नक्कली परीक्षार्थी खडा गरेको आरोपमा प्रिन्सिपल पक्राउ

काठमाडौँ —  कक्षा १२ को परीक्षामा सहभागी गराउन कागजात मिलाएर नक्कली परीक्षार्थी खडा गरेको आरोपमा काठमाडौं प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ । काठमाडौं धुम्बाराहीस्थित प्रोलिफिक सेकेन्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महतलाई महाराजगन्ज प्रहरी वृत्तले पक्राउ गरेको हो । 

नक्कली परीक्षार्थी खडा गरेको आरोपमा प्रिन्सिपल पक्राउ

उक्त स्कुलले प्रवेशपत्रमा विद्यार्थीको सट्टा अन्य व्यक्तिको तस्बिर राखेर नक्कली परीक्षार्थी परीक्षामा सहभागी गराउने तयारी गरेको उजुरी शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्डमा परेको थियो । मन्त्रालय र बोर्डले कारबाहीका लागि गृह मन्त्रालय र काठमाडौं महानगरलाई आग्रह गरेका थिए । उक्त स्कुलका १२ जना विद्यार्थीमध्ये ५ जनाको रजिस्ट्रेसन गर्दा र प्रवेशपत्रको तस्बिर फरक परेको बोर्डकी वाग्मती प्रदेश कार्यालय प्रमुख जयन्ती सत्यालले बताइन् । उजुरीपछि महानगरले समेत कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई पत्राचार गरेको थियो । परीक्षाअगावै नक्कली परीक्षार्थी पहिचान भएपछि उनीहरू परीक्षामा भने सहभागी हुन पाएनन् ।

बोर्डका अनुसार विद्यार्थीहरू दीपक महत, तिलबहादुर महत, प्रशान्त बिष्ट, मुकेश चन्द र विवेक न्यौपानेको परीक्षा आवेदन दिँदा अन्य व्यक्तिको तस्बिर टाँसिएको थियो । उनीहरू गतवर्ष कक्षा १२ को परीक्षामा असफल भएका थिए । प्रवेशपत्रमा तस्बिर राखिएकाहरू गतवर्ष कक्षा १२ को परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरू रहेको बोर्डले जनाएको छ । प्रवेशपत्रमा तस्बिर राखिएका विद्यार्थीले समेत प्रिन्सिपल महतलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएका थिए । काठमाडौं प्रहरीले प्रिन्सिपल र थप व्यक्तिको संलग्नताबारे अनुसन्धान भइरहेको जनाएको छ । विद्यार्थीहरू दीपक र तिलबहादुर प्रिन्सिपल गोपालबहादुरका भाइहरू रहेको विद्यालय स्रोतले जनायो । प्रारम्भिक छानबिनमा नक्कली परीक्षार्थीका लागि प्रवेशपत्र बनाएको भेटिएपछि थप अनुसन्धान र कारबाहीका लागि प्रहरीमा पठाइएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए ।

उक्त विद्यालयका अन्य ६ विद्यार्थीलाई भने परीक्षा दिने व्यवस्था मिलाइएको छ । बोर्डको निगरानीमा उनीहरू वैशाख १४ देखि सुरु भएको परीक्षामा सहभागी छन् । बोर्डले विद्यालयमाथि नै अनुसन्धान गर्नुपर्ने जनाएको छ । शिक्षा मन्त्रालयले भने बोर्डका कर्मचारीको समेत मिलेमतोमा नक्कली परीक्षार्थी बनाउने काम भएको हुन सक्ने आशंकामा छानबिन र कारबाही गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेको छ ।

शुक्रबारदेखि सञ्चालित परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र केही विद्यार्थीलाई निष्कासन गरिएको समेत बोर्डले जनाएको छ । परीक्षामा अनियमितता गरेको आरोपमा सप्तरीको एक परीक्षा केन्द्रका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष परिवर्तन गरिएको अर्यालले बताए ।

प्रकाशित : वैशाख १६, २०८१ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?