काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाहमुखी र गुजारामुखी उत्पादनमा ठुलो जनसंख्या संलग्न हुनु पनि विकासको चुनौती भएको बताएका छन् । आइतबार कान्तिपुर मिडिया ग्रुपले गरेको ‘इकोनमिक सम्मिट २०२४’ को अन्तिम सत्र ‘अर्थमन्त्रः राजनीतिक नेतृत्वको प्रतिबद्धता’ मा आफ्ना विचार राख्दै महासचिव पोखरेलले राजनीतिक परिवर्तन पश्चात पनि संरचनागत सुधार हुन सकेको बताए ।
‘युवाजनशक्तिको विदेश पलायन र लाहुरे संस्कृतिको प्रभाव पनि विकासको बाधकका रुपमा रहेका छन्,’ उनले भने, ‘पछिल्लो आर्थिक संकटले उद्यमी र व्यवसायीहरुको मनोवलमा ह्रास आएको छ ।’
पूँजीको परिचालनमा समानता नभएको पनि उनले बताए । ‘पुँजीको परिचालन धितोमा आधारित रह्यो, परियोजना आधारित भएन भन्ने गुनासोहरु रहेका छन्,’ उनले थपे, ‘राष्ट्र वैंक वैंकहरुको बैंक मात्र बन्यो तर, राष्ट्रको बैंक बन्न अझै सकेको छैन । मौद्रिक नियन्त्रण र सन्तुलनमा केन्द्रीत र विकास अर्थतन्त्रको निर्माणमा उदासीन छ ।’
मुलुकमा अन्तरनिकाय संयोजनको समस्या जटिल रहेको पनि उनले बताए । पुँजीगत खर्चमा कमी हुँदै जानु, साधारण खर्च बढ्दै जानु, उत्पादन र उद्यमशीलतामा कमी, अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन नसकिनु अर्थतन्त्रका मुख्य समस्या रहेको उनले बताए । अवैधानिक र तस्करतन्त्रको प्रोत्साहन गरिदा मौद्रिक संकट उत्पन्न भएको उनले बताए ।
