२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

जात्रा हाँक्दै नयाँ पुस्ता

घमाःमा बसेर डोरी हाल्ने, झिक्ने, चुकुलद्वारा ब्रेक लगाउने र रथलाई दिशा दिनेजस्ता यात्राकै सबैभन्दा चुनौतीपूर्ण भूमिकामा यसपालि युवाहरू सामेल भए
दामोदर न्यौपाने

काठमाडौँ — सेतो मत्स्येन्द्रनाथको मूर्तिलाई गत बुधबार तीनधारा पाठशालाबाट रथमा राखेर शनिबार लगनटोल पुर्‍याइरहँदा यस पटकको रथयात्रा विशेष रह्यो । लामो इतिहास बोकेको रथयात्राको घमाः उर्फ स्टेरिङमा यसपालि युवापुस्ता देखिए । 

जात्रा हाँक्दै नयाँ पुस्ता

बालकृष्ण महर्जनले यसपालि सेतो मत्स्येन्द्रनाथ रथको घमाः व्यवस्थापन गर्न छोरा उजनलाई पनि लगाए । रथको सबैभन्दा अगाडि बसेर २० वर्षीय उजनले रथ हाँक्न सिकिरहेका थिए । रथको सबैभन्दा अगाडिको भागलाई घमाः भनिन्छ । घमाः व्यवस्थापन रथयात्राको सबैभन्दा चुनौतीपूर्ण पक्ष मानिन्छ । ‘नयाँ पुस्तालाई पनि संस्कृति/परम्परामा सामेल गराउनुपर्छ भनेर यो वर्षदेखि हामीलाई सिकाइएको हो,’ उजनले भने, ‘यसबाट हामी पनि निकै उत्साहित छौं ।’

बालकृष्णले छोरालाई मात्र नभई भतिजालाई पनि सिकाइरहेका छन् । बलुज, सुरज, नविजले पनि घमाः व्यवस्थापनको कला सिकिराखेका छन् । घमाः व्यवस्थापन गर्न १० जनाको टोली खटिएको छ । तीमध्ये आधाजति पाका पुस्ता र बाँकी नयाँ पुस्ताका समेटिएर काम गरिएको बालकृष्णले सुनाए । घमाःमा बस्नेले डोरी हाल्ने र झिक्ने, चुकुल लगाउने र रथलाई ब्रेक लगाउने काम गर्नुपर्छ । ‘कुन दिशामा रथलाई लैजाने भन्ने मुख्य काम नै घमाः व्यवस्थापन गर्नेको हुन्छ,’ बालकृष्णले भने, ‘थोरै तरिका मिलेन भने रथ लड्न सक्छ । त्यही भएर तगडा टिम चाहिन्छ, यसको व्यवस्थापनमा ।’

रथको घमाः व्यवस्थापनको जिम्मा पनि एउटा मात्रै टोलीलाई दिइएको छ । पहिला जोकोही पनि जान पाउँथे । टोलीले रथको पाङ्ग्राको चाललाई व्यवस्थापन गर्छ । यसपालिको घमाः व्यवस्थापनको संयोजन बालकृष्णले गरेका हुन् । यसअघि घमाः विज्ञ नरेश महर्जनको संयोजकत्वमा टोली बनाइएको थियो । बालकृष्ण यही टोलीको सहयोगी थिए । टोलीले घमाःमा बसेर रथको यात्रालाई काबुमा राखेको हुन्छ ।

मत्स्येन्द्रनाथको रथ तान्ने परम्परा लिच्छविकालीन मानिन्छ । परम्परागत रूपमा ब्रेक लगाउने काम डोरीले गरिन्थ्यो । डोरीले ब्रेक लगाउँदा भनेकै ठाउँमा रोक्न समस्या हुने गर्थ्यो । बारम्बार दुर्घटना हुन थालेपछि पुरातत्त्व विज्ञले पछिल्लो समय विकसित गरेको प्रविधि हो यो । पछिल्लो पटक २०६२ सालमा दुर्घटनाग्रस्त भएको सेतो मत्स्येन्द्रनाथको रथ यो प्रविधिको प्रयोगयता दुर्घटनामा परेको छैन । रथको पाङ्ग्रा राम्रोसँग रोक्न नसक्दा उक्त दुर्घटना भएको थियो । त्यसपछि भने रथ रोक्न डोरीसँगै फलामको डन्डी पनि प्रयोग गर्न थालियो । जात्रामा चुकुल व्यवस्थापनको काम मुख्य काम हो । फलामको बिँड भएको सानो काठको टुक्रा बोकेर रथको दायाँबायाँ बसेका युवाले गुडिरहको रथलाई अचानक रोक्न परेमा चुकुलको प्रयोग गर्छन् । हेर्दा सानो भए पनि परेको ठाउँमा रथ रोकिहाल्ने ‘ब्रेक’ को काम गर्छ, चुकुलले ।

