हाम्रो वित्त नीति भोट वा नोटका लागि मात्र हुने गरेको छ : महामन्त्री थापा

वैशाख ३०, २०८१

कान्तिपुर संवाददाता

Our finance policy is only for votes or notes: Mahamantri Thapa

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले वित्त नीति भोट वा नोटका लागि मात्रै हुने गरेको बताएका छन् । आइतबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'कान्तिपुर इकोनोमिक समिट–२०२४' को चौथो सत्र 'अर्थतन्त्र आधारभूत आवश्यकता : राजनीतिक नेतृत्वको सामूहिक प्रतिबद्धता’ मा महामन्त्री थापाले  कल्याणकारी आर्थिक नीतिको समीक्षा गर्नुपर्नेमा जोड दिएका हुन् । 

'हाम्रो वित्त नीति भोट वा नोटका लागि मात्रै केन्द्रित छ, तर यस्ता कल्याणकारी नीतिको समीक्षा गर्ने अवस्था आइसकेका छौं,’ उनले भने, 'सामाजिक सुरक्षा भत्ता, पेन्सन, अपांग भत्तालगायत सरकारी अनुदानका कार्यक्रमहरूमा संशोधन गर्ने अवस्था आइसक्यो ।’ वृद्धभत्तामा प्रतिस्पर्धा गरेर ७० बाट ६८ वर्षमा झारिएको पनि उनले स्वीकारे । 

निजी क्षेत्रले लगानीमैत्री वातावरण बनाउनका लागि दर्जनौं कानुन संशोधन गर्न आग्रह गरिरहेको उनले बताए । 'हामी सरकारमा भए/नभए पनि अर्थतन्त्रलाई चलायमान बनाउन संशोधन गर्नुपर्ने कानुनहरू सरकारले पहिचान गर्नुपर्छ,’ उनले भने, 'त्यसमा  'वार फुटिङ’ रूपमा काम गर्न हामी तयार छौं ।’

निर्वाचन क्षेत्रमा कसले ठूलो मन्दिर वा टावर बनाउनेमा प्रतिस्पर्धा नगरी अबको १० वर्ष सीमित स्रोतलाई कुन पूर्वाधारमा लगाउने बिन्दुमा आइपुग्नुपर्ने महामन्त्री थापाको भनाइ छ । 

हालको विनियोजित बजेटले ४० वर्षमा सिक्टा आयोजना निर्माण सकिने बताउँदै महामन्त्री थापाले आयोजना सकेपछि त्यस क्षेत्रमा धान नभई घर मात्रै फल्नेसमेत महामन्त्री थापाको भनाइ छ । सीमित स्रोतलाई गलत ठाउँमा प्रयोग गरिरहेको समेत उनले बताए । 

कान्तिपुर

Link copied successfully