२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

वर्षा न हिउँ

सिन्धुपाल्चोक‚ लमजुङ‚ सल्यान — हिउँद सकिन लाग्दासम्म हिमपात नहुँदा लेकाली डाँडाकाँडा र हिमशृंखला उराठलाग्दा भएका छन् । पुसपछि हिउँले सेताम्मे देखिने हिमाली डाँडा यसपालि फुस्रा देखिएका छन् । वर्षा र हिमपात नहुँदा सिँचाइ नपुगेर हिउँदे बाली चक्र नै प्रभावित भएको छ । हिउँखोलाका जलस्तर र पानीका मूल सुकेका छन् । नदी–खोलाको जलस्तर घट्दा विद्युत् उत्पादनसमेत प्रभावित भएको छ ।

वर्षा न हिउँ

सिन्धुपाल्चोक भोटेकोसी–४ का जम्लिङ शेर्पाका अनुसार १० वर्षअघिसम्म हिउँदका महिना हिउँ भरिइरहने डाँडा अचेल कालापहाड मात्रै देखिन्छन् । ११ चुचुराको जुगल हिमशृंखला, हेलम्बुको सेमिसिदाङ, ग्याल्जेन पिक, पाँचपोखरी थाङपालको दोर्जेलाक्पा, गाङछाम्बो शिखरहरू कालापहाड बनेका छन् । खडेरीका कारण चौतारा साँगाचोकगढी नगरपालिकाको साँगाचोक, बलेफी–३ फुल्पिङकोट, इन्द्रावती–८ ज्यामिरेमाने, मेलम्ची नगरको मेलम्ची बस्तीहरूमा खानेपानीको संकट छ । मुहान सुक्न थालेपछि पानीको हाहाकार हुन थालेको हो । २०७२ को भूकम्प र परकम्पनले यहाँका अधिकांश मुहान प्रभावित भएका थिए । असोजयता पानी नपर्दा सार्वजनिक पँधेरा र कुवामा पनि पानी घटेपछि गाउँमा समस्या भइरहेको स्थानीय प्रेम भण्डारीले बताए ।

साँगाचोकको विकटोल, भन्ज्याङ, कोटथोकका एक हजारभन्दा बढी घरधुरीलाई खानेपानीको जोहोमा निकै सास्ती छ । इन्द्रावतीको ज्यामिरेमाने, गहते, अर्चले, छाचोक, सिम्बारी, सुन्दरीपुरसम्मका झन्डै ७ सय ६८ भन्दा बढी परिवार सार्वजनिक एउटै धारामा पालो कुरेर पानी थाप्ने गर्छन् । ‘लामो समय वर्षा नहुँदा हिउँदेबाली पहेंलिँदै सुकेर गएको छ । यसपालि त हिउँदमै गर्मी पो बढ्न थाल्यो,’ बाह्रबिसे–९ राम्चे सहेले गाउँका चक्रध्वज तिवारीले भने । ‘हिउँदे वर्षा नहुँदा गहुँ, जौ, चना मसुरो, केराउ, आलु बाली र तरकारी फस्टाउन नसकेर डढिरहेका छन्,’ उनले भने । काली, अँधेरी, घट्टेसहित भोटेकोसी, सुनकोसी नदीको सतह पनि घटेको उनले बताए ।

सबैजसो स्रोतमा पानी घट्दा सर्वसाधारणलाई संकट भइरहेको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले बताए । ‘हिउँदे बालीको बीउसम्म उठ्लाजस्तो छैन । वर्षा र हिमपात नै नभई हिउँद बित्न लाग्यो,’ उनले भने । कृषि ज्ञान केन्द्र काभ्रेका अनुसार सिन्धुपाल्चोकका ६५ प्रतिशत कृषक खडेरीले बाली नफस्टाउने अवस्था आएपछि हतास छन् ।

वातावरणविद् रविनराज निरौलाका अनुसार जलवायु परिर्वतनको असरले बढ्दो तापक्रमका कारण हिमाल काला पहाड देखिन थालेका हुन् । प्रतिवर्ष सामान्यतः नौ मिलिमिटर वर्षा घटेको देखिन्छ भने ०.०४ डिग्री सेल्सियस तापक्रम बढेको पाइएको उनले बताए ।

वर्षा र हिमपात नहुँदा जलविद्युत् उत्पादनमा प्रतिकूल प्रभाव परेको छ । हिमनदीको पानी उपयोग गरिरहेका आयोजनाको ऊर्जा उत्पादन ह्वात्तै घटेको छ । पानीको बहावमा आधारित (रन अफ दि रिभर) प्रकृतिको जलविद्युत् आयोजना बर्खायाममा बाढी र हिउँदयाममा हिउँ पग्लिएर बगेको पानीमा निर्भर हुन्छ ।

