो महत्त्वपूर्ण जिम्मेवारी अन्य मुलुकमा दिइएको छैन । राजधानीमा रहेको सैनिक प्रहरीको जिम्मेवारी नेपाली सेनाले पाएको छ । उसले सडकमा बसेर जिम्मेवारी निभाएको छ ।

संयुक्त राष्ट्र संघ(यूएन)का सबै सवारी साधनहरुलाई रोकेर जाँच गर्ने, सवारीसाधन दुर्घटना भयो भने अनुसन्धान गर्ने नेपाली सेनालाई जिम्मेवारी दिएको छ । उक्त कार्यमा २२ जना महिलासहित १६९ जना सैनिक प्रहरी छन् । महिला सैनिक प्रहरी पनि सडकमा नै बसेर गाडी रोकेर जाँच गर्ने गरेका छन् । यूएन बाहेक अन्य सवारी साधनको उनीहरुले जाँच गर्न पाउँदैनन् । स्मरण रहोस् उक्त मुलुकमा सवारी साधन चलाउनका लागि लाइसेन्स दिने व्यवस्था नै छैन । बिना लाइसेन्सका चालकहरुले मोटरसाइकल र ट्याक्सी चलाउने गर्छन् । एउटा मोटरसाइकलमा आठ जनासम्म बोक्ने गरिन्छ । संयुक्त राष्ट्रसंघमार्फत शान्ति स्थापनाका लागि उक्त मुलुकमा १ सय २ जना महिलासहित १ हजार २ सय १७ जना नेपाली सैनिक खटिएका छन् ।

विश्वकै गरिब देशको दोस्रो स्थानमा रहेको यो मुलुक लामो समयदेखि बहुआयमिक द्वन्द्वमा जकडिएको छ । क्षेत्रफलको हिसाबले नेपालभन्दा ६ गुना ठूलो रहेको उक्त मुलुकमा राजनीति धार्मिक, साम्प्रदायिक र विदेश हस्तक्षेपका कारण द्वन्द्व गहिरिँदो छ ।

प्रचुर मात्रामा प्राकृतिक स्रोत साधनबाट भरिपूर्ण भए पनि आर्थिक, सामाजिक, शैक्षिक लगायत अत्यन्त कमजोर रहेको छ । क्यामरुन, चाड, दुई कंगो र दुई सुडानको सीमामा रहेको मध्य अफ्रिकी गणतन्त्र अहिले दुई दशकदेखि संकटमा फसेको छ ।

५४ लाखको हाराहरीमा जनसंख्या रहेको उक्त मध्य अफ्रिकी गणतन्त्र मानव पुँजी र मानव विकास सूचकांकको तल्लो तहमा छ । विश्वका एक सय ८९ देशमध्ये १८८ औंमा उक्त मुलुकको स्थान रहेको छ । आधारभूत सेवाहरूमा नागरिकहरूको पहुँच सीमित छ, पूर्वाधार अपर्याप्त छ, लैंगिक हिंसा व्यापक छ, र सामाजिक संरचना खस्किएको छ । यसको विशाल वन र महत्त्वपूर्ण कृषि क्षमता भएको जमिनको ५ प्रतिशत मात्र उपयोगमा छ । यस देशका कुल जनसंख्या मध्ये ५ प्रतिशत मात्र साक्षार रहेका छन् ।

प्रकाशित : चैत्र १६, २०७९ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?