काठमाडौं महानगरपालिका-१६ को कार्यालय अब आफ्नै भवनमा

वैशाख २८, २०८१

कान्तिपुर संवाददाता

The office of Kathmandu Metropolitan City-16 is now in its own building

काठमाडौँ — काठमाडौँ महानगरपालिका वडा नं १६ को नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन तथा स्वर्गीय वडाअध्यक्ष मुकुन्द रिजालको पूर्ण कदको शालिक अनावरण गरिएको छ । 

काठमाडौँ महानगरपालिकाको सात करोड ५३ लाख लगानीमा चमतीमा निर्माण भएको उक्त भवन तथा शालिकको शुक्रबार काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उद्घाटन तथा अनावरण गरिन् । 

उपप्रमुख डंगोलले समृद्ध वडा निर्माणका लागि वडाअध्यक्षका पमा स्वर्गीय रिजालले खेलेको भूमिका महत्वपूर्ण रहेको बताइन् । “सबै एकजुट भएर समृद्ध वडा निर्माण गर्नसकेमात्र स्व रिजालप्रति उच्च श्रद्धाञ्जली हुनेछ”, उनले भनिन्। उपप्रमुख डंगोलले स्पष्ट वक्ता र निर्भिक व्यक्ति रिजालको अभाव वडामात्र नभई काठमाडौँ महानगरपालिकाभित्र खड्किरहेको उल्लेख गरिन् । 

 काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले सहमति सहकार्य र एकताको साथ अगाडि बढेमात्र समृद्ध वडा र समृद्ध महानगर निर्माण हुने बताए । उनले आफू प्रमुख हुँदा नै सबै वडामा सुविधासम्पन्न वडा भवन निर्माण गर्ने लक्ष्य लिएको स्मरण गर्दै उक्त लक्ष्य क्रमशः पूरा हुँदै गएकोमा खुशी व्यक्त गरे । 

२०७६ सालमा काठमाडौँ महानगरपालिकाले विष्णुमति करिडोरस्थित चमतीमा एक रोपनी चार आना जग्गा खरीद गरी विस २०७८ साउन ३० गते शिलान्यास गरेको काठमाडौँ महानगरपालिका वडा नं १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनले जानकारी दिए । भूमिगत पार्किङसहित छ तला रहेको उक्त भवन तीन हजार वर्गफिट क्षेत्रफलमा फैलिएको छ । उक्त भवनको कार्यादेश रकम सात करोड ५३ लाख २२ हजार रहेको छ ।

कार्यक्रममा स्वर्गीय वडाअध्यक्ष रिजालको पूर्ण कदको शालिक निर्माण गर्ने मूर्तिकार महेश तुलाधरलाई सम्मान गरिएको थियो । स्वर्गीय वडाअध्यक्ष रिजालकी धर्मपत्नी कविता आचार्य रिजालले आफ्ना श्रीमान् रिजालले गर्न बाँकी रहेका अधुरा सपना पूरा गर्नका लागि वर्तमान नेतृत्व लाग्नुपर्ने उल्लेख गरिन् । 

कान्तिपुर

Link copied successfully