राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि उम्मेदवारी नदिने भएको छ । आइतबार मनोनयन दर्ता गर्नुअघि पार्टीबाट कसलाई उपाध्यक्षका लागि उम्मेदवार बनाउने भन्ने विषयमा धुम्बाराहीमा बसेको शीर्ष नेताहरूको बैठकले पार्टीबाट राष्ट्रिय सभाको उपाध्यक्षमा कसैलाई नउठाउने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

नेकपा (मा‌ओवादी केन्द्र) ले उपाध्यक्षमा आफ्नो पार्टीबाट उम्मेदवार उठाउने भएसँगै कांग्रेसले उक्त पदमा दाबी नगर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले भने उर्मिला अर्याललाई उपाध्यक्षमा उठाउने निर्णय गरिसकेको छ ।

यसअघि कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरेविरुद्ध ईश्वरी न्यौपानेलाई उठाएको थियो भने उपसभामुखमा मुक्ताकुमारी यादवलाई उठाएको थियो ।

राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीकी उर्मिला अर्यालले उम्मेदवारी दिँदै

प्रकाशित : माघ २२, २०७९ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीकी उर्मिला अर्यालले उम्मेदवारी दिँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभा उपाध्यक्ष पदमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन् । राष्ट्रियसभा उपाध्यक्षका लागि आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।

माओवादी केन्द्रको शनिबार बसेको स्थायी कमिटी बैठकले अर्याललाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो । 'हिजोको स्थायी कमिटी बैठकबाट मलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने निर्णय भएको अध्यक्ष तथा प्रधानमन्त्रीले जानकारी दिनुभएको छ । मलाई उम्मेदवारी मनोनयन दर्ता गर्न भन्नुभएको छ,' उनले भनिन् ।

राष्ट्रिय सभा अध्यक्षमा एमालेबाट गणेशप्रसाद तिमिल्सिना छन् । गठबन्धनबाट माओवादीको अर्यालले उम्मेदवारी दिन लागेकी हुन् । राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष फरक-फरक पार्टीबाट हुनुपर्ने कानुनी व्यवस्था छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल एमाले हो । उसका १६ जना सांसद छन् । राष्ट्रिय सभाको दोस्रो ठूलो दल माओवादी केन्द्रका १५ जना सांसद छन् भने तेस्रो दल कांग्रेसका १० सांसद छन् ।

राष्ट्रिय सभा उपाध्यक्षमा माओवादी केन्द्रकी सांसद अर्याललाई पार्टीको समर्थनमा उम्मेदवार बनाउन लागिएको एमाले राष्ट्रिय सभा दलको नेता देवेन्द्र दाहालले जानकारी दिए ।

संघीय संसद सचिवालयले जारी गरेको राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन तालिका अनुसार आजै ४:१५ बजे उम्मेदवारको सूची प्रकाशन हुनेछ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन भने सोमबार १२ बजे बस्ने बैठकमा हुनेछ ।

राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिने भएको छ । राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशिकला दाहालको सांसद पदको कार्यकाल सकिएपछि करिब एक वर्षदेखि उक्त पद रिक्त थियो ।

प्रकाशित : माघ २२, २०७९ ११:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×