युवापुस्ताको चासो मात्र होइन, सहयोग पनि बढेको छ । पहिला आकर्षण त्यति थिएन, अहिले आफ्नो संस्कृति जोगाउनुपर्ने रहेछ भनेर जात्रा पर्वमा युवा आकर्षण बढ्दै गएको छ

भीडलाई व्यवस्थापन गर्न ५० जनाको स्वयंसेवक टोली खटिन्छन् । यसको नेतृत्व यस पटक ३७ वर्षीय केयुरमान सिंहले गरेका छन् । स्वयंसेवक टोलीले दर्शन गर्न आउनेलाई लाइन बस्न प्रेरित गर्ने, हूलहुज्जत गर्न नदिने गरिरहेका छन् । ‘मैले घमाःको अगाडि बसेर भीड नियन्त्रण गर्दै आएको छु,’ सम्पदा संरक्षण अभियानकर्मी मीरा महर्जनले भनिन्, ‘कोही बेला हूलहुज्जत गर्न आउँछन् । यस्तो बेला केटा मान्छेले सम्झाउँदा इगोका रूपमा लिन सक्छन् । झन् झगडा पर्न सक्छ । त्यही भएर सम्झाउने काममा केटी मान्छे खट्छौं । म त्यही गर्छु । इन्द्रजात्रामा पनि मेरो काम भीडलाई सम्झाउने नै हो ।’

नेवार समुदायका सबै मिलेर यो जात्राको तारतम्य मिलाउँछन् । रथ बनाउन नेवार समुदायका बेग्लाबेग्लै जातिबीच कामको बाँडफाँट हुन्छ । रथको काठको (डकर्मी) काम मानन्धर समुदायले गर्छ । रथका लागि काठको जोरजाममा महिना दिनअघि नै मानन्धर समुदाय जुट्छ । सुरुमा गत वर्षका काठ काम लाग्ने छ/छैन भनेर जाँच्ने बताउँदै मानन्धर समुदायका कान्छा सदस्य प्रदीप मानन्धरले भने, ‘काठ काम लाग्ने छैन भने नयाँ फेरिन्छ ।’ काठ चाहिएमा व्यवस्था गर्ने काम भने गुठी संस्थानको हो । संस्थानले अग्राखको काठ उपलब्ध गराउँछ । देउतामाथि बस्ने चाँदीको इँला राख्ने काम पनि मानन्धर समुदायकै हो । मुख्य गेटमा टुँडाल राख्ने काम पनि यही समुदायले नै गर्छन् । पछिल्ला वर्ष यी सबै काममा युवापुस्ताको उल्लेख्य संलग्नता देखिन थालेको छ ।

चित्रकारले पाङ्ग्रामा आँखाको चित्र कोर्छन् । रथ निर्माण विज्ञ सत्यनारायण डंगोलका अनुसार आँखालाई नागको प्रतीकका रूपमा लिइन्छ । कंसाकारले रथयात्रामा बाजागाजा बजाउँछन् । पूजा गर्ने काम शाक्यले गर्छन् । फूल व्यवस्थापन मुनिकार समुदायले गर्छन् । रथ यात्राको मुख्य जिम्मेवारीचाहिँ ज्यापु समुदायको हुन्छ । रथयात्राका क्रममा प्रत्येक तलामा बस्ने काम ज्यापु (कृषक) समुदायकै हुन्छ । मत्स्येन्द्रनाथको उत्पत्तिको कथा पनि किसान समुदायसँगै जोडिएको छ । किसानले जमलमा खेत खन्दा सेतो मत्स्येन्द्रनाथको मूर्ति भेटिएको जनविश्वास छ । ‘खेत खन्दा भेटिएको मूर्ति कहाँ राख्ने भन्ने भयो,’ पुजारी नीलकाजी शाक्यले भने, ‘खन्दा भेटिएका भगवान्ले सपनामा राजालाई कन्क चैत्य महाविहारमा राख्नु भनेछन् । त्यहीअनुसार महाविहारमा राखियो । जमलमा भेटिएको हुनाले रथ यहीं कस्न थालियो । अनि रथ तान्न पनि यहींबाट सुरु गरियो ।’

