काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपालसँग धेरै कुरा भए पनि आर्थिक रुपमा सम्पन्न हुन नसकेको बताएका छन् ।
आइतबार कानितपुर मिडिया ग्रुपले आयोजना गरेको 'इकोनमिक समिट -०२४' को चौथो सत्र 'अर्थमन्त्र : राजनीतिक नेतृत्वको प्रतिबद्धता' मा प्रमुख सचेतक परियारले प्राकृतिक स्रोधसाधनले सम्पन्न भए पनि त्यसलाई आर्थिक परिवर्तनमा रुपान्तरण गर्न नसकिएको बताएका हुन् ।
'धेरै कुरा नेपालसँग छ तर पनि नेपाली जीवन आर्थिक रुपमा सम्पन्न हुन सकेको छैन । प्राकृतिक स्रोतसाधनले यति धेरै सम्पन्न विरलै देशहरू हुन्छन्,’ उनले भने, 'पर्यावरण त झन् अद्भुत नै छ । यस्तो हुँदा पनि हामी आर्थिक रुपमा जति सम्पन्न हुनुपर्ने हो, हुन सकेनौँ ।’
राजनीतिक रुपमा अपत्यारिला परिवर्तनहरू गर्न सफल भए पनि राजनीतिक परिवर्तनलाई आर्थिक विकास गरेर जनताको जीवनसँग जोड्न नसकिएको प्रमुख सचेतक परियारले बताए । उनले भने, 'हाम्रो राजनीतिले या भनौं राजनीतिक पार्टीहरूले प्रयत्न नै नगरेको भने होइन । मलाई लाग्छ, धेरै प्रयास गर्दा पनि नभएको हो । त्यसो हो भने किन भएन ? के कारणले हुन दिएन ? जस्ता प्रश्नहरूको जवाफ हामीले खोज्नुपर्छ ।’
नेपालको अर्थतन्त्र इतिहासकै जटिल मोडमा रहेको भन्दै प्रमुख सचेतक परियारले राष्ट्रिय स्वतन्त्र पार्टी सबैसँग मिलेर काम गर्न तयार रहेको बताए । उनले अगाडि भने,'राष्ट्रिय स्वतन्त्र पार्टी त्यो सामूहिक कार्यका लागि सबैसँग मिलेर काम गर्न तयार भएर आज राजनीतिमा छ । मलाई लाग्छ, आजको नेपाली अर्थतन्त्र सम्भवतः इतिहासकै जटिल मोडमा छ ।’
प्रमुख सचेतक परियारले अर्थमन्त्रीलाई आगामी बजेटको आय र व्ययको अनुमान यथार्थपरक, विश्वसनीय र सुधारको सन्देश दिनसक्ने खालको बनाउन पनि सुझाव दियो । उनले सार्वजनिक वित्तको प्रवृत्ति र संरचनामा आमूल सुधार गर्न पनि अर्थमन्त्रीलाई सुझाव दिएका छन् । प्रमुख सचेतक परियारको अर्को सुझाव छ, 'क्रमिक सुधार मात्र होइन नयाँ सोच, प्रस्थान, क्रमभंगता र रुपान्तरणकारी योजनाहरूको छुट्टै प्रणाली हुनुपर्ने ।’
