आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रको प्रवर्द्धन गर्नुपर्छ : उपाध्यक्ष भुसाल

वैशाख ३०, २०८१

कान्तिपुर संवाददाता

Private sector should be promoted for economic transformation: Vice President Bhusal

काठमाडौँ — नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै तुलनात्मक लाभ र प्रतिस्पर्धी क्षेत्रमा लगानी गरी आय, रोजगारी र अर्थतन्त्रमा योगदान बढाउनु पर्ने बताएकी छिन् । 

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘इकोनोमिक समिट–२०२४’ को चौथो सत्र ‘अर्थतन्त्र आधारभूत आवश्यकता : राजनीतिक नेतृत्वको सामूहिक प्रतिबद्धता’मा उपाध्यक्ष भुसालले आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रको सुरक्षा र प्रवर्द्धन गर्न नीतिगत सुधार एवं आवश्यक प्रोत्साहन गर्नुपर्ने बताएकी हुन् ।  आर्थिक आधारहरूको सबलीकरण र पुँजीगत खर्च क्षमता अभिवृद्धि र लगानी सुनिश्चित गर्नुपर्ने उनले बताइन् ।

मुलुकको राजनीतिक क्षेत्रमा युगान्तकारी परिर्वतन भएको उल्लेख गर्दै उपाध्यक्ष भुसालले सुशासन कायम गरी आर्थिक एवं सामाजिक विकास तथा आधुनिक पूर्वाधारको विकासको क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्ने कार्ययोजनासहित थप काम गर्नु आजको मुख्य आवश्यकता भएको बताइन् । उनले भनिन्, ‘नेपालको संविधानले परिकल्पना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको माध्यमबाट सुशासन, विकास र समृद्धि हासिल गरी स्वाधीन, समुन्नत तथा समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने उद्देश्य पूरा गर्न सरकारी, निजी, सहकारी क्षेत्र तथा प्राज्ञिक एवं नागरिक समाज लगायत अन्य क्षेत्रहरूबीच समन्वय आवश्यक छ ।’

मर्यादित रोजगारी सिर्जना गरी युवाशक्तिलाई मुलुकभित्रै परिचालन गर्नुपर्ने पनि उपाध्यक्ष भुसालले बताइन् । उनले भनिन्, ‘उद्यमशीलताको विकास र आन्तिरिक उत्पादनको आधारलाई सबल तुल्याउनुपर्नेछ । उपभोग्य वस्तुमा आत्मनिर्भर हुने र सेवा प्रवाहलाई चुस्त र सुशासित बनाउनुपर्दछ । अर्थतन्त्रको संरचनागत सुधार र लगानीको वातावरण निर्माण गर्ने विषयहरूमा नयाँ सोच र नविनतम समाधान गर्नुपर्छ ।’

सहकारी क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै संकलित पुँजीलाई उत्पादन र गरिबी निवारणमा खर्च गर्नुपर्ने आवश्यकता रहेको पनि उनले बताइन् । आर्थिक विकासका निम्ति राजनीतिक स्थिरता अनिवार्य भएकाले विद्यमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिवर्तन गर्न आवश्यक रहेको उपाध्यक्ष भुसालले बताइन् । सबै प्रकारका विभेदको अन्त्य गर्दै विकासको प्रतिफल न्यायोचित तवरले वितरण गर्न प्रभावकारी सामाजिक सुरक्षा प्रणालीको विकास गरी कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिइन् । 

आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रको सुरक्षा र प्रवद्र्धन गर्न नीतिगत सुधार एवं आवश्यक प्रोत्साहन गर्नुपर्ने उपाध्यक्ष भुसालले बताइन् । ‘औपचारिक र सङ्गठित क्षेत्रका साथै वैदेशिक रोजगारीमा रहेका र अनौपचारिक एवं स्वरोजगार श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सबैलाई आबद्ध गरी दिगो र सामाजिक न्यायको सुनिश्चिता गरिनुपर्छ,’ उनले भनिन् ।

कान्तिपुर

Link copied successfully