बिस्केटको ५५ हात लामो लिङ्गो ढालियो, भैरब भद्रकालीको रथ जुधाइयो
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
भक्तपुर — भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने लिंगो आज साँझ ढालिएको छ । तान्त्रिक विधिअनुरूप पूजा अर्चना गरी आज साँझ लिंगो ढालेपछिे जात्रा सम्पन्न गरिएको हो । बिस्केट जात्राको चौथो दिन हिजो साँझ भेलुखेलस्थित ल्यासिंखेलमा उठाइएको लिंगो आज दिनभर जात्रा, पूजा एवं बली दिएर ढालिएको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![बिस्केटको ५५ हात लामो लिङ्गो ढालियो, भैरब भद्रकालीको रथ जुधाइयो](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/bisketjatrabhaktapur208009-0942024041511-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
कूल ५५ हात लामो, नाङ्लो जत्रो फराकिलो लिंगो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ढालिएको हो । लिंगो ठड्याउनु अघि लिंगोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिंगो ठड्याइने प्रचलन रहेको छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिंगो ढालिएको थियो ।
लिंगोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिने ईतिहाासविद् एवं संस्कृतिकर्मी डा पुरुषोत्तम लोचन श्रेष्ठले जानकारी दिए । भक्तपुरको प्रसिद्घ बिस्केटको लिंगो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।
लिंगो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ ।
लिंगो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटी ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ । भैरव र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो रथ जुधाउने कार्यलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)