चैत्र शुक्ल अष्टमीबाट रथ तान्न सुरु हुन्छ । पहिलो दिन जमलबाट तानेर असन लगिन्छ । जमलबाट रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्‍याइन्छ । असन पुर्‍याएपछि राष्ट्रपतिले अवलोकन गर्छन् । पहिला राजाले अवलोकन गर्थे । राजसंस्था हटेपछि राजाले गर्ने सांस्कृतिक गतिविधि राष्ट्रपतिले गर्न थालेका हुन् । भोलिपल्ट बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै कालभैरव अगाडि राखिन्छ । तेस्रो दिन कालभैरवबाट मरुगणेश, जैसीदेवल, जनबहाल हुँदै लगन लगिन्छ । लगनमा मत्स्येन्द्रनाथको आमा भएको विश्वास गरिन्छ । त्यहाँ तीन पटक घुमाइन्छ । लगनमा जात्रा सकिएको भोलिपल्ट विशेष पूजा गरेर रथबाट मत्स्येन्द्रनाथलाई निकालिन्छ । त्यहाँबाट सानो खटमा राखेर जनबहालको कनक चैत्य महाविहारमा लगिन्छ । त्यहाँ बिहारको बीचमा नलगी छेउमै राखिन्छ । भोलिपल्ट स्वस्ति शान्ति, होम गरेपछि पहिलाकै ठाउँमा विराजमान गराइन्छ । रथमा राख्न पनि महाविहारबाट सानो खटमा पुजारीले बोकेर जमल लैजान्छन् ।

९ तले रथ ३६ हात अग्लो हुन्छ । रथ विज्ञ सत्यनारायणका अनुसार हरेक तलाको अर्थ छ । एक तला ४ हातको हुनुपर्छ । ‘यो परम्परागत शैलीको उचाइ हो,’ डंगोलले भने, ‘हरेक तलाको सम्बन्ध ब्रह्माण्डसँग छ । तन्त्र विधिअनुसार तला निर्माण गरिन्छ ।’ सेतो मत्स्येन्द्रनाथ जात्रा व्यवस्थापन समितिका अध्यक्ष तथा पुजारी नीलकाजी शाक्यका अनुसार पहिले रथले घर छोइदिएकै निहुँमा झगडासमेत पर्थ्यो । रथ मोड्न अप्ठेरो हुन्थ्यो । बाटो पनि गतिला थिएनन् । ‘कोही बेला रथ बाँगो पनि बनाइदिँदा रहेछन्,’ शाक्यले भने, ‘त्यही भएर घरमा छुन्थ्यो, लड्थ्यो । अहिले यस्तो समस्या छैन ।’ सामान्यतया चार दिन चल्छ यो जात्रा । जात्रा चार दिन चल्ने भए पनि कोही बेला रथ दुर्घटना भएर जात्रा लम्बिएको उदाहरण छन् । ‘रथ ठाउँमा नपुर्‍याएसम्म जात्रा सकिँदैन,’ शाक्यले भने, ‘रथमा खराबी आयो वा दुर्घटना भयो भने जात्रा लम्बिन्छ । जात्रा लम्बियो भने खर्च पनि बढ्छ । समस्या हुन्छ ।’ असन र इन्द्रचोकको बीचमा रहेको महाविहार कलात्मक छ । दुई रोपनी क्षेत्रफलमा पित्तलले बनेको छ, यो लिच्छविकालीन महाविहार । महाविहारभित्र ५ फिट अग्लो सेतो मूर्ति छ । मूर्तिलाई गहना र वस्त्रले सजाइएको छ । तलतिर हेरिरहेको मूर्ति छ । जसको अर्थ पृथ्वीतिर हेरेको हो । सेतो मत्स्येन्द्रनाथलाई यमलोकेश्वर, अमोघपास लोकेश्वर, पद्मपाणि, आर्यावलोकितेश्वर जस्ता नामले पनि पुकारिन्छ । यी देवतालाई वैष्णवले विष्णुका रूपमा, शैवहरूले शिवका रूपमा, शाक्तहरूले शक्तिका रूपमा, सौरहरूले सूर्यका रूपमा, ब्राह्मणहरूले ब्रह्माका रूपमा, वैदिकहरूले लोकेश्वरका रूपमा र बौद्धहरूले करुणामयका रूपमा अर्चना गर्छन् ।

मत्स्येन्द्रनाथमा मात्र नभई उपत्यकाका हरेक जात्रा पर्वमा युवापुस्ताको आकर्षण बढ्दै गएको मीराको अनुभव छ । ‘युवापुस्ताको चासो मात्र होइन, सहयोग पनि बढेको छ,’ सम्पदा संरक्षण अभियानकर्मी गणपतिलाल श्रेष्ठले भने, ‘पहिला युवाको आकर्षण त्यति थिएन । अहिले विदेश गए, केही बुझेर आए । सञ्चार माध्यमले पनि चेतना फैलाउँदै गयो । बाहिरी देशमा आफ्नो संस्कृति जोगाउन भएका प्रयास हेरे, बुझे । अनि हामी पनि जोगाउनुपर्ने रहेछ भनेर जागरुक भएका छन् । अघिल्ला पुस्ताले पनि पछिल्ला पुस्तालाई सिकाउनुपर्छ भन्ने चेतना बढ्दै गएको पाइन्छ । यस्ता जात्रा पर्वमा युवा आकर्षण बढ्दै गएको छ ।’ गत वर्षको भन्दा यो वर्ष रथयात्रामा भीड बढेको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : चैत्र १९, २०७९ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?