लमजुङको बेंसीसहर–९ सिउँडीबारमा विद्युत् गृह रहेको ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रले बर्खामा ७२ मेगावाटसम्म विद्युत् उत्पादन गर्छ । केन्द्रका इन्जिनियर हीरालाल साहका अनुसार हाल अधिकतम ६६ र न्यूनतम २५ मेगावाटसम्म उत्पादन छ । ‘दिउँसो र राति २५ मेगावाट छ । साँझमा ५८ र बिहान ६६ मेगावाट उत्पादन भइरहेको छ,’ उनले भने ।

मर्स्याङ्दी–८ भुलभुलेस्थित ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजनाको उत्पादन हाल औसत ३० मेगावाट छ । गत वैशाखबाट सञ्चालनमा आएको मर्स्याङ्दी–६ ठूलीबेंसीस्थित न्यादी आयोजनाको क्षमता ३० मेगावाट हो । औसत ८.५ मेगावाट उत्पादन रहेको आयोजनाका प्लान्ट इन्चार्ज युगलाल गुरुङले बताए । पर्याप्त पानी नभएकाले उत्पादन घट्ने क्रममा छ । ‘हिमालमा हिउँ छैन, पानी परेन । खोलामा पानी नै छैन । उत्पादन बढ्ने कुरै भएन,’ उनले भने ।

दोर्दीखोलामा यसै वर्षदेखि सञ्चालनमा आएका ३ आयोजनाको उत्पादन हृवात्तै घटेको छ । २७ मेगावाटको दोर्दीखोलाको ८ मेगावाट छ । २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ ले ८ मेगावाट र १२ मेगावाटको दोर्दी–१ बाट उत्पादन ३.५ मेगावाट छ । ‘उत्पादन ३० प्रतिशतसम्म घटेको छ,’ प्लान्ट इन्जिनियर विजय खड्काले भने ।

दोर्दी करिडोरमा मात्रै ८० मेगावाटका आयोजना छन् । यो करिडोरको चेपे नदीमा बनेको ८.८३ मेगावाटको चेपे साना जलविद्युत्, ४ मेगावाटको माथिल्लो छन्दीखोला, २ मेगावाटको चन्दीखोला आयोजनामा पनि उत्पादन करिब एक तिहाइ घटेको छ । मर्स्याङ्दी करिडोरका ५ मेगावाटको सिउरीखोला, ४.४ मेगावाटको राधी, ४ मेगावाटको खुदी, स्याँगेलगायतको उत्पादन पनि एक तिहाइ घटेको छ । ३ मेगावाटको मिदिमखोला, ८.८ मेगावाटको रुदी ‘ए’, ६.६ मेगावाटको रुदी ‘बी’ बाट पनि घटेको छ । लमजुङका आयोजनाहरूबाट ९० मेगावाट पनि विद्युत् उत्पादन छैन । विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख इन्जिनियर मेघनाथ भट्टराई भन्छन् ‘साना आयोजनाको उत्पादन एक चौथाइ नै घटेको छ ।’

सल्यानका सिँचाइ सुविधा नभएका क्षेत्रमा गहुँ, जौ, चना, मसुरो, केराउलगायत बाली सुक्न थालेको छ । सल्यानमा पुस पहिलो सातायता वर्षा भएको छैन । पाक्दै गरेको बाली सुक्न थालेपछि किसान चिन्तित छन् । जिल्लामा यसपटक १५ हजार हेक्टरमा गहुँ र १ हजार ४० हेक्टरमा जौ खेती छ । वर्षा नहुँदा बाली सुक्न थालेको शारदा–८ मार्केका नोखिराम खड्काले बताए । ‘यो वर्ष लामो खडेरी पर्‍यो,’ उनले भने, ‘सिँचाइ नहुँदा गहुँ हरियो देखिन छाडेको छ ।’ झन्डै एक तिहाइ बाली सुक्न थालेको गुनासो उनले गरे ।

सिँचाइको सुविधा भएका खेतमा पनि गहुँ फस्टाउन नसकेको कालीमाटी–५ का भद्रबहादुर घर्तीले बताए । ‘लामो खडेरीले सिँचाइको पालो पाउनै मुस्किल छ,’ उनले भने, ‘पर्याप्त पानी नपाएर बाली फस्टाउनै पाएन ।’ १० रोपनी जग्गाको हिउँदे बालीले ६ महिना खान पुग्नेमा यो वर्ष गाह्रो हुने देखिएको उनले बताए । केही सेपिलो जग्गामा मात्र गहुँबाली हरियो देख्न सकिन्छ । पर्याप्त वर्षा नहुँदा यसपटक हिउँदे बालीसँगै फलफूल र तरकारी उत्पादनमा असर परेको कृषि विकास कार्यालयका निमित्त प्रमुख भरतकुमार बस्नेतले बताए । गत वर्ष सल्यानमा ३५ हजार ६ सय १० मेट्रिक टन गहुँ र १ हजार २ सय ८० मेट्रिक टन जौ उत्पादन भएको थियो ।

प्रकाशित : फाल्गुन १४, २०७९